‘प्रेमगञ्ज’को युरोप प्रदर्शन अधिकार बिक्री

Read Time = 2 mins

काठमाडौं । आगामी भदौ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचत्रि ‘प्रेमगञ्ज’को युरोप प्रदर्शन अधिकार बिक्री गरिएको छ । जर्मनीस्थित लोकाह फिल्म इन्टरनेशनलले चलचित्रको युरोप प्रदर्शन अधिकार खरिद गरेको हो ।

आइतबार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगञ्ज’ पनि युरोपको हलमै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।

चलचित्रका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फिल्मको प्रदर्शन अधिकार बिक्री गर्नुको उद्देश्य पैसाका लागि मात्र नभई नेपाली फिल्मको प्रदर्शनका ढोका खोल्नु रहेको बताउनुभयो । यसले भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई पनि बाटो खुल्ने उनको विश्वास छ । भारतमा पनि फिल्म प्रदर्शनका लागि प्रतिष्ठित कम्पनी पिभिआरसँग निरन्तर छलफल भइरहेको उनले बताउनुभयो ।

राजु फुयाँल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको छ । सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन, सुप्रिया खनाल, रश्मी भट्ट, गीता अधिकारी, नरेश पौडेल, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?