नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा

Read Time = 7 mins

काठमाडौं । रामेछापको मन्थली नगरपालिका-१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)-नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारदेखि सञ्चालनमा आएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सबस्टेसनमा ३० एमभिए क्षमताका दुई र ३३/११ केभी, छ/आठ एभिए क्षमताका एक पावर ट्रान्सफर्मर राखिएका छन् । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका पाँच र ११ केभीका तीनवटा फिडर लाइन निकालिएका छन् । ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाका केही भागमा विद्युत् आपूर्ति सुरु गरिएको छ । ११ केभीको एउटा फिडर लाइनमार्फत् खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइनेछ । उक्त सहकारीले दोलखा र रामेछापका केही क्षेत्रमा विद्युतीकरण गरेको छ ।

दोलखामा सञ्चालित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो । तर, सबस्टेसनमा स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन बनाएको हो । १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सबस्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखु नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् जोडिएको छ ।

ती आयोजनाबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युत्लाई १३२/३३/ केभी सबस्टेसनमार्फत् ३३ तथा ११ केभीमा झारेर स्थानीयरूपमा आपूर्ति गरिएको छ । बाँकी विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत् धनुषाको ढल्केबर र १३२ केभी लाइनमार्फत् सिन्धुपाल्चोकको लामोसाँघु सबस्टेसनतर्फ प्रवाह गरिएको छ । १३२/३३/११ केभी सबस्टेसन सञ्चालनपछि रामेछाप र दोलखाका केही भागमा त्यहींबाट विद्युत् आपूर्ति दिइएको छ । रामेछाप जिल्लाको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिकाअन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको प्राधिकरणले जनाएको छ । दोलखाका ती क्षेत्रमा लामोसाँघु सबस्टेसबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । साथै सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमा समेत नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइनेछ ।

नयाँ खिम्ती सबस्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायतका जिल्लाको विद्युत् पर्याप्त, भरपर्दो र गुणस्तरीय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ खिम्ती सबस्टेसनमा जोडिएका जलविद्युत् आयोजनाको विद्युत् सिन्धुपाल्चोकको लामोसाँघु हुँदै काठमाडौं र धनुषाको ढल्केबरमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारततर्फ निर्यात हुँदै आएको थियो, नयाँ खिम्तीमा स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि पूर्वाधार नहुँदा आफ्नै जिल्लामा ठूलो सबस्टेसन भएर पनि त्यहाँबाट आपूर्ति नपाउँदा स्थानीय उपभोक्ता भरपर्दो र गुणस्तरीय विद्युत् उपभोगबाट वञ्चित थिए ।’

घिसिङका अनुसार नयाँ खिम्तीबाट २२० केभी प्रसारण लाइनमार्फत् ढल्कबेर पुगेको विद्युत्लाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो, लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या थिए, अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि विद्युत् आपूर्तिमा रहेका समस्या समाधान हुनेछन् भने उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउनेछन् ।

ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८० किलोमिटर छ । लामो तथा जंगलैजंगलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताले ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या बेहोर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट विद्युत् आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घट्दा सो क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सहज हुने आयोजनाका प्रमुख अनुप गौतमले बताउनुभयो । उहाँका अनुसार सिन्धुलीको खुर्कोटस्थित सबस्टेसनसम्म नयाँ खिम्ती सबस्टेसनबाटै विद्युत् आपूर्ति दिइनेछ । त्यसपछि खुर्कोट सबस्टेसनबाट विद्युत् आपूर्ति हुने सिन्धुलीका सुनकोशी, गोलाञ्चोर र फिकल गाउँपालिकाहरूको विद्युत् आपूर्तिमा पनि सुधार हुनेछ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सबस्टेसनमार्फत् आएको लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन निर्माण आर्थिक वर्ष २०७६/०७७ मा सुरु गरिएको थियो । सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?