काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय सेयर बजारका खेलाडीका कारण लघुवित्त वित्तीय संस्थामा समस्या आएको भन्दै अब एउटै व्यक्तिले धेरैवटा संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले धेरैवटा संस्थाबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत् कडाइ गर्ने तयारी भइरहेको बताउनुभएको हो ।
कार्यकारी निर्देशक नेपालले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने हुँदा लघुवित्त संस्थाहरूले नै हेर्नुपर्ने पनि बताउनुभयो । नेपाल आर्थिक पत्रकार समाज(सेजन) द्वारा सोमबार राजधानीमा आयोजित संकटमा लघुवित्त विषयक राउण्ड टेबल छलफलमा राष्ट्र बैंकका लघुवित्त संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक नेपालले यस्तो बताउनुभएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालले केही लघुवित्तले सदस्यलाई घर-घरमा गएर कर्जा दिँदा पनि अहिले समस्या आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लघुवित्तहरूले कर्मचारीलाई लक्ष्य दिने र उनीहरूले सदस्यको घर-घरमा गएर कर्जा दिने गरेका छन्, कोरोनाको समस्या र अहिले देखिएको तरलता अभावले समस्या बढेको हो । तरलता अभाव हुँदा सापटी लिन सकेनन् । केही वर्षदेखिका समस्याको बाई प्रोडक्ट अहिले देखिएको छ ।’
कुनै पनि कम्पनीका कर्मचारी मध्यरातमा सदस्यको घरमा जाने, बाख्रा, कुखुरा, भैंसीलगायतका गहना तान्ने काम गर्न नहुने भन्दै त्यस्तो कार्य रोक्न निर्देशन जारी गर्न पनि लघुवित्तलाई उहाँले सचेत गराउनुभएको छ । साथै लघुवित्तलार्ई १५ प्रतिशतभन्दा बढी ब्याज नलिन आग्रह गर्दै बढी लिएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ ।
लघुवित्तका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूले पनि केही कम्पनी र केही कर्मचारीले गरेको बदमासीका कारण लघुवित्त सेवाले चुनौती खेप्नुपरेको बताएका छन् । निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले लघुवित्तले सम्भावित ग्राहक पहिचान, समूह गठन, वित्तीय तथा व्यावसायिक साक्षरता तालिमलगायत प्रक्रिया पूरा गरेर सुरुमा २० हजारदेखि २५ हजारको सानो सानो ऋण दिने र गरिब महिलाको क्षमता बढ्दै गएपछि मात्रै अलि ठूलो ऋण दिनुपर्नेमा एकैपटक ठूलो ऋण दिँदा समस्या आएको बताउनुभयो ।
सिवाइसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र शर्माले लघुवित्तमा समस्या रहेको स्वीकार गर्दै अन्य संस्था पनि चोखो नरहेको दाबी गर्नुभयो । समस्या समाधान गर्न सदस्यलाई तालिम आवश्यक रहेको उहाँको भनाइ थियो । लघुवित्त संघ नेपालका अध्यक्ष जगत् पोखरेलले धेरै संस्था भएर वा सुविधा बढी भएर अहिले समस्या भएको भन्दै सोझा महिलाका नाममा ऋण लिएर खाने प्रवृत्ति बढेको बताउनुभयो ।
लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लामो समय अध्ययन गरेर संघर्षमा जानुपरेको भन्दै पछिल्लो समय लघुवित्त लघुवित्तजस्तो नबन्दा समस्या आएको बताउनुभयो । लघुवित्त कम्पनी ऐनअन्तर्गत दर्ता हुनु गलत भएको उहाँको भनाइ छ । धेरै संस्थाबाट ऋण लिँदा तिर्न नसकेको र जति तिरे पनि नसकिएपछि सदस्यले आत्महत्याको बाटो रोज्नुपरेको ज्ञवालीको भनाइ छ ।
विभिन्न क्षेत्रका लघुवित्त ऋणी काठमाडौंमा आएर ऋण तिर्न नसक्ने र मिनाहा गरिदिन माग गर्दै विरोध गर्दै आएका छन् । सोही सन्दर्भमा केही लघुवित्त वित्तीय संस्थाका प्रमुख, राष्ट्र बैंकका कार्यकारी निर्देशक र लघुवित्तका ऋणीलाई राखेर राउण्ड टेबल छलफल आयोजना गरिएकोमा ऋणीले भने लघुवित्तले ज्यादती गरेको आरोप लगाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच