राष्ट्रपति उम्मेदवार तय गर्न शीर्ष नेताहरूको कसरत जारी

चुनावअघिको गठबन्धन जुटाउने वा नेकपा ब्युँताउने विकल्पमा बहस

नारायण भण्डारी
Read Time = 14 mins

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार तय गर्न शीर्ष दलका नेताहरू आन्तरिक कसरतमा जुटेका छन् । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ । राष्ट्रपति निर्वाचनको विषयले सत्तारूढ गठबन्धनमा तीक्तता बढ्दै जाँदा कांग्रेसले पुरानो गठबन्धन जगाउने अधिकतम प्रयत्न गरिरहेको छ । सबै पक्षसँग छलफल गरी बिहीबार साँझसम्म ठोस सहमतिसहित पुरानो गठबन्धन ब्युँताउने योजना अघि बढ्न सकेको छैन । बिहीबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एस र जसपाका नेताहरूसँग छलफल गर्नुभयो । राष्ट्रपतिको विषयमा टुंगो नलागे पनि राष्ट्रपति उम्मेदवार पुरानो गठबन्धनबाट पाउनेमा कांग्रेस ढुक्क छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहनु भएको छ् । माओवादीले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने नभए पनि अधिकतम सहमति कायम गर्नुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले कांग्रेसलाई सघाउने वचन दिइसकेको दाबी कांग्रेस नेताहरूको छ ।

यसअघि कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक भेटिसकेको छ । प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर देउवा लगायतका कांग्रेस शीर्ष नेताले यसबारे छलफल गरेका थिए । बुधबार मात्र कांग्रेसले एकीकृत समाजवादी, जनता समाजवादीसँग पनि छलफल गरेको थियो । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा अघि बढाउने तयारी गरेको बताइएको छ । यद्यपि, कृष्णप्रसाद सिटौलाको नाम पनि नेताहरूले लिइरहेका छन् । यता, एमालेले भने पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा गरेको सहमति सम्झाउँदै राष्ट्रपतिमा दाबी गरिरहेको छ । त्यतिबेला एमालेको भागमा सभामुख, राष्ट्रपति परेको बताइएको थियो ।

यही अडान दोहोर्‍याउँदै ओलीले राष्ट्रपति एमालेकै हुने दाबी गर्दै आएका छन् । राष्ट्रपतिका उम्मेदवारका लागि ओलीले प्रचण्डसँग पटक-पटक भेट गरिसक्नु भएको छ । यद्यपि, ओलीले राष्ट्रपतिको उम्मेदवार को हