नेताहरू समक्ष अन्तिम विकल्प : सच्चिने कि सक्किने ?

प्रा. देवीभक्त ढकाल
Read Time = 20 mins

नेपाली राजनीतिज्ञहरूको गलत आचरणका कारण फैलिएको भ्रष्टाचारले उत्पादन गरेको कुशासन, समाजमा व्याप्त विभेद, अशान्ति, हिंसा, द्वन्द्वलाई गहिरिएर अध्ययन गर्दा यसमा हाम्रो शिक्षाको पाठ्यक्रम मुख्य दोषी छ भन्ने निष्कर्षमा पुग्नु पक्कै अन्यथा नहोला । हाम्रो शिक्षाले सदाचारी, नैतिकवान, चरित्रवान र इमानदार नागरिक किन उत्पादन गर्न सकेन ? त्यसको कारण र प्रभाव हो वर्तमान विकृति, भ्रष्टाचार र कुशासन । भ्रष्टाचार, कुशासन जस्ता विकृति, विसंगतिबाट मुक्ति हाम्रो शिक्षाको पाठ्यक्रमको सुधारबाट मात्रै सम्भव छ ।

भ्रष्टाचार, कुशासन, अनैतिकता, दूराचार आदिको बिगबिगीको सूत्रधार अशिक्षित, अपठित नागरिक होइनन् । शिक्षितहरू नै हुन् । तसर्थ मुख्य समस्या हाम्रो शैक्षिक प्रणाली र पाठ्यक्रममा छ भन्ने सत्यबोध हामीमा किन हुँदैन ? नागरिकमा नैतिकता, सदाचार, इमानदारी, आध्यात्मिक दृष्टिकोण, समभाव, समव्यवहार, आफूले आफैँलाई नढाट्ने चरित्र आदिलाई व्यवहारमा अनुवाद गर्ने काम नैतिकता र सदाचार जस्ता गुणहरूलाई आदर्श मान्ने नागरिकहरूबाट मात्रै सम्भव छ । समाजमा सत्यप्रति निष्ठावान, सदाचारी र नैतिकवान नागरिकहरूको सधैँ खडेरी किन ? विद्यमान पाठ्यक्रमलाई गम्भीर पुनर्विचार र सुधारविना हाम्रो राजनीति र समाजले उन्नति साथै विकास कसरी गर्ने ?

शिक्षितहरूको संख्यात्मक वृद्धिसँगै तिनीहरूबाटै समाजमा विविध प्रकारका हिंसा, भ्रष्टाचार, अनैतिकता, दुराचार, बेइमानी, अपराध जस्ता विकृतिहरू सर्वत्र किन बढे ? यसका कारणहरूको खोजी र उपचारविना राजनीतिको शुद्धीकरण र समाज परिवर्तन के सम्भव छ ? सकारात्मक परिवर्तनका लागि नागरिकहरूको सोच, चिन्तन, व्यवहार, चिन्तनशैली, कार्यशैली, जीवनशैली आदिमा सकारात्मक परिवर्तन आवश्यक हुन्छ । यस्तो परिवर्तनको मुख्य स्रोत भनेको नैतिक र चारित्रिक शिक्षा प्रवद्र्धन गर्ने पाठ्यक्रम हो ।

माओवादी आतंक, युद्ध, ज्यादती, हिंसा, हत्या, लुटपाट विस्थापन जस्ता तमाम विकृतिहरूको उत्पादनमा पनि हाम्रो शिक्षाको मुख्य भूमिका रहेका कारण त्यसलाई समूल नष्ट गर्ने उपाय र हतियार नै शिक्षाको पाठ्यक्रम परिवर्तन हो ।

हाम्रो शिक्षाको कमजोरी वा शिक्षित नागरिकहरूमा उत्पन्न विकृति भन्नुस् डा.बाबुराम भट्टराई जस्तो उच्च शैक्षिक स्तर भएको व्यक्तिमा पनि राजनीतिक परिवर्तन हिंसात्मक पद्धतिबाट गर्ने सोच नै दुर्भाग्यपूर्ण थियो । यसले देशमा हिंसा, अव्यवस्था, लुटपाट, त्रास, धम्की जस्ता निर्मम र अमानवीय हतियारहरूका माध्यमबाट समाज परिवतन गर्ने दुष्प्रयास भयो । यो व्यक्तिको मात्रै दोष नभएर शिक्षाको दोष हो । द्वन्द्वको खेती गरेर शान्ति किमार्थ फल्दैन । द्वन्द्वको खेतीमा रमाउने जनशक्ति उत्पादन गर्ने हाम्रो शिक्षा प्रणाली र पाठ्यक्रममै त्रुटि छ ।

त्यसैले देशमा, समाजमा र राजनीतिक पद्धतिमा समेत सकारात्मक परिवर्तनका लागि हामीले सर्वप्रथम हाम्रो शिक्षाको पाठ्यक्रमलाई इमानदारी, नैतिकता र सदाचार प्रबद्र्धनमा नागरिकहरूलाई उत्प्रेरित गर्ने शैलीमा परिमार्जन गर्न जरुरी छ । वर्तमान शिक्षा प्रणालीले दिएको गलत शिक्षा भनेको जस्तोसुकै अपराध गरेर पनि धन जम्मा गर्ने सोच, मान्यता र दृष्टिकोण हो । यो प्रवृत्ति नै भ्रष्टाचार र कुशासनका लागि मुख्य जिम्मेवार देखियो । शिक्षाले मानिसलाई सभ्य र शिष्ट बनाउनुपर्ने हो । तर, हाम्रो शिक्षाले दुष्ट, कपटी, भ्रष्ट र दुराचारी नागरिकहरू किन उत्पादन गर्‍यो ? हाम्रो समस्याको चुरो नै हाम्रो शिक्षा प्रणाली, पाठ्यक्रम र हाम्रो मान्यता हो भन्दा पक्कै पनि अत्युक्ति हुँदैन । माओवादी आतंक, युद्ध, ज्यादती, हिंसा, हत्या, लुटपाट विस्थापन जस्ता तमाम विकृतिहरूको उत्पादनमा पनि हाम्रो शिक्षाको मुख्य भूमिका रहेका कारण त्यसलाई समूल नष्ट गर्ने उपाय र हतियार नै शिक्षाको पाठ्यक्रम परिवर्तन हो । यसमा हामी कसैको मतभिन्नता र विरोध भनेको समाजलाई र राजनीतिलाई अझ विकृत बनाउने खेल हो । माओवादी युद्धको पक्षमा बखान गर्नु भनेको हिंसाको पक्षमा, नागरिकको मृत्युको पक्षको जनमत हो । सभ्य संसारमा हत्या र हिंसाको पक्षमा वकालत हुँदैन । शान्ति र सद्भावलाई खल्बल्याउनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् ।

शान्ति, सद्भावप्रतिको निष्ठको आधारमा नै व्यक्ति वा पार्टीको लोकतान्त्रिक चरित्रको मापन हुन्छ । जहाँ शान्ति खल्बल्याइन्छ त्यहाँ लोकतान्त्रिक संस्कारको चीरहरण हुन्छ । माओवादीहरू स्वयंले आफूहरूलाई लोकतन्त्रवादी मान्ने र उनीहरूलाई लोकतन्त्रवादी भन्ने दुवै पक्षलाई लोकतान्त्रिक पद्धतिले शंकाको दृष्टिकोणले हेर्ने विषयलाई अस्वाभाविक मानिँदैन । लोकतान्त्रिक पद्धतिको अनुयायी हुँ भन्न जति सजिलो छ त्यसको मर्म र धर्मलाई आत्मसात गर्ने विषय त्यति नै कठिन हुन्छ । संसारका गिनेचुनेका तानाशाहहरूले पनि आफूलाई लोकतन्त्रवादी भन्दै जनतालाई ठग्ने गर्छन् । नेपालमा आफूलाई संसदीय अभ्यासको जननी ठान्ने नेपाली कांग्रेस र लामो सामयसम्म संसदीय अभ्यासमा रहेको एमालेका नेताहरूमा त लोकतान्त्रिक गुणहरूको बेलाबखत प्रस्टै विचलन देखिन्छ भने माओवादीहरूको सोच, दृष्टिकोण र चरित्रमा लोकतान्त्रिकीकरण गर्ने विषय भाषण गरेजस्तो सजिलो छैन । माओवादी युद्ध आफैँमा जनता र देशमको अहितमा रहेको समयले र माओवादी पार्टीका नेताहरूको चरित्र, कार्यशैली, जीवनशैली र अभिव्यक्तिले पुष्टि भयो । सत्रहजार के शत्रु देशका नागरिक मरे कि आफ्नै दाजुभाइ ? आफ्नै दाजुभाइहरूको हत्या र हिंसाको जगमा भएको युद्ध, क्रान्ति जुन वास्तवमा आतंक थियो त्यो कसरी देश र जनताको हितमा हुन्छ ?

समयमा संसदीय आन्दोलनबाट परिवर्तन ल्याउने विवेक पुर्‍याएको भए अमूल्य मानवीय जीवन, पुरातात्विक सम्पदाहरू र भौतिक संरचनाहरूको विनाश हुँदैनथ्यो । देशका हजारौं हजार होनहार नागरिकहरूको हत्याका कारण बालक तथा वृद्धहरूको विचल्ली हुँदैनथ्यो । नागरिकहरूको हत्याका माध्यमले परिवर्तनको बाटो देख्ने, नागरिकहरूलाई आतंकित गर्ने खेती गर्ने, बास खेद्ने चिन्तन संसारका कुनै पनि राजनीतिक वाद, दर्शन र सिद्धान्तमा छैन । दर्शन, सिद्धान्त विपरीतका हर्कतहरू कुनै पनि बाहनामा राजनीतिक क्रियाकलापभित्र पर्दैनन् । राजनीतिमा गैरराजनीतिक क्रियाकलाप निन्दनीय विषय हुन् । नागरिकको हत्या र विचल्ली गर्ने विषय राजनीति हुन्छ ?

सभ्य समाजले कल्पना नै नगर्ने हिंसात्मक विषयलाई परिवर्तनको अस्त्र बनाउनेहरूको पतन निश्चित छ/हुन्छ । नेपालमा पनि समयले त्यसलाई प्रमाणित गरेको विषयलाई माओवादीहरूले आत्मसात गर्नुपर्छ । आफैँले भत्काएका अनगिन्ती संरचना र अभिभावक गुमाएका बालक, वृद्ध साथै आश्रितहरूको कष्टकर जीवनबारे के आन्दोलनका नाइकेहरूले आफैँ राज्य सत्ताको चाबी हातमा लिँदा सोचे ? व्यक्तिगत स्वार्थ पूरा गर्नेहरूले युद्धका घाइते, अपांगमात्रै होइन शरीरमा अझै गोली बोकेर के खाऊँ र के लगाऊँ, कसरी उपचार गरौँ र कसरी परिवार पालौँ भन्ने पूर्वसहकर्मीप्रति आन्दोलनको नेतृत्व गर्नेहरूले सत्ता हाँक्दा पनि तिनीहरूको पीडाको किन सम्बोधन गरेनन् ? आफूलाई सत्तामा पुर्‍याउने ती भर्‍याङ रूपी योद्धाप्रति युद्ध हाँक्नेहरू किन क्रुर बने ? भ्रष्टाचारको आडमा विलासी जीवन बिताउने परिस्थिति बनाउने माओवादी नेतृत्वले युद्ध जनताका लागि र देशका लागि थियो भन्ने तर्कको रूपमा दिने कुतर्कलाई अहिले कसले स्वीकार्ने ? सबै नेपालीहरूले तिनीहरूको युद्ध पीडित प्रतिको गोहीको आँसुलाई धिक्कार्छन् । वर्तमान संसदीय अभ्यास नै उपयुक्त थियोे भने दशौं वर्षसम्म असंख्य भौतिक र पुरातात्विक संरचनाहरू भत्काउने, नागरिकको हत्या गर्ने, समाजलाई त्रसित र आतंकित गर्ने कार्य आफैँमा गलत र आत्मघाती काम भएको कुरा पुष्टि भएको छ ।

