माटो अभावमा कुमाल समुदायको पेशा संकटमा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । माटो अभावमा कुमाल समुदायको पेशा संकटमा परेको छ । माटोबाट आरी, घैंटा, हाँडी, हण्डा, भुट्का, गमला, खुत्रुके, पालाजस्ता भाँडा पुर्खौंदेखि बनाउँदै आएका जिल्लाका कुमाल समुदायमा अहिले माटो पाइन छोेडेपछि पेशा संकटमा परेको हो । माटो पाइने स्थानहरूमा मानिसहरूले घर, भवन बनाउनु र खेतीपाती गर्न थालेपछि कुमाल समुदायले भाँडा बनाउन माटो पाउन छोेडेका हुन् । उनीहरूले माटोका भाँडा बनाउनका लागि अरूहरूको खाली जग्गाबाट ल्याउने गरेको र अहिले त्यहाँ घरबस्तीहरू बस्न थालेपछि यहाँका कुमालहरूले माटो पाउन छोडेका हुन् ।

जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमालहरूले माटाबाट भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका थिए । तर, अहिले भने माटो अभाव भएपछि भाँडा बनाउनै छोेडेका छन् । जसले गर्दा जीविकोपार्जनमा समस्या भएको कुमालहरू बताउँछन् । आफूले बनाएका भाँडा गाउँबस्ती र घर-घरमा डुलेर अन्नपातसँग साटेर त्यसैबाट आफ्नो दैनिकी चलाउँदै आएका बगनासकाली गाउँपालिका चिर्तुङधारा घोरबन्दा र रामपुर नगरको तिलकपुरका कुमाल समुदायमा माटो नपाइँदा समस्या उत्पन्न भएको छ । पछिल्लो समयमा माटोका भाँडाको विकल्पमा प्लाष्टिकका सामग्रीको प्रयोग बढ्नु र माटो पाउन छाडेपछि घोरबन्दामा माटोको भाँडा बनाउने कार्य एकादेशको कथा भएको घोरबन्दाका ७६ वर्षीय सोमनबहादुर कुमाल बताउनुहुन्छ ।

विशेषगरी तिहारका बेला घरमा माटोबाट तयार पारिएका पालामा बत्ती बाल्ने पुरानो चलन छ । अझसम्म पनि केही पाका स्थानीयवासीले पुरानो चलनलाई निरन्तरता दिँदै माटाका पाला नै खोज्ने गर्छन् । तर, माटो अभावमा धेरैले व्यवसाय छाड्दै जाँदा भने हिजोआज व्यवसाय धान्न समस्या परेको सोमन बताउनुहुन्छ । स्थानीय सरकारले माटोको व्यवस्थापन गरिदिएमा व्यवसायलाई निरन्तरता दिन सकिने उहाँको भनाइ छ । ‘माटाको समस्याले सबैले यो व्यवसाय छाड्दै गएका छन्, स्थानीय सरकारले माटो प्रबन्ध गरिदिएमा मेरा छोराहरूले व्यवसाय धान्ने थिए,’ उहाँले भन्नुभयो । उहाँलाई रातको समयमा लुकिछिपी कामदार खटाएर माटो खोज्नुपर्ने समस्या छ ।

बगनास घोरबन्दाकै ५१ वर्षीय ओम कुमालले माटोको भाँडा बनाउने काम नौ/१० वर्षको उमेरबाटै सिक्नुभएको हो । अहिले पनि उहाँ त्यो पेशामा निरन्तर लागिरहनुभएको छ । गाडीको सुविधा नहुँदा ओमले आफैं बोकेर गुल्मी, अर्घाखाँची, पोखराका बस्ती-बस्तीसम्म पुर्‍याउने काम गर्नुभयो । ‘अब उमेरले पनि नेटो काट्यो, जवानीमा बोकेर हिँडेको अहिले ढाड दुख्छ, बोक्न सक्दिनँ, बुबाले गर्दै आएको काम त्यही देखेर सिकेँ । पढ्न पाए त हुन्थ्यो भन्ने लाग्थ्यो तर बुबाले पढाएनन् अहिले जसोतसो यही काम गरिरहेको छु तर अहिले माटो पाउनै मुस्किल भो,’ उहाँले दुखेसो पोख्नुभयो । उहाँसँग माटोबाट बन्ने सबै प्रकारका भाडाहरू बनाउने सीप छ । केही वर्षअघिसम्म उहाँमात्र हैन, त्यो सिंगो कुमाल समुदायले बनाएका भाँडाहरू गुल्मी, अर्घाखाँची, पोखरालगायतका क्षेत्रमा पुग्थ्यो । कतिपय व्यापारीहरू त घरमै आएर पनि लैजाने गर्थे । जब प्लाष्टिकबाट बनेका भाँडाहरू बजारमा आउन थाले तब कुमाल समुदायले दुःख गरी बनाएका माटोका भाँडाहरू घरमै यत्रतत्र छरिएर बसेका छन् ।

