श्रृंखला स्वीप गरेपछि कप्तान रोहितको प्रतिक्रिया : अभ्यस्त पिचले सफलता दिलायो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्याण्डमाथि २ विकेट रोमाञ्चक जितपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको बताएका हुन् ।

नेपाललाई रोमाञ्चक जित दिलाउनुभएका रोहितले जितपछि आफूलाई निकै राहत मिलेको बताए । यही श्रृंखला क्लिन स्विप भएपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको बताए । उनले युएईमा हुन लागेको अर्को श्रृंखलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको बताए । दुबईमा हुने श्रृंखलाका लागि खेलाडीको विषयलमा छलफल भइरहेको समेत जानकारी दिए ।

नयाँ प्रशिक्षकको नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले सम्पन्न श्रृंखलाबाट सुधारको संकेत दिएको छ । यसै श्रृंखलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ ।

श्रृंखलाको अन्तिम खेलमा सफलता निकालेपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सहि तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताए। घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार श्रृंखला बनाउँदा आफू पनि खुशी भएको प्रतिक्रिया दिए । प्रशिक्षकको रुपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरुको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा आफू खुशी भएको बताए। उहाँले नेपाली खेलाडी पनि प्रतिष्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको बताउनु भयो ।

मंगलवार सम्पन्न श्रृंखलाको अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो । अब नेपाल लिग–२ श्रृंखला अन्र्तगतको खेलका लागि नेपाल युएई भ्रमण गर्ने तालिका छ । भ्रमणमा नेपालले युएई र पपुवा न्युगिनीसँग श्रृंखला खेल्ने तालिका छ । लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?