लाचार उपभोक्ता समिति : तानसेनमा खानेपानी नपाएपछि आन्दोलनमा उपभोक्ता

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । धारामा १५ दिनदेखि खानेपानी नआएपछि तानसेनका उपभोक्ताहरू आन्दोलित भएका छन् । तानसेन खानेपानी उपभोक्ता समिति लाचार बनेर दुई सातासम्म घरको धारामा पानी नआएपछि तानसेनका उपभोक्ताहरू आन्दोलित बनेका हुन् । उनीहरू बुधबारदेखि शान्तिपूर्ण आन्दोलनस्वरूप धर्नामा बसेका छन् ।

टोल-टोलबाट स्थानीय उपभोक्ताहरू तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् । उनीहरूले खानेपानीको सहज व्यवस्था गर्न माग गर्दै धर्ना बसेका हुन् । एक हप्तासम्म पनि आफूहरूको माग सम्बोधन नभए कडा रूपमा आन्दोलनमा जाने धर्नामा बसेका तानसेन बसपार्कका उपभोक्ता दिनेश गन्दर्भले बताउनुभयो । पटक-पटक खानेपानी उपभोक्ता समितिलाई गुनासो गर्दासमेत तानसेनवासीले दुई हप्तादेखि खानेपानीबाट वञ्चित भएपछि बाध्य भएर आन्दोलन स्वरुप धर्नामा बस्नुपरेको उहाँको भनाइ छ ।

समितिको लापरबाहीका कारण वर्षौंदेखि तानसेनवासीले खानेपानीको समस्या झेल्नुुपरेको, पटक–पटक गुनासो गर्दासमेत समितिको कार्यालयबाट सनुवाई नभएको, कार्यालयबाट गर्न सकिने कामसमेत जिम्मेवारीपूर्वक नभएको, सामान्य काममा समेत कार्यालयबाट ध्यान नदिएकाले बाध्य भएर आफूहरू धर्नामा बसेको अर्का उपभोक्ता राजेन्द्र अधिकारीले बताउनुभयो ।

घरमा दुई हप्ताभन्दा बढी हुँदासमेत खानेपानी नआउँदा समस्यामा परेको स्थानीय उपभोक्ता मीना पाण्डेको गुनासो छ । कार्यालयमा पुुगेर धर्नामा बस्नुभएकी उहाँले खानेपानी वितरणमा कर्मचारीको समेत लापरबाही भएको बताउनुभयो । उहाँले आक्रोशित हुँदै भन्नुभयो, ‘खाली धारा मात्र किन ? पानी नदिने भए हामी धारा बुझाउँछौ, स्वच्छ खानेपानी पिउने नागरिकको मौलिक अधिकार हो तर उपभोक्ता समिति र स्थानीय सरकारले अधिकार कुण्ठित गरे ।’ धारामा पानी नआएपछि घण्टौं टाढाबाट बोकेर खानुपरेको अर्को उपभोक्ता शर्मिला थापाको गुनासो छ ।

हरेक वर्ष तानसेनका उपभोक्ताहरूले खानेपानी अनियमितताको समस्या भोग्दै आएका छन् । उपभोक्ता समितिले खानेपानी वितरण प्राणलीलाई व्यस्थित गर्न नसक्दा यहाँका उपभोक्ताहरू पटक-पटक आन्दोलित हुँदै आएका छन् । २५ साउन २०७७ मा कैलाशनगरको बतासेडाँडा क्षेत्रमा तीन हप्तासम्म खानेपानी नआएपछि स्थानीय उपभोक्ता तथा पत्रकार जगदीश भट्टराई धर्ना बस्नुभएको थियो । लामो समयसम्म कैलाशनगरको बतासेडाँडा क्षेत्रका घरमा पानी नआएपछि प्रतिनिधिमूलक रुपमा भट्टराई तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्ना बस्नुभएको हो । उपभोक्ता समितिले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि भट्टराईले धर्ना स्थगित गर्नुभएको थियो । तर, पनि उपभोक्ता समिति अझै पनि उपभोक्ताप्रति जिम्मेवार बन्न सकेको छैन ।

उपभोक्ताहरूले खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्न खानेपानी उपभोक्ता समितिलाई आग्रहसमेत गरेका छन् । तर समितिले भने विजुुलीको समस्या देखाउँदै उम्कने गरेको छ । पहिले हप्तौँ खानेपानी नदिँदासमेत रमिते बनेर बस्ने उपभोक्ता समितिले अहिले भने स्थानीय रेडियोमा सूचना बजाएर विद्युत समस्याले पानी नआएको जनाएको छ । उसले निर्वाचनको लागि नगरपालिकालाई अनुरोधसमेत गरेको बताएको छ ।

समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बिजुलीको नियमित आपूर्ति नहुँदा खानेपानीमा समस्या देखिएको बताउनुभयो । उहाँले हिमालय टाइम्ससँगको कुराकानीमा नियमित पानी आपूर्तिका लागि ३८० देखि ४०० भोल्ट बिजुली आवश्यक पर्ने भए पनि ३४०–५० भोल्ट मात्र बिजुुली आपूर्ति भइरहेकाले केही समय पानी आपूर्तिमा समस्या भएको स्वीकार गर्नुभयो । उहाँले यस वर्ष बर्षा नभएका कारण पानीका स्रोतमा समेत कमी भएकाले पानी वितरणमा समस्या उत्पन्न भएको बताउनुभयो । कार्कीले भन्नुभयो ‘तानसेनमा हरेक वर्ष उपभोक्ताको संख्या बढ्दै गएको छ, पानीका स्रोतहरू घट्दै गएका छन्, जसले गर्दा समानुपातिक पानी वितरण गर्न नकिएको हो ।’ वितरण प्रणाली परम्परागत हुँदा पनि अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ छ । कालीगण्डकीको पानी वितरण नहुँदासम्म तानसेनमा खानेपानी सहज हुन नसक्ने कोषाध्यक्ष कार्कीले बताउनुभयो ।

तानसेन नजिकै थुप्रै पानीका स्रोतहरू भए पनि कसैले ध्यान दिएका छैनन् । स्थानीय मूलहरू नारायणस्थान, तीनधारे, होलांदी, सिदुरे, काजीपौवा, धरमपानी लगायतमा पानीका मुहानहरू भए पनि तिनीहरूको संरक्षणमा भने कसैको चासो छैन । यी मूलहरूबाट रातीको समयमा लाखौँ लिटर पानी बगेर खेर गइरहेको छ । त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गरेर भण्डारण गर्न सकेमा पनि खानेपानीको समस्या केही हदसम्म समाधान हुने धेरैको विश्वास छ ।

यस्तै कालीगण्डकीको पानी ल्याउन थालिएपछि पुराना स्रोतहरू भुल्के, बाँझा लगायतको क्षेत्रको पानी संरक्षणमा समेत उपभोक्ता समितिको ध्यान गएको छैन । साथै समयमै खानेपानीको चुहावट नियन्त्रण, मर्मत सम्भारमा समेत उसको ध्यान जान सकेको छैन । तानसेन खानेपानी समितिमा अवैधानिक तवरले राजनीतिक दलहरूले भागवण्डा गरेर समिति चयन गरेको दशक बढी भएको छ तर अहिलेसम्म समितिको साधारण सभा र अधिवेशन हुन सकेको छैन ।

समितिको अध्यक्षमा काँग्रेसबाट स्व.चकोरमान शाक्य अध्यक्ष हुनुहुन्थ्यो तर उहाँको निधन भएको समेत लामो समयभइसक्दा समेत समितिले अध्यक्ष चयन गर्न सकेको छैन । शाक्यको निधनपछि एमालेका नेता तथा पूर्व प्रदेश सांसद पुरनमान बज्राचार्य कार्यवहाक अध्यक्ष भएर संस्था चलाउनुभएको छ तर त्यस समितिले उपभोक्ताको हक हितमा कहिल्यै पनि ख्याल नगरेको आम उपभोक्ताहरूको आरोप छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?