गौर हत्याकाण्डको कम्पन :

अनुसन्धान अघि बढाउने सरकारको निर्णय, गठबन्धनविरुद्ध जसपा अध्यक्ष यादवको सक्रियता

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । गौर हत्याकाण्डको अनुसन्धान फेरि अघि बढ्ने भएको छ । सरकारले १७ वर्षअघि रौतहटको गौरमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने भएको हो । गृह मन्त्रालयले गौर हत्याकाण्ड पीडितसँग पुनः अनुसन्धान अघि बढाउने सहमति गरेको हो । हत्याकाण्डपीडित संघर्ष समितिसँग भएको पाँचबुँदे सहमतिमा गौर हत्याकाण्डको अनुसन्धान गर्ने उल्लेख छ । संघर्ष समिति र गृह मन्त्रालयबीच मंगलबार हत्याकाण्डको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने सहमति भएको थियो । सम्झौताको पहिलो बुँदामै उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएको जाहेरी समेतलाई छानविन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख छ । गौर हत्याकाण्ड अनुसन्धानको माग गर्दै पीडित संघर्षरत थिए । सरकारले अनुसन्धान अघि बढाउने सहमति गरेसँगै उनीहरूको आन्दोलन तत्काललाई अन्त्य भएको छ ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र तत्कालीन माओवादीका कार्यकर्ताबीच २०६३ चैत ७ गते भएको झडपमा २७ जनाको ज्यान गएको थियो । दुई समूहले एकैस्थान र समयमा दुई फरक कार्यक्रम राख्दा झडपको स्थिति आएको थियो । घटनामा निर्मम तरिकाले माओवादी कार्यकर्ताको हत्या गरिएको थियो ।

घटनामा संलग्न रहेको भन्दै फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताको नाममा किटानी जाहेरी परेको थियो । २०६३ चैत २८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी परे पनि हालसम्म त्यसमाथि कुनै सुनुवाइ भएको थिएन । घटनाको पुनः छानविन हुने भएसँगै जसपाका अध्यक्ष यादव सशंकित हुनुभएको छ । घटना हुँदा तत्कालीन फोरमको नेतृत्व यादवले गर्नुभएको थियो । पीडितसँगको सहमतिअनुसार तत्कालीन फोरम र अहिलेको जसपाका अध्यक्ष यादवसहितका नेताहरूमाथि छानविन गर्नुपर्ने हुन्छ । घटनाबारे आफूमाथि अनुसन्धान हुने भएपछि उहाँ राजनीतिक दौडधुपमा लाग्नुभएको छ ।

उपेन्द्रमाथि कारबाहीको माग गर्दै रौतहटमा बेलामौकामा आन्दोलन भइरहेको हुन्छ । पछिल्लो समय माओवादीबाट अलग्गिएर नयाँ पार्टी बनाउनुभएका प्रभु साहले गौर हत्याकाण्डलाई एजेण्डा बनाउनुभएको छ । साह र यादवबीच मधेशमा राजनीतिक अस्तित्वको लडाइँसमेत छ । प्रहरीले जाहेरी दर्ता गरे पनि कारबाही नहुँदा गौर घटना पीडितहरूले आन्दोलन सुरु गरेका थिए । जसमा साहले साथ दिनुभएको थियो । काठमाडौंमा रिले अनशन बस्नेदेखि लिएर सरकारलाई विभिन्न ढंगले जानकारी गराउँदै आएका उनीहरूसँग सरकारले वार्ता गरेर पुनः अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति जनाएको छ ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष पनि सरकारलाई ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको थियो । आयोगले गत पुस १९ गते घटना भएको १६ वर्ष बित्न लाग्दा पनि किटानी जाहेरी दरखास्तउपर कुनै कारबाही, अनुसन्धान, तहकिकात गरी अभियोजन गर्ने कार्य नदेखिएको ठहर गरेको थियो ।

सहमतिप्रति जसपा असन्तुष्ट, आन्तरिक र बाहृय छलफलमा यादव
सरकारले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउने तयारी गरेपछि सत्तारूढ जनता समाजवादी पार्टी (जसपा), नेपाल झस्किएको छ । गौर घटनाको विषयमा सरकार र पीडितबीच घटनाको छानविन गरी दोषीलाई कारबाही गर्ने सहमति भएपछि जसपा असन्तुष्ट बनेको हो । जसपाले सरकार र पीडितबीच भएको सहमतिलाई जसपाविरुद्धको षड्यन्त्रको रूपमा अथ्र्याएको छ । सरकारको तयारीले झस्किएको जसपाले आन्तरिक र बाह्य दुवैतिर छलफल थालेको छ । जसपाका काठमाडौंमा उपलब्ध नेताहरूले बुधबार नै यसबारे छलफल गरेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ र प्रतिपक्षी दलका नेतासँगसमेत छलफल थाल्नुभएको छ । गौर हत्याकाण्डको फाइल खुल्ने सरकारको तयारीले त्रसित उपेन्द्रले मंगलबारदेखि नै भेटघाट र दौडधुप बढाउनुभएको हो । यसक्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसक्नु भएको छ । एमाले अध्यक्ष ओलीलाई मंगलबार राति नै भेट्नुभएका यादवले कांग्रेस सभापति देउवालाई समेत भेट्नुभएको हो ।

स्रोतका अनुसार भेटवार्ताका क्रममा यादवले सरकार छोड्नुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ । बालकोटस्थित ओलीको निवासमा भएको भेटमा उपेन्द्रले सरकार छाड्ने मनस्थितिमा पुगेको भन्दै नयाँ सरकारको सम्भावनाबारे समेत कुराकानी गरेको स्रोतको दाबी छ । जवाफमा ओलीले नयाँ सरकारका लागि जसपा मात्र आउँदा नपुग्ने बताउनुभएको थियो । उहाँले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीन दलको बैठकलगत्तै देउवासँग भेट्नुभएको थियो । भेटमा यादवले गौर हत्याकाण्डबारे कुरा गर्नुभएको स्रोत बताउँछ । स्रोतका अनुसार यादवले सरकार छोड्न सक्ने संकेत पनि गर्नुभएको थियो । भेटमा देउवाले यसबारे प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्ने वचन दिनुभएको थियो । उपेन्द्रको सरोकारबारे बुधबार देउवाले प्रचण्डसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि देउवाले यादवलाई फोन गरेर जानकारी दिनुभएको थियो । तर, प्रधानमन्त्री प्रचण्डबाट कुनै सकारात्मक जवाफ नआएको यादवनिकट नेताहरू बताउँछन् ।

गौर हत्याकाण्डबारे सरकारले अनुसन्धान अगाडि बढाउने विषयमा सत्ता गठबन्धनको विषयमा समेत चर्चा भएको छ । बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच यसबारे छलफल भएको हो । बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, जसपा अध्यक्ष यादव र एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो । छलफलमा गौर हत्याकाण्डको विषयले पनि प्रवेश पाएको थियो ।

दबाब र खबरदारी जारी रहोस्, सत्य र न्यायको जित एकदिन अवश्य हुनेछ : भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गौर हत्याकाण्डका पीडितलाई फोस्रा आश्वासन दिनुको अर्थ नभएको बताउनुभएको छ । गौर हत्याकाण्डका पीडित र सरकारबीच पाँचबुँदे सहमति भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले हत्याकाण्ड कुनै राज्यविरुद्धको विद्रोहको क्रममा घटेको र शान्ति प्रक्रियासँग जोडिएको घटना नभएको उहाँको भनाइ छ । घटनालाई उहाँले मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्ति आन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको नृशंस आतंक र हत्याकाण्डको संज्ञा दिनुभएको छ ।

‘गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणित भन्दामाथि नउठीकन यसबारे पीडित आन्दोलनकारीहरूलाई पटक-पटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न,’ उहाँले भन्नुभएको छ, ‘स्मरण रहोस्, यो वीभत्स हत्याकाण्ड कुनै राज्यविरुद्धको विद्रोहको क्रममा घटेको र शान्ति प्रक्रियासँग जोडिएको घटना हैन । यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्ति आन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको नृशंस आतंक र हत्याकाण्ड थियो ।’

उहाँले चाहेर पनि आफूले हत्याकाण्डबारे केही गर्न नसकेको स्वीकार गर्नुभएको छ । ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ट कालखण्डमा हामीले चाहेर पनि यसबारे केही गर्न नसकेकोमा आत्मालोचित छौँ,’ उहाँले भन्नुभएको छ, ‘सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् । सत्य र न्यायको जित एकदिन अवश्य हुनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?