सरकार संसदीय समिति र संसद चलाउन जिम्मेवार देखिएन : योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको आरोप लगाउनुभएको छ ।
आईतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद चलाउने, समितिहरु चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताउनु भयो ।

उहाँले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद चलाउने, समितिहरु चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको छैन, यो ६ महिनामा । ४१ वटा बैठक भए यसको प्रभावकारी नतिजा छैन । संसदको बिजनेस सरकारले नै बनाउने हो, तर सरकारले प्रभावकारी ढंगले बिजनेस दिन सकेको छैन, बजेट, नीति ल्याउनु बिजनेस होइन, नियमित काम हो । समितिहरु भनेको सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसदका अंग हुन्, यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ, किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ । समितिले दिएका निर्देशनहरु नेपाल सरकार र सरकारका निकायहरुले बिना शर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनु पर्छ ।’

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरु सरकार र सरकारका निकायहरुले बिना शर्त कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?