भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गर्नु भएको हो । करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो ।

समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नु भयो । त्यस अवसरमा उहाँले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गर्नु भयो ।

मन्त्री गिरीले नेपाल-भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ । यसबीचमा दुई मुलुकबीच सरकार सरकारको बीचमा मात्रै नभई जनताको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदै आएको छ । दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो । भूकम्प र भोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो । त्यो अत्यन्तै उल्लेखनीय छ । महत्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैंभरी सम्झनयोग्य छ । म यसका लागि भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढने विश्वास दिलाउन चाहन्छु ।’

नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।

राजदुत श्रीवास्तवले भन्नु भयो, ‘करिव एक वर्ष अघि नेपाल सरकारको तर्फबाट २ सय मिर्गौला डायलाईसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । सोही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौं । भारत नेपालको छिमेकी मात्रै नभई विकास साझेदार राष्ट्रपति हो । नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ । नेपालको ट्रमा सेन्टर निर्माण, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग भारत सरकारले गरेको छ । भूकम्पका बेला १३२ वटा हेल्थ पोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको छ । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ । भारत सरकारको तर्फबाट एक असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर रहनेछ ।’

भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?