रामपुरका धनराज कुमालले माटोका भाँडा बिक्री गरेरै सातजनाको परिवार पाल्दै आइरहनुभएको छ । तर, अहिले माटो पाउन छोेडेपछि भाँडा पनि बनाउन नपाउँदा परिवार पाल्न उहाँलाई गाह्रो भएको छ । माटोको गमला, सानो मटिया, खुत्रुके, करुवा, घोडाको माग अझै छ । ‘तर, यी स-साना भाँडा बनाउनकै लागि माटो छैन,’ उहाँले भन्नुभयो । यस क्षेत्रमा मात्रै करिब २५० घरपरिवार कुमाल समुदायको छ । पहिला सबैका घर–घरमा माटाका भाँडा उत्पादन गरिए पनि माटो अभाव हुँदै जाँदा हिजोआज सबैले व्यवसाय छाडेका छन् ।

घरेलु तथा कुटिर उद्योगभित्र पर्ने माटोको भाँडा बनाउने व्यवसायले जिल्लामा आफ्नो पहिचान नै बनाएको थियो । यहाँ तयार गरिएका भाँडा आफन्तलाई कोशेलीका रूपमा कहाँ पुर्‍याइएन ? एउटा राम्रो पहिचान बनेको थियो, यसलाई जीवन्तता दिनुपर्ने पुराना पुस्ताको माग रहेको छ । पहिले-पहिले माटोको समस्या थिएन । भाँडा बनाएपछि पोल्नका लागि इन्धनका रूपमा प्रयोग हुने दाउराको पनि समस्या थिएन तर अहिले मुख्य समस्या माटो भएकाले भाँडा बनाउने सीप भएका पनि त्यसै खुम्चिनुपरेको घोरबन्दकी मंगली कुमाल बताउनुहुन्छ । ‘आफ्नो खेत छैन, भाँडाका लागि भासी (दलदल) खेतको कालो माटो हो ल्याउने तर हिजोआज माटो ल्याउने ठाउँमैक कतै घर बनेका छन् भने कतै खेती गरिँदै छ । कहाँबाट ल्याउने, यही समस्या हुन लागेपछि सबैले भाँडा बनाउन छाडे,’ उहाँले भन्नुभयो ।

रामपुर नगरको तिलकपुरका सोमबहादुर कुमाल आफ्नो बाबुले सिकाएको भाँडा बनाउने व्यवसायलाई आफूले निरन्तरता दिएको बताउनुहुन्छ । घर-घरमा अन्न फलफूलसँग भाँडा साटेको अनुभव राख्नुभएका सोमबहादुर पछिल्लो समयमा मेला लाग्ने ठाउँमा पुगेर भाँडा बिक्री गर्नुहुन्थो । गाउँमा तीनजनाले भाँडा बनाउने कामलाई निरन्तरता दिएका थिए । तर, ती सबैले मृत्युवरण गरिसके । जसोतसो आफूले निरन्तरता दिएको सोम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफ्नो जमिन छैन, अरूको खेतबाट रातीको समयमा माटो ल्याउनुपरेको छ । माटोको समस्या समाधान भए परम्परागत व्यवसायलाई निरन्तरता दिने थिएँ ।’ अहिले वर्षौँदेखि गर्दै आएको पेशा संकटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?