यसलाई गल्ती, कमजोरीको रूपमा स्वीकार गर्नु पर्नेमा अझै युद्धप्रतिको सकारात्मक अभिव्यक्तिले समयको बहाबसँगै हिंसात्मक चिन्तकहरू आफैँ खुम्चन र तितरबितर हुन बाध्य छन् । उनीहरूभित्रको हिंसाजन्य मेलमिलापलाई लुटिएको धनले र सत्तास्वार्थले लिलाम गर्दा अझै यिनीहरूको चेतनाले किन काम गर्दैन ? संसदीय पद्धतिमा जनताको विचार र दृष्टिकोणलाई सम्मान, आदर गर्नुपर्ने संस्कृति र सभ्यता तथा संस्कारको अभावले निर्वाचनमा मरिच झैँ खुम्चनु पर्दा पनि अझै आफ्ना विगतका कमजोरीप्रति ग्लानी र क्षमायाचना गर्ने संस्कारको अभावले खेदिदा, लखेटिदा पनि आफूलाई नक्कली गतिशीलताको खास्टो निर्लज्ज किन ओडाउँछन् । पार्टीको शीर्षस्थ नेता भनेर हुँकार र होक्राँ गर्दै हिँड्ने व्यक्ति प्रत्येक संसदीय निर्वाचन जित्न सुरक्षित स्थान खोज्दै चाहार्नुपर्ने अवस्थाले नेतृत्व असफल भएको प्रमाणलाई गतिशीलताको दलिल आफैँमा लज्जास्पद र हाँस्यास्पद विषय हो ।

समानताको दुहाई दिँदै गरिएको युद्ध र युद्धविरामको उपहारस्वरूप प्राप्त सत्ताले सबै भ्रष्ट बने । भ्रष्ट आचरणले असमानताको पर्खाल खडा गर्नेहरू विस्तारै आफैँले निर्माण गरेको पर्खालले तथाकथित क्रान्तिकारी पुरिँदैछन् । अहिले माओवादीभित्र सम्पन्न तर भ्रष्ट माओवादी र विपन्न तर प्रष्ट माओवादीहरूको दुई धारबीच चर्को द्वन्द्व छ । यदि चेतना र विवेकले काम गर्छ भने हिजोका आफ्नै रक्षकहरूबाट जोगिन सयौं सरकारी सुरक्षाकर्मीको घेरामा बस्नु भनेको सबैभन्दा ठूलो राजनीतिक असफलता हो । संसारको राजनीतिमा हिंसात्मक राजनीतिको दीर्घकालीन रूपमा कहीँ फलिफाप र विजय भएको छैन । त्यसैले हिंसात्मक चिन्तनले जनताको मन जित्न सकिँदैन भन्ने सामान्य ज्ञान नहुनेहरू कसरी प्रतिस्पर्धात्मक राजनीतिमा सफल हुन्छन् ? अहिले सबै पार्टीहरूका नेपाली राजनेताहरू इतिहासमै बद्नाम छन् । अलोकप्रिय छन् । त्यसको मुख्य कारण हो कुशासन र भ्रष्टाचार ।

संसारको राजनीतिमा हिंसात्मक राजनीतिको दीर्घकालीन रूपमा कहीँ फलिफाप र विजय भएको छैन । त्यसैले हिंसात्मक चिन्तनले जनताको मन जित्न सकिँदैन भन्ने सामान्य ज्ञान नहुनेहरू कसरी प्रतिस्पर्धात्मक राजनीतिमा सफल हुन्छन् ? अहिले सबै पार्टीहरूका नेपाली राजनेताहरू इतिहासमै बद्नाम छन् ।

अहिलेको निर्वाचनमा कुशासन र भ्रष्टाचारको चर्को विरोध गर्नेहरूको पक्षमा जनताले किन मतदान गरे ? रवि लामिछानेको चार महिनाको छोटो समयावधिमा निर्वाचनमा होमिएको पार्टीले राजनीतिका ठेकेदार हुँ भनेर जुँगाको ताउ लगाउने कांग्रेस, एमाले, माओवादीलाई धेरै ठाउँमा पछारेर विजय भएको घटनाक्रमले सबै पार्टीहरूलाई र नेताहरूलाई सुध्रन र सच्चिन यथेष्ट दबाब दिएको छ । अब पार्टीहरू सच्चिएनन् भने जतिसुकै पुराना र ठूला पार्टी हुँ भन्ने पार्टीका नेता र पार्टीहरू पनि सक्किने निश्चित छ । मानिस होइन समय बलवान् हुन्छ । त्यसैले अब भ्रष्टाचारविरोधी र सुशासनको पक्षधर नेता वा पार्टीहरूको भविष्य सुन्दर र सुनिश्चित छ । भ्रष्टाचारी, कुशासनका पक्षधर नेताहरू र पार्टीहरूको पतन फेरि अवश्यम्भावी छ ।

एमाले र कांग्रेसको दबदबा भएको, माओवादीको मेयरले निर्वाचन जितेको, कांग्रेस र एमाले दुवैले आफ्नो पकड छ भनेर दम्भ र घमण्ड गर्ने निर्वाचन क्षेत्रमा रवि लामिछाने जस्तो एउटा टुरिस्ट उम्मेदवारले चितवन जस्तो सचेत मतदाता भएको ठाउँमा प्राप्त सर्वाधिक मतले जनताको मनस्थिति जबर्जस्त बदलिएको प्रमाणित गर्‍यो । मतदाताहरू कांग्रेस, एमाले र माओवादीसँग कति वाक्य र दिक्क रहेछन् भन्ने यो प्रमाण हो । पुराना नेताहरू र पार्टीहरूले वास्तविकतालाई स्वीकारेनन् भने यी सबै पार्टी इतिहासका विषय बन्ने निश्चित छ ।

अब रवि लामिछानेका पार्टीका सांसदहरूले र राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही जस्ता भ्रष्टहरू प्रति आगो ओकल्नेहरूले संसदीय अभ्यास, मर्यादालाई शिरोधार्य गर्दै संयुक्त रूपमा भ्रष्टाचारीविरुद्ध संसद्बाटै जेहाद छेडे भने परिस्थिति फेरिने प्रबल सम्भावना देखियो । नेपालका सबै पार्टीहरूले मुढेबलमा पार्टीहरूको सक्रिय सदस्यहरूको संख्या बढाउने प्रतिस्पर्धाले शुद्ध मतदाताहरूको संख्यालाई पार्टीहरूले खुम्च्यएका कारण जनता अहिले निर्णायक मतदाताको रूपमा छैनन् । परिणामस्वरूप कांग्रेस, एमाले, माओवादी जस्ता आफूलाई राजनीतिको ठेकेदार ठान्ने पार्टीहरूले निर्वाचनलाई नै कर्मकाण्डीमात्रै होइन पंगु बनाएका थिए । तर, अहिले सबै पार्टीहरूका अधिकांश कार्यकर्ताले पार्टीको साङ्लो चुडाएर स्वतन्त्र उम्मेदवार, नयाँ पार्टीहरूलाई मतदान गरेका कारण पार्टीहरूलाई सुध्रन र भ्रष्ट कार्यशैलीलाई पुनर्विचार गर्न यथेष्ट दबाब सिर्जना गर्‍यो ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Cholendra pandit
Cholendra pandit
2022-12-13 8:33 pm

लेख राम्रो छ।तर केही बुँदामा मेरो अ
सहमति छ।१.भ्रष्टाचार बढ्नुमा पाठ्यक्रम को दोष छैन।राजनीतिक प्रणालीको र राजनीतिक पार्टीका नेता कार्यकर्ताको गलत सोचाइ र ब्यबहारको दोष हो।
२.गलत चुनाव प्रणालीको दोष हो।
३.माओबादी गलत प्रशासनिक ब्यबहारको उपज हो।
४.पञ्चायत लाई गरे जस्तै माओवादीलाई गाली गरे कोही चोखी जरुरी छैन।
५.प्रत्यक्ष निर्वाचन बाट कार्यकारी प्र म छान्ने ब्यबहार गरौं।

govinda binodi
govinda binodi
2023-04-27 11:57 am

समसामयिक लेख सान्दर्भिक छ । सच्चिने कि सक्किने लाई कान्तिपुरले पछ्याएछ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?