पौडेलको उम्मेदवारीसम्बन्धी केही अभिमत

हिमालय टाइम्स
Read Time = 7 mins

पार्टी नेता रामचन्द्र पौडेललाई नेपाली कांग्रेसले राष्ट्रपतिका लागि उम्मेदवार चयनका लागि सघन चर्चा चलाएको छ । यो अस्वाभाविक होइन । नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने वरिष्ठ नेतामा एकमात्र व्यक्ति पौडेल नै हुनुहुन्छ त्यसमा सन्देह रहने कुरै भएन । तर, यति सहज रूपमा निर्विवाद किसिमले राष्ट्रपति नेपाली कांग्रेसले नै पाउने अवस्था भएको भए चाहिँ अरू पनि केही व्यक्तिहरूले यसका लागि आफ्नो दाबी पेश गर्नुहुन्थ्यो होला । त्यस सम्भावनालाई भने नकार्न सकिँदैन । किनभने नेपाली कांग्रेसको सहज विजयको अवस्था नरहँदा नरहँदै उक्त पार्टीका केही नेताहरूले राष्ट्रपति पदका लागि आफ्नो दाबी पेश गरिरहनु भएको छ ।

जे होस् नेपाली कांग्रेस पार्टीले आफ्नो पार्टीका सबैभन्दा वरिष्ठ नेतालाई राष्ट्रपतिको उम्मेदवार छनोट गर्ने जुन चर्चा छ त्यसले पौडेलप्रति सम्मान प्रकट गरेको छ । तर, पार्टीको आन्तरिक छनोट नै निर्णायक हुने भने होइन । वर्तमान परिस्थितिमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा छ र उसले उठाएको उम्मेदवार विजयी हुने सम्भावना छैन । तर, वातावरणले कस्तो रूप लिन्छ भन्ने अवस्थामा नेपाली कांग्रेस प्रतीक्षारत छ । अन्य पार्टीहरूले यसलाई नेपाली कांग्रेसले ढोक्सा थापेको भनेर आक्षेप लगाउने र उपहास गर्ने गरेका छन् । नेकपा एमाले नै नेपाली राजनीतिक वृत्तमा जहिल्यै अचाडु बन्ने गरेको छ ।

पहिले पनि रामचन्द्र पौडेललाई संसद्मा प्रधानमन्त्री बन्नबाट रोक्ने उही नै थियो । राजनीतिमा गुनको बदला गुन भन्ने कुरा नै हुँदैन भनेर त्यही बेला देखिएको थियो । नेपाली कांग्रेस पार्टीका नेता गिरिजाप्रसाद कोइरालाको समर्थनमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुभएको थियो तर पछि पौडेलका लागि समर्थन गर्नुको त परैको कुरा संसद्मा तटस्थ बसेर १७ पटक एमालेले उहाँको बाटो रोक्यो जसले गर्दा नेपाली कांग्रेस पार्टीमा मात्र होइन नेपालको राजनीतिक इतिहासमै उहाँ सधैं पीडित नेताका रूपमा रहनुभएको छ । यसपटक नेपाली कांग्रेसले उहाँलाई राष्ट्रपतिको उम्मेदवार त बनाउने भएको छ तर उहाँलाई उम्मेदवार बनाएरमात्र हुँदैन । जिताउने खालको वातावरणको सिर्जना गर्नु उत्तिकै आवश्यक छ ।

त्यो कार्य वर्तमान अवस्थामा सजिलो छैन । यस्तो जटिल परिस्थितिमा उहाँको उम्मेदवारी कत्तिको फलदायी होला त्यो भोलिका दिनमा देखिने कुरा हो तर हाल माओवादी केन्द्रको राष्ट्रिय सहमतिको अडान नेपाली कांग्रेसका लागि राष्ट्रपति पद दिलाउनैका लागि हो कि भन्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ । आमनिर्वाचनभन्दा पहिले नै पुष्पकमल दाहाल प्रचण्ड र उहाँबीच यस्तो सहमति थियो, त्यसैले दाहालले सत्ता गठबन्धनको एक घटक एमालेलाई भन्दा कांग्रेसलाई नै राष्ट्रपति बनाउन चाहनुभएको छ भन्ने अनुमान गरिँदै आएको छ । यदि यसमा सत्यता भएका खण्डमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र केही साना दलहरूको समर्थन जुटाउँदा राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारका लागि बहुमत पुग्न सक्छ तर यसो गर्दा माओवादी केन्द्रको नेकपा एमालेसँगको सम्बन्ध सौहाद्रपूर्ण नै रहिरहन्छ भन्नेमा विश्वास गर्ने आधार के ?

माओवादी केन्द्रको यस्तो मनशायमा एमालेले पनि सहीछाप लगाउने हो भने त त्यो राष्ट्रिय सहमति नै भइहाल्छ । नत्र एमालेले यसलाई अस्वीकार गर्नेबित्तिकै सरकारको वर्तमान गठबन्धन टुट्न सक्छ । के माओवादी वर्तमान गठबन्धन तोडेर नेपाली कांग्रेससँग पुनः गठबन्धन गरी कांग्रेसले दिएको पाँचै वर्ष प्रधानमन्त्री दिने प्रलोभनका पछि लाग्ला ? प्रधानमन्त्री दाहालको अस्थिर स्वभावका कारण धेरैले यसलाई सम्भावनाका रूपमा हेरेका छन् तर नेपाली कांग्रेसको सबैभन्दा ठूलो दलको बिल्लालाई तहसनहस पार्दै नेपाली राजनीतिको फरक मार्गचित्र कोर्न सफल एमालेको अध्यक्ष तथा नेपाली राजनीतिका चतुर खेलाडी केपी शर्मा ओलीबाट अर्को पासा नफालिएला भन्ने छैन ।

नेपाली कांग्रेसले माओवादीलाई पाँच वर्षकै लागि प्रधानमन्त्री दिन्छौं भन्दा एमालेले पनि त्यही कुरा भनेर राष्ट्रपतिको पद आफ्ना पोल्टामा पार्दैन भन्ने कुराको प्रत्याभूति के छ ? त्यसतर्फ पनि नेपाली कांग्रेस तथा उसका समर्थकहरूले सोच्नुपर्ने हुन्छ । नत्र पुनः एमालेका अध्यक्ष ओलीको राजनीतिको बक्रमार्गमा नेपाली कांग्रेस कच्चा खेलाडी सावित हुनसक्छ । आफ्नो बहुमत नभइरहेको अवस्थामा राष्ट्रपतिमा हाम्रो विजय सुनिश्चित छ भनेर नेपाली कांग्रेसले जसरी भनिरहेको छ त्यसको धरातल खडा गर्नु र त्यसलाई सावित गर्ने आधार निर्माण गर्न पनि नेपाली कांग्रेसका लागि चुनौतीपूर्ण नै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?