छलफलबिनै खेलकुद ऐन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफलबिना नै ऐन निर्माण हुनुका साथै प्रदेश केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आयोजित स्पोर्ट्स डाइलगको पहिलो शृंखलामा सदस्य-सचिव घिसिङले उक्त प्रतिक्रिया दिनुभएको हो ।

‘संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ । प्रदेशलाई आफ्नै ऐन बनाउन छुट छ । उहाँहरूले ऐन बनाउँदा केन्द्रको अनुशरण गर्नुभएको छैन । केन्द्र र प्रदेशका ऐन बाझिँदा खेल संघलाई कठिनाइ भइरहेको छ, सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘ऐनमा जारी भएको दुई वर्षभित्र निर्वाचन हुनुपर्दथ्यो । तर, समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन । राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु । उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ ।

नियमावली समयमा बन्न नसक्दा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ जारी भएको लामो समय बिते पनि त्यसको कार्यान्वयनमा समस्या भइरहेको छ । ‘ऐन बनाउने निकायले सम्बन्धित निकायसँग आवश्यक छलफल नगरी ऐन बनाएको प्रष्ट देखियो । ऐन बनाउँदा केही मान्यता नअपनाइँदा कार्यान्वयनमा जटिलता आएको हो । खेलमा मात्र होइन, अन्य क्षेत्रमा पनि यस्ता समस्या आएका छन् । तथापि, मैले समाधान गर्ने बाटोतर्फ प्रक्रिया अगाडि बढाइसकेको छु,’ उहाँले भन्नुभयो । ऐन बनेको दुई वर्ष बितिसक्दा पनि खेल संघका निर्वाचन हुन सकेका छैनन् । सदस्य–सचिव घिसिङले संघलाई वैधानिक बनाउने पक्षमा आफू लागिरहेको बताउनुभयो ।

तर, त्योभन्दा अगाडि संघले पनि ऐेनलाई पूर्णरूपमा पालना गर्नुपर्ने र यदि ऐनसम्मत निर्वाचन भएका छैनन् भने ती संघले मान्यता पनि नपाउने उहाँको भनाइ छ । ‘संघहरूले इमानदारिताका साथ निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्छ । ऐन पालना गर्दै विधान स्वीकृत गराएर निर्वाचनमा जाँदा संघहरूलाई मान्यता दिनेछौँ । निर्वाचनका लागि कुनै संघले समस्या भोग्नुपर्दैन,’ घिसिङले उल्लेख गर्नुभयो ।

नवौँ राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने उहाँले योजना सुनाउनुभयो । पहिलो संस्करणदेखि नवौँसम्मका डाटा सुरक्षित गरिने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?