काठमाडौं । चुनावको मिति नजिकिएसँगै सत्ता साझेदार दलहरूले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा भागबण्डाका लागि कसरत सुरु गरेका छन् । मंगलबार बिहान सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफल गरेका छन् । छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटरमा पुगेका थिए । बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो । माओवादी केन्द्रबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।
आगामी फागुन २० मा एमालेका एक मनोनीतसहित नौ, कांग्रेसका चार, माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकजना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट दुई, मधेश प्रदेशबाट दुई, बागमती प्रदेशबाट चार, गण्डकी प्रदेशबाट तीन, लुम्बिनी प्रदेशबाट दुई, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट तीन÷तीन सदस्यका लागि निर्वाचन हुँदै छ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबीच सिट बाँडफाँटबारे छलफल सुरु भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, ‘आज बिहान कांग्रेस र माओवादी केन्द्रबीच समसामयिक विषयमा कुराकानी भएको छ । त्यसमा राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा छलफल भएको छ ।’ प्रमुख सचेतक लेखकका अनुसार राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटका लागि बुधबार गठबन्धनको बैठक बस्दै छ । राष्ट्रियसभाको सिट बाँडफाँट चाँडै टुंगो लगाउनुपर्ने कुरा भएको उहाँको भनाइ छ ।
कांग्रेस र माओवादी केन्द्रका नेताबीच भएको एमालेको रिक्त नौ सिटमा दुई दलबीच मात्र भागबण्डा गर्ने गरी छलफल भएको स्रोतको भनाइ छ । सत्ता गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र जसपालाई उनीहरूको रिक्त सिटमा मात्र छाड्न सकिने विषयमा छलफल भएको बताइएको छ । गठबन्धनमा सिट बाँडफाँटसँग क्लष्टर मिलाउने विषय जटिल रहेको नेताहरूको भनाइ छ । बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘आज कुन प्रदेशमा को अगाडि छ ? भन्नेबारे मतभार हेर्ने काम भयो । यसअघि कुन प्रदेशमा कुन दलले लिएको भन्नेबारे पनि हेरियो । अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुन्छ ।’ कांग्रेसको पुस १२ देखि पुस १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनसँग तालमेल गरी राष्ट्रियसभा चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको थियो ।
कांग्रेसको भागमा राष्ट्रियसभा अध्यक्ष
आगामी फागुन २० देखि रिक्त हुने राष्ट्रियसभाको अध्यक्ष पद नेपाली कांग्रेसलाई दिन सत्ता गठबन्धनबीच लगभग सहमति जुटेको छ । तर, यसबारे लिखित सहमति भने भएको छैन । तर, मौखिक र आन्तरिक रूपमा ठूलो पार्टी भएकाले कांग्रेसलाई दिनु स्वाभाविक भएको गठबन्धनका नेताहरूको बुझाइ छ । आगामी फागुन २० मा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जनाको पदावधि सकिँदै छ । माघ ११ को निर्वाचनमा एमालेबाट गुम्ने सम्भावना रहेका नौ सिटमध्ये कांग्रेसले चार सिट दाबी गरेको छ । योसहित कांग्रेसले कुल आठवटा सिट पाउनुपर्ने गठबन्धनमा अडान राखेको छ । अन्य दलले भने अध्यक्षसहित सात सिट लिन कांग्रेसलाई भनिरहेका छन् । यसबारे मंगलबार बालुवाटारमा कांग्रेस र माओवादीका नेताबीच लामो छलफल भए पनि निष्कर्ष निस्किएको छैन ।
राष्ट्रियसभा अध्यक्षमा कांग्रेसको संस्थापन पक्षले कृष्णप्रसाद सिटौलालाई अगाडि सारेको छ । तर, गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना र फरमुल्लाह मन्सुरको नाम पनि चर्चामा छ । तर, सिटौलालाई जिम्मेवारी दिन सभापति देउवाले इच्छा देखाउनुभएको कांग्रेसका नेताहरूको दाबी छ । कांग्रेसमा राष्ट्रियसभाका लागि पुराना नेतादेखि नयाँ नेतासम्मको चर्चा छ । कांग्रेसले सबै प्रदेशबाट प्राथमिकताका क्रममा एक-एक जनाको नाम पठाउन भनेको थियो । तर, आंकाक्षी धेरै भएकाले कसलाई प्राथमिकता दिने भन्नेमा पनि विवाद भएको कांग्रेसका एक नेताले बताए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नामहरूको विषय टुंगो लगाउन समय लाग्नेछ । कांग्रेसमा दुई गुट छ । अध्यक्षमा सिटौलालाई पठाए संस्थापनइतर समूह शेखर पक्षले चार सिट मागिरहेको छ । तर, पार्टी सभापति देउवा यसमा तयार देखिनुभएको छैन ।
माओवादीको ६ सिटमा दाबी
गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा गठबन्धन दलबीच भागबण्डा हुँदा ६ सिट पाउनुपर्ने दाबी गरेको छ । आगामी फागुन २१ मा माओवादीतर्फका तीनजना सांसद पदमुक्त हुँदै छन् । यसबाहेक एमालेबाट रिक्त हुने नौ सिटमध्ये आफूले थप तीनवटा सिट पाउनुपर्ने दाबी माओवादीको छ । आफूले पाउने सिटमा को–को नेतालाई व्यवस्थापन गर्ने भन्ने माओवादीले ठोस निर्णय निकाल्न सकेको छैन । माओवादीलाई आफ्नो पार्टीबाट रिक्त हुने तीन र एमालेको रिक्त हुने नौमध्ये दुई सिट गरी जम्मा पाँच सिट मात्र लिन अन्य दलले दबाब दिएको बुझिएको छ ।
प्रधानमन्त्री र एमाले अध्यक्षबीच गोप्य भेट
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आसन्न राष्ट्रियसभा निर्वाचनको भागबण्डा पेचिलो बनिरहेका बेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा दुई नेताबीच करिब ४५ मिनेट भएको भेटवार्तामा वान टु वान कुराकानी भएको बालुवाटार स्रोतको भनाइ छ । प्रचण्ड-ओलीबीचको भेटवार्तामा मूलतः टिआरसी विधेयक र राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको बुझिएको छ ।
कतिपयले यो भेटलाई माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनको भागबण्डाको प्रयाससमेत भनेर विश्लेषण गरेका छन् । भेटमा एमाले अध्यक्ष ओलीले राष्ट्रियसभाको १९ सिटमा एमाले र माओवादी मिलेर चुनाव लड्न प्रस्ताव गरेको हुनसक्ने माओवादी केन्द्रका एक नेताको भनाइ छ ।
यद्यपि, प्रचण्ड-ओली भेटवार्ताबारे औपचारिक रूपमा दुवै नेताको सचिवालयले गोप्य राखेका छन् । गत पुस १० गते गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच औपचारिकताबाहेक सम्बन्ध सुमधुर हुन सकेको थिएन । राष्ट्रियसभामा कुनै सिट जित्ने सम्भावना नरहेपछि नेकपा एमालेले सत्तारूढ गठबन्धनका दलसँग साझेदारी प्रयास थालेको छ । त्यसका लागि एमालेका दोस्रो तहका नेता सक्रिय छन् । सत्ता गठबन्धनका दलले राष्ट्रियसभामा साझा उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।
एमालेको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्यका निम्ति रणनीतिक योजना बुन्न थालेको छ । एमाले सत्ता गठबन्धन भत्काउने या भत्काउन सक्ने उम्मेदवारको खोजीमा लागेको हो । सत्ता गठबन्धन कायम रहे आउँदो फागुन २० गतेदेखि रिक्त हुन लागेका पद गुमाउने निश्चितजस्तै भएपछि एमालेले राष्ट्रियसभामा पहिलो दल नेपाली कांग्रेससँगै साझेदारी चाहेको छ ।
कांग्रेससँग राष्ट्रियसभासँगै सत्ता साझेदारीकै प्रस्ताव एमालेले राखिसकेको छ । स्रोतका अनुसार, एमालेले कांग्रेसलाई रिक्त हुन लागेका २० मध्ये १३ सिट आफैँ राख्न प्रस्ताव गरेको छ । उसले एक मनोनीत सहितका २० मध्ये सात सिटमा एमालेको उम्मेदवारी रहने गरी प्रस्ताव पठाएको छ । तर, प्रस्तावमा कांग्रेस सभाापति शेरबहादुर देउवा सहमत नदेखिनुभएको स्रोतको भनाइ छ । एमाले प्रचार विभाग प्रमुख गौतमले गठबन्धन र गठबन्धनबाहिर रहेका दलहरूसँग साझेदारीका निम्ति छलफल भइरहेको स्वीकार गर्नुभयो । एमालेले उम्मेदवार छान्न सत्ता गठबन्धनको निर्णय पनि कुरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच