कांग्रेसका देउवा र एमालेका ओलीबीच राष्ट्रपति कसले बनाउने भन्ने रस्साकस्सी चलिरहेको छ । डा.बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई बेग्लाबेग्लै कोठामा राखेर ओलीले राष्ट्रपतिको प्रलोभन देखाइरहेका छन् भने देउवा निजीनिवासमा आएकासँगको भेटघाटमा व्यस्त छन् । ललिपपमा भुले भने नेताहरूले दुई-चार दिन ओलीको प्रशस्ति गाउँने छन् र उनीहरूको फर्कने बाटो सकिएपछि लोप्पा खुवाउने छन् भन्ने जान्दाजान्दै पनि नेताहरूले के गर्छन् हेर्ने दिन नजिकिँदै छ । यद्यपि आजका दिनसम्म देउवाभन्दा अघि देखिएका छन् तर हिन्दी चलचित्रमा हिरोले अन्तिममा इन्ट्री मारे झैँ देउवा अगाडि नआउलान् भन्न पनि सकिँदैन । किनकि, ओलीले बाँड्ने मिठाई पूर्णतः शुद्ध नहुन पनि सक्छ भन्ने आशंका कम्युनिष्ट नेताहरूमा छ ।
सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डितः ।
अर्थात् सबै चिज गुम्ने अवस्था आएमा जान्नेबुझ्नेले आधा छाडेर भए पनि आधा आफ्ना हातमा पार्ने प्रयास गर्दछन् । हाम्रा पौराणिक ग्रन्थ, उखान टुक्का र हास्यरसका महान् ज्ञाता नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीलाई यो भनाइबारेमा ज्ञान नहुने कुरै भएन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आदि मात्रै होइन, राज्यका उच्च भनाउँदा सबै पदहरूबाट एमालेले हात धुनुपर्ने अवस्था आएर पीडामा रहेका बेला नेपाली कांग्रेसले सानो गल्ती गरेको मौका पाउने बित्तिकै ओलीले चौका दाउ हानी हाले । प्रधानमन्त्री र केही मुख्यमन्त्री माओवादी केन्द्रलाई दिएर अन्य सबै पदहरू आफ्नो नियन्त्रणमा राख्न सफल भए ।
नेपाली कांग्रेसको राष्ट्रपतिमा प्रचण्ड अर्थात् माओवादी केन्द्रको साथ पाउने एकमात्रै आधार के हो भने विगतमा राष्ट्रपति विद्या भण्डारीबाट भएका संवैधानिक र गैरसंवैधानिक कदमहरूका कारण देउवा सरकारलाई पारिएको अप्ठ्यारो र त्यस्तै राष्ट्रपति आएमा भविष्यमा आउने संकटलाई प्रचण्डले गरेको अनुभूतिमात्रै हो ।
उता माओवादी केन्द्रको न टेक्ने धर्ती छ, न समाउने हाँगो नै छ भनेर जति पेले पनि आफ्नै दुवै हातमा लड्डु हुन्छ भन्ने दिवास्वप्न देखेको नेपाली कांग्रेसलाई अन्तिम अवस्थामा जसले पनि सहयोगी भेट्न सक्दछ भन्ने पाठ पढाउन प्रचण्ड सफल भए । धेरै थिच्यो भने फुटबल विष्फोट हुन्छ भन्ने ज्ञान हुँदाहुँदै पनि हेक्का नराखी आँखा चिम्लेर बसेको कांग्रेसलाई राजनीति सबैखाले सम्भावनाको खेल हो भनेर ओलीले राम्रैसँग ज्ञान दिलाए । अहिले कांग्रेस छट्पटिएको छ तर गाडी धेरै अगाडि बढिसकेपछि पैदल यात्रीले भेट्टाउने सम्भावना ज्यादै कम रहन्छ । कच्चा बैद्यले ब्रहृमनालमा पुगेको मान्छे ब्युँताउन प्रयास गरे झैँ कांग्रेस प्रयत्नशील देखिएको छ ।
नेकपा एमालेले धक्का दिँदा नेपाली कांग्रेसको छाला खोस्रिए जस्तै मात्रै भएको देखिन्छ । छाला च्यातिएर रगत बगेको अनुभव नेपाली कांग्रेसले गरे जस्तो लाग्दैन । ‘न हि सुप्तस्य सिंहस्यप्रविशन्तिमुखे मृगा’ अर्थात् सुतेर बसेको सिंहको मुखमा मृग आफैँ आएर पस्दैन भन्ने भनाइ संस्कृतमा प्रख्यात छ तर नेपाली कांग्रेसका नेताहरू कांग्रेस बाघ हो र बाघले शिकार खोज्न मेहनत गर्नै पर्दैन भने झैँ देखिएको छन् । राणा, पञ्चायत र कम्युनिष्ट शक्तिहरूबाट सदैव प्रहार खेप्दाखेप्दै गैँडाको छाला जस्तै भएका कांग्रेसीहरूलाई ओलीको अहिलेको चिथोर्याइँबाट कुनै असर परे जस्तै देखिँदैन ।
विगतको कमजोरी सच्याउने भन्दै नेपाली कांग्रेसले पुष्पकमल दाहालको सरकारले विश्वासको मत लिँदा समर्थन गर्यो । त्यही सहयोगलाई देखाएर नेपाली कांग्रेसका नेताहरूलाई कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ सहयोग पाउँछ भन्ने आशा छ । कांग्रेसका पदाधिकारीहरूको बैठक बसेर माओवादीसँग औपचारिक रूपमै सहयोगको याचना गर्ने निर्णय गरे र निर्णयको जानकारी प्रधानमन्त्री प्रचण्डलाई समेत गराए । राजनीतिका चतुर एवं सत्ता समीकरणका महान् खेलाडी प्रचण्डले पनि कांग्रेसलाई निराश नै त बनाएनन् तर माधव नेपाललाई एमालेले सहयोग गरे अप्ठ्यारो हुन्छ भन्ने सन्देश दिँदै केही चिसो पसाइदिए ।
नेपाली कांग्रेसको राष्ट्रपतिमा प्रचण्ड अर्थात् माओवादी केन्द्रको साथ पाउने एकमात्रै आधार के हो भने विगतमा राष्ट्रपति विद्या भण्डारीबाट भएका संवैधानिक र गैरसंवैधानिक कदमहरूका कारण देउवा सरकारलाई पारिएको अप्ठ्यारो र त्यस्तै राष्ट्रपति आएमा भविष्यमा आउने संकटलाई प्रचण्डले गरेको अनुभूति मात्रै हो । एमालेका ओलीका खल्तीका मान्छे नै राष्ट्रपति भएमा तल संसद्मा विधेयक अगाडि बढाउने ठाउँमा सभामुख पनि एमालेको र माथि विधेयक स्वीकृत गर्ने ठाउँमा राष्ट्रपति पनि एमालेकै हुँदा प्रधानमन्त्रीको कुर्सीमा रहे पनि ओलीको खेलौना बन्नुपर्छ भन्ने डर प्रधानमन्त्री प्रचण्डमा छ । यसैको फाइदा नेपाली कांग्रेसले लिन खोजेको देखिन्छ ।
यो सत्य नै हो । राष्ट्रपति र सभामुख दुवै पदमा एमाले अझ भन्नु पर्दा त्यो दलका केपी ओलीले अघि सारेका व्यक्तिहरू भएमा प्रचण्ड प्रधानमन्त्री ओलीकै शब्द सापट लिएर भन्नु पर्दा झुम्राका पुतलीमात्रै हुनेछन् । प्रधानमन्त्री प्रचण्ड यसबारेमा राम्रो जानकार रहेकाले नेपाली कांग्रेसलाई नचिढ्याएका मात्र हुन् । नेपाली कांग्रेसले सहयोग नगरेका भए मुलुकभर कतैबाट पनि संसदीय निर्वाचन जित्न उनलाई कठिन थियो र सांसद् नभएको भए प्रधानमन्त्री हुने अवसर प्राप्त हुँदैनथ्यो भन्ने महसुस गरेर राष्ट्रिय सहमतिको नारा प्रचण्डले दिएका हुन् भन्ने ठान्यो भने नेपाली कांग्रेसको ठूलो भूल हुनेछ ।
नेपाली कांग्रेसले कुन्नि के पनि गरिसक्यो, दैलो पनि देख्यो भने झैँ बेला बितेपछि गरेको गल्ती सच्याउन खोज्दैछ । गल्ती सच्याउने भन्छ तर त्यसतर्फ आवश्यक कदम चाल्न भने सकेको देखिँदैन । उही कहिले कता प्रचण्डसँग वार्ता या छलफल गरेको वा भेटेको पाइन्छ तर ठोस प्रक्रिय बढाएको पाइँदैन । देउवा निवासमा बसेर उही प्रधानमन्त्री चयनका बेला प्रचण्ड कहाँ जालान् र भने झैँ अहिले राष्ट्रपतिको निर्वाचनमा पनि प्रचण्डले एमालेलाई किमार्थ बनाउँदैनन् भन्ने मनगढन्त सपना बोकेर बसेको छ तर जे र जस्तो कदम चाल्न प्रचण्ड र ओली माहिर छन् भन्ने हेक्का कांग्रेसहरूले राखेका छैनन् ।
नेपाली कांग्रेसले प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्रीको प्रस्ताव राख्यो भने ओलीले पनि त्यही भनिदिन्छन् । त्यतिमात्रै होइन गोहीको आँसु चुहाउँदै विगतका गल्तीमा क्षमाप्रार्थी हुँदै माओवादी केन्द्र र एमाले मिलाई एउटै पार्टी बनाउने र त्यो पार्टीको अध्यक्षसमेत प्रचण्डलाई नै दिने वाचा गर्न पनि ओली पछि पर्दैनन् । सत्ता र शक्ति देखेपछि धेरै परको भविष्य ख्याल नगर्ने प्रचण्डको बानी र आफ्ना वरिपरि राजनीति नचाउन माहिर ओलीका खेलको चक्रब्यूह कांग्रेस र यो पार्टीका नेताहरूले बुझ्न प्रयास गरेजस्तो देखिँदैन । राजनीति सरल रेखामै हिँडिरहन्छ भन्ने मान्यता बोकेर कांग्रेसका नेताहरू प्रचण्डको राष्ट्रिय सहमतिको नारामा भुलिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सत्ता गठबन्धनसँग केही खटपट भएकै हो । २० सिट जितेको स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद् पद गुमेको भए तापनि त्यस पार्टीका १९ सांसद् सक्रिय नै छन् । स्वतन्त्र पार्टीका सबै सांसद् कम्युनिष्ट पृष्ठभूमिका पनि होइनन् र पुरानो दरबारबाट परिचालित पनि होइनन् । लोकतान्त्रिक परिपाटी र नागरिक स्वतन्त्रतालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने वर्तमान संवैधानिक व्यवस्थाका समर्थकहरू पनि स्वतन्त्र पार्टीमा छन् भन्ने कुरालाई हेक्का राखेर त्यस्ता सांसद्हरूसँग पारस्परिक सहयोगका लागि छलफल अघि बढाउन प्रयास गरेको पनि देखिएन ।
सहज रूपमा कांग्रेसलाई साथ दिन प्रचण्डलाई त्यति सहज छैन । उनलाई राजनीतिक अस्थिरताका प्रतीकका रूपमा उभ्याउने गरिएको छ । आफ्नो सत्तास्वार्थ बाहेक केही नहेर्ने उनको परिचय बनिसकेको छ । कोही कसैसँग पनि लामो सहकार्य गर्न नसक्ने नेताका रूपमा उनलाई चिन्ने गरिएको छ ।
राप्रपाका सबै नेताहरू अहिलेको गठबन्धनप्रति खुशी छैनन् भन्ने खुलेयाम बाहिर आइरहेको छ । जनता समाजवादी पार्टी त कांग्रेसले जस्तै सरकारलाई विश्वासको मत दिए पनि सत्तामा गएको छैन । लोकतान्त्रिक समाजवादी पार्टी त छँदै नै छ । यी सबै पार्टीहरूसँग साइड बाई साइड छलफल गरिरहनुपर्दछ र मौका आउने बित्तिकै ओलीले जस्तै चौका दाउ हान्नुपर्दछ भन्ने ख्याल गरेको पनि पाइँदैन । भोलि राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले साथ दिने बित्तिकै कांग्रेसलाई पुग्छ र ? कि माओवादी कांग्रेससँग मिल्न आयो भने गठबन्धनमा रहेका एमाले बाहेकका अरू सबै दल आफैं आउँछन् भन्ने कांग्रेसले सोचेको छ ?
सहज रूपमा कांग्रेसलाई साथ दिन प्रचण्डलाई त्यति सहज छैन । उनलाई राजनीतिक अस्थिरताका प्रतीकका रूपमा उभ्याउने गरिएको छ । आफ्नो सत्तास्वार्थ बाहेक केही नहेर्ने उनको परिचय बनिसकेको छ । कोही कसैसँग पनि लामो सहकार्य गर्न नसक्ने नेताका रूपमा उनलाई चिन्ने गरिएको छ । राजनीतिमा उनको यो परिचयलाई सच्याउनुपर्दछ भनेर उनलाई सचेत गराउँदै एमालेसँगै रहेर काम गर्नुपर्दछ भनी जोड दिने नेताहरूको हालीमुहाली माओवादी केन्द्रमा छ । त्यसैले प्रचण्डसँग मात्रै कुरा गरिरहेर नेपाली कांग्रेसले वर्तमान गठबन्धनमा परिवर्तन ल्याउन सक्ने सम्भावना ज्यादै न्यून छ । एउटा ठूलै र ठोस कदमको आवश्यकता छ ।
राष्ट्रपतिको चुनाव जितेरमात्रै नेपाली कांग्रेसको राजनीतिक कोर्स पूरा हुने होइन । अन्तिम पर्यो भने ओलीले त्यही अवस्थालाई स्वीकार गरेर भए पनि आफ्ना मुख्यमन्त्री, मन्त्रीहरूको पद जोगाउँदै नेपाली राजनीतिलाई आफ्नै वरपर घुमाइराख्न प्रयास गर्ने छैनन् भन्ने पनि छैन । यस्तो अवस्थामा आएको स्वीकार्ने, खल्तीको पोखेर भुइँको टिप्ने, कर्ममा भन्दा भाग्यमा विश्वास गर्ने कांग्रेस र नेता होइन, मुलुकको राजनीतिलाई लोकतान्त्रिकीकरणको मार्गमा अगाडि बढाउँदै संवैधानिक सर्वोच्चतालाई स्वीकार गरी मुलुक र आमनागरिकलाई सुख समृद्धि दिलाउन प्रयत्न गर्ने नेता खोजेको छ । सुतेको होइन, उठेको कांग्रेस, जागेको नेता चाहिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच