राष्ट्रपति पद प्राप्तिका लागि राजनीतिक दौडधुप तीव्र

आफ्नै पार्टीबाट बनाउन कांग्रेसको कसरत, एमाले विभिन्न विकल्पमा

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आउँदा शनिबार उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । उम्मेदवारी मनोनयन दर्ता गर्न दुई दिन बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताहरूबीच तीव्र दौडधुप चलेको छ । बुधबार बिहान प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भयो । बुधबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका नेताहरूबीच भेटवार्ता भयो । बुधबार नै साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवाबीच देउवानिवास धुम्बाराही छलफल भएको छ ।

नेकपा एसका नेताहरूसँगको छलफललगत्तै कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । बुधबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि बुधबार नै भेटवार्ता भएको छ । नेताहरूबीच भएका सबै भेटवार्ता राष्ट्रपतिको उम्मेदवारका विषयमा केन्द्रित रहेका छन् । राजनीतिक दलका शीर्ष नेताहरूबीच तीव्र राजनीतिक दौडधुप चलिरहँदा नेपालस्थित चिनियाँ राजदूत चेन सोङले पनि राजनीतिक नेतृत्वसँगको भेटवार्तालाई तीव्रता दिनुभएको छ ।

माधव वा सुवासलाई राष्ट्रपति बनाउन एमाले अध्यक्ष ओलीको प्रस्ताव
गत पुस १० गते भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्रको साथ नपाउने निश्चित भएसँगै एकपछि अर्को रणनीतिक पासो फाल्न थाल्नुभएका सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको नाम अघि सार्नुभएको छ । बुधबार बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको वान टु वान भेटवार्तामा अध्यक्ष ओलीले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सार्नुभएको हो । प्रचण्डसँगको भेटवार्तामा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै भन्नुभयो, ‘तपाईंले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ ।’ अध्यक्ष ओलीको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सल्लाह गर्ने जवाफ दिनुभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यको भनाइ छ । भेटवार्तामा एमाले अध्यक्ष ओलीले प्रचण्डको भूमिकाप्रति समेत असन्तुष्टि जनाउनुभएको ओलीनिकट स्रोतको दाबी छ । ओलीले आफ्नो भूमिका गठबन्धनप्रति इमानदार छ कि छैन प्रष्ट पार्न प्रचण्डलाई आग्रह गर्नुभएको उक्त स्रोतको दाबी छ ।

कांग्रेससहितको सहमति हाम्रो बटमलाइन : गजुरेल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल आफूहरू राष्ट्रिय सहमतिको बटमलाइनबाट दायाँ-बायाँ नभएको स्पष्ट पार्नुभएको छ । नयाँ राष्ट्रपतिको निर्वाचनबारे आफूहरू एमालेलाई कुरेर बसिरहेको जानकारी दिँदै गजुरेलले भन्नुभयो, ‘राष्ट्रपतिबारेमा एमालेले के गर्छ पर्खिंदै छौँ । राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्छ । कांग्रेसलाई पनि सहमतिमा ल्याऊँ भन्ने हाम्रो लाइन हो । कांग्रेसलाई सहमतिमा ल्याउँदैमा अहिलेको गठबन्धन भत्किने पनि होइन । हामी अहिले पनि यही गठबन्धनमा छौँ । तर, राष्ट्रपतिमा कांग्रेससहितको राष्ट्रिय सहमति हाम्रो बटमलाइन हो ।’

पुस १० को सहमतिअनुसार एमालेकै राष्ट्रपति : पौडेल
नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमतिअनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दाबी गर्नुभएको छ । सरकार गठन गर्दा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार नै एमालेका तर्फबाट राष्ट्रपति हुने दाबी गर्दै उपाध्यक्ष पौडेलले पूर्वसहमति कार्यान्वयनमा सवै दलले इमानदारीका साथ पालना गर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीहरू तथा नेताहरूको सम्बन्धका विषयमा तहमाथि हुनसक्ने तर मुलुकको आवश्यकताअनुसार एकताबद्ध पनि हुने उहाँको भनाइ छ ।

पूर्व-प्रधानमन्त्रीहरूलाई राष्ट्रपति बनाउनुहुन्न : शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पूर्व-प्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । कार्यकारी प्रमुख भइसकेका नेतालाई आलंकारिक राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने जिकिर गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनै पनि पूर्व–प्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु । त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनु भएको छ । त्यसकारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’ महामन्त्री शर्माले राष्ट्रपति पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको टिप्पणी गर्नुभयो ।

राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको नेकपा एसको स्पष्टीकरण
नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको प्रष्ट पारेको छ । बुधबार बसेको पार्टी सचिवालयको बैठकपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको स्पष्ट पार्दै भन्नुभयो, ‘राष्ट्रपतिको प्रस्ताव आएकोबारे अहिलेसम्म हामी जानकारी छैन । राष्ट्रपतिको प्रस्ताव आएको कुरा हल्ला मात्रै रहेछ । अध्यक्ष (माधवकुमार नेपाल)ले त्यसबारेमा बैठकमा केही पनि ब्रिफिङ गर्नुभएन ।’

अहिले नै एमालेसँग मिल्ने कुरा पनि कठिन रहेको स्पष्ट पार्दै खनालले भन्नुभयो, ‘एमालेसँग मिल्ने सवाल अलिक कठिन छ । मिल्दैन कसरी भन्नु ? तर अहिले नै मिल्ने आधार तयार भएको छैन । यसबारे ठोस जवाफ दिन कठिन छ ।’
नेपाली कांग्रेसले पुरानै गठबन्धन ब्युँताउने सम्भावनाबारे पनि छलफल भइरहेको जानकारी दिँदै नेता खनालले भन्नुभयो, ‘कसरी समझदारी विकास हुन्छ त्यसमा भर पर्छ । तर, हामी सबै दलहरूसँग छलफल गरिरहेका छौँ ।’

सचिवालय बैठकपछि उपमहासचिवसमेत रहनुभएका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो, ‘हामीलाई कसैले राष्ट्रपतिको कुनै प्रस्ताव आएको छैन । त्यो च्याप्टर क्लोज भइसकेको छ । भोलिका दिनमा आए त्यसबारेमा अन्य दलसँग छलफल गर्ने नीति लिएको छ । राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा पार्टी उभिन्छ । उम्मेदवारहरू राजनीतिक दलबाटै हुनेछन् । हामी पनि एउटा पक्ष हौँ । कोहीसँग बहुमत छैन । भएको भए अहिलेको छलफल नै हुँदैनथ्यो । हाम्रो उम्मेदवार भयो भने पनि अरूको भोटले जित्ने हो । हाम्रो पार्टी पनि त्यही लाइनमा छ ।’

पूर्व-राजालाई अघि सार्न मिश्रको सुझाव
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भावी राष्ट्र प्रमुखमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्नु उपयुक्त हुने सुझाव दिनुभएको छ । राष्ट्रपतिका लागि ‘होलीवाइन’देखि ‘विदेशी एजेन्ट’सम्मका नाम चर्चामा आइरहेको टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत उपाध्यक्ष मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि राष्ट्रपतिको भूमिका सदा पार्टीगत बनेको बताउनुभएको छ । सेनाबाहेक देशका सबै संस्था क्षयीकृत भएको, धर्मसंस्कृतिमाथि धावा बोलिएको र देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परेको जिकिर गर्दै लेख्नुभएको छ,‘देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्र प्रमुख’ का रूपमा किन अघि नसार्ने ?’

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाको दौडधुप
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन तीव्र लविङ थालेको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर ठाकुरलाई राष्ट्रपतिमा अघि सार्न प्रस्ताव गरेको लोसपाले बुधबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासहितका नेताहरूलाई भेटेर राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेको छ । लोसपाको प्रस्तावमा कांग्रेस सभापति देउवाले त्यसबारे पार्टीले अहिलेसम्म कुनै पनि निर्णय नलिएको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति गर्ने विषयमा समेत छलफल गर्ने आश्वासन दिनुभएको छ । लोसपाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेता ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन आग्रह गरेको थियो ।

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता सूची सार्वजनिक गरेको छ । बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सूची प्रकाशन गरेको हो । संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५५० जना सदस्यको नाम रहेको छ । सो मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहीबार मध्यान्ह १२ बजेसम्मको समय तोकिएको थियो ।

फरार सांसद लक्ष्मी कोइरी पनि मतदाता नामावलीमा
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि सार्वजनिक गरेको मतदाता नामावलीमा फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश गरेको छ । कोइरी निलम्बनमा नपरेका कारण नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीहरूको जिकिर छ । गत ४ मंसिरको चुनावमा महोत्तरी–१बाट निर्वाचित कोइरीमाथि मधेश आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । कोइरीलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ । तर, प्रहरीले पक्राउ गरेको छैन ।

मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको नाम भने मतदाता नामवालीको सूचीमा छैन । भ्रष्टाचार मुद्दा चलिरहेका गुरुङ निलम्बित अवस्थामा छन् । निर्वाचन आयोगले तीन साता जेल बसेर आइतबार छुटेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता सूचीमा राखेको छैन । चौधरी आइतबार कारागार कार्यालय कैलालीबाट रिहा हुनुभएको थियो । सांसद चौधरीलाई फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी सजाय मिनाहा गर्नुभएको थियो । चौधरी पक्राउ परेको सूचना संसद् सचिवालयमा सुनाइएको थियो । त्यहीकारण चौधरीको नाम मतदाता नामावलीमा नपरेको आयोगको भनाइ छ । निर्वाचन आयोगले सार्वजनिक भएको तालिकाबारे बिहीबारसम्म दाबी विरोधको समय राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?