नामिबिया पराजित हुँदा नेपाललाई फाइदा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित हुँदा नेपाललाई फाइदा भएको छ । योसँगै काठमाडौंमा जारी सिरिजमा नामिबियाले चारवटै खेल हारेको हो । हालसम्म तीन खेल जितिसकेको नेपाललाई यसको फाइदा बढेको छ । नामिबियाको हारले बाँकी सबै खेल जिते नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना बढाएको छ ।

जितका लागि २२२ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १७८ रनमा अल आउट भयो । नामिबियाका ओपनर लो हान्डरे लरेन्सले ६७ बलमा ६ चौकासहित सर्वाधिक ५२ रनको योगदान दिनुभयो । यस्तै, जेरार्ड इरास्मस मार्क वाटले ४३ जोड्नुभयो । जेन ग्रिन २५ र रुबेन ट्रम्पलम्यान १० रनमा आउट हुनुभयो । स्कटल्याण्डका स्पिनर मार्क वाटले ८.४ ओभरमा २ मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४८.४ ओभरमा २ सय २१ रनमा अलआउट भएको थियो । स्कटल्याण्डका क्रिसटोपर म्याकब्राइडले ७५ बलमा ७ चौकासहित ४७ रन जोड्नुभएको थियो । लियाम नेलर २० रनमा बोल्ड आउट हुनुभयो ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिनुभयो । अर्का तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिनुभयो ।

नामिबिया बाँकी दुवै खेलमा विजयी हुँदा ४१ अंकमा पुग्नेछ । अब नेपाल बाँकी सबै ९ खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीनमा पर्ने पक्का छ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्रै पुग्न सक्छ । त्यसैले नामिबियाको हारले नेपाललाई फाइदा पुग्ने भएको छ ।

सोझै विश्वकप छनोट खेल्न अब नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । यी तीन देशमध्ये एकले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । प्लेअफ क्वालिफायरमा लिग-२ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् । जसबाट शीर्ष दुई टोलीले एकदिवसीय छनोट खेल्न पाउनेछन् ।

यस्तै, उपाधि विजेता बनिसकेको स्कटल्याण्डले च्याम्पियन ट्रफी मंगलबार नेपालमै पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले च्याम्पियन स्कटल्याण्डलाई मंगलबार नेपालमै ट्रफी दिने भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?