नेपाली यू-१९ टोली युएई प्रस्थान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाली क्रिकेट टोली युएई प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाइ गरेको छ । बुधबार नै नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र राखेप सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रम गर्दै बिदाइ गर्नुभएको थियो । सदस्य-सचिव घिसिङले सिनियर टोलीले पछिल्लो हप्ता गरेको प्रदर्शनले यू-१९ लाई थप प्रेरणा र शक्ति मिल्ने विश्वास व्यक्त गर्नुभयो । सिनियर टोलीले यस हप्ता आइसिसी क्रिकेट लिग-२ मा लगातार चार खेल खेल्दै इतिहास रचेको थियो ।

नेपाली यू–१९ टोलीका मुख्य प्रशिक्षक जगत् टमाटाले नेपालको लक्ष्य उपाधि जित्दै विश्वकप खेलेर फर्किने रहेको बताउनुभयो । झण्डै दुई महिनाको अभ्यासमा खेलाडीहरूले धेरै कुरा सिक्न पाएको र च्याम्पियन बन्दै विश्वकप पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेपाली यू-१९ टोलीमा देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर), दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा हुनुहुन्छ ।

नेपाली टोलीका कप्तान देव खनालले विश्वकपमा लामो समयपछि विश्वकपमा फर्कने लक्ष्यसहित युएई प्रस्थान गर्न लागेको जानकारी दिनुभयो । सन् २०१६ पछि नेपाली यू–१९ टोली विश्वकपमा पुग्न सकेको छैन ।

प्रतियोगितामा नेपालसहित ६ टोली छन् । नेपालले उपाधि जित्न सके २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । देवले गत वर्ष यू-१९ एसिया कपमा नेपालको कप्तानी गर्नुभएको थियो । देवसँगै आकाश चन्द, दुर्गेश गुप्ता, दीपेश कँडेल, विशालविक्रम केसी र अर्जुन कुमालले यसअघि नेपाली यू-१९ टोलीबाट खेलिसक्नुभएको छ ।

नेपाली टोलीले पहिलो खेल फागुन १२ मा सिंगापुरसँग खेल्दै उद्घाटन गर्नेछ । दोस्रो खेल फागुन १३ (फ्रेब्रुअरी २५) कुवेतसँग खेल्नेछ । नेपालले त्यसपछि एक दिन विश्राम गर्नेछ । फागुन १५ (फेबु्रअरी २७) मा हङकङसँग खेल्नेछ । फागुन १६ (फेबु्रअरी २८) मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ । अन्तिम खेल फागुन १८ (मार्च २) मा युएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?