राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रचण्डलाई दिने माओवादीको निर्णय

स्वार्थ मिल्नेसँग सहकार्य गर्नुपर्नेमा जोड

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । ‘राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो । हाम्रो स्वार्थ भन्नाले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो । यो स्वार्थमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो,’ उहाँले भन्नुभयो, ‘कुनै व्यक्ति विशेष कुरा भएन । यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’ यसका लागि अन्य पार्टीका नेताहरूसँग पनि कुराकानी गरिने उहाँले बताउनुभयो ।

बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको भन्दै आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ । उपाध्यक्ष महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी दिनुभयो । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ । गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छ’ महराले भन्नुभयोे, ‘हामीले राष्ट्रिय सहमति भनेका छौँ । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’ उहाँले बैठकमा एउटा मात्र एजेण्डामा छलफल भएको बताउनुभयो । अध्यक्ष दाहालले अहिलेसम्म दलहरूसँग भएका वार्ताको ब्रिफिङ गर्नुभएको थियो ।

यही फागुन १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेर फागुन २५ गते चुनाव हुने कार्यतालिका छ । ‘हेड अफ स्टेट’ अर्थात् सेरेमोनियल राष्ट्रपति पदको चुनावलाई व्यापक चासोका साथ हेरिएको छ । राष्ट्रपति पदलाई प्रतिष्ठाको विषय बनाउँदा एमाले, माओवादी केन्द्र सहितको सात दलीय गठबन्धन फेरिने आशंका गर्न थालिएको छ ।

राष्ट्रपति सेरमोनियल पद भए पनि विगतका राष्ट्रपति कार्यकारी र अमुक पार्टीको रबर स्ट्याम्प हुन थालेपछि सबै दलले यो पदलाई प्रतिष्ठाको विषय बनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं ‘प्रचण्ड’सहित माओवादीका नेताहरू राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुनुपर्ने अडानमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनलाई सदर गरेपछि व्यवस्था नै संकट परेको प्रचण्डको तर्क छ । यदि त्यतिबेला विवेक पु¥याउने राष्ट्रपति भएको भए त्यति ठूलो संवैधानिक संकट आउने थिएन भन्ने उहाँको विश्लेषण छ । त्यसैले प्रधानमन्त्री जस्तै राष्ट्रपतिमा समेत सबै दलको समझदारी बनाउनुपर्ने माओवादीको अडान छ ।

नेपाली कांग्रेसका नेताहरू राष्ट्रपतिमा माओवादीको साथ पाउने विश्वास व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रपतिमा आफूलाई माओवादीले सघाउने विश्वास व्यक्त गरेको हो । माओवादी नेताहरू समेत राष्ट्रपति पद एमालेलाई भन्दा कांग्रेसबाटै भएमा सहज हुने बुझाइमा छन् । यदि एमालेबाट राष्ट्रपति भएमा संक्रमणकालीन न्यायका साथै शान्ति प्रक्रिया टुंग्याउन गाह्रो हुने माओवादीका नेताहरुको निष्कर्ष छ । त्यसैले प्रचण्डले राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुनुपर्ने अडान कायमै राखेका छन् ।
एमाले नेताहरू भने राष्ट्रपति आफ्नै पार्टीबाट हुने भन्दै गत पुस १० गतेको सहमति माओवादी केन्द्रका नेताहरूलाई सम्झाइराखेका छन् । तर, यदि राष्ट्रपति आफूले नपाएमा के गर्ने भन्ने विषयमा एमालेले कुनै प्रतिक्रिया दिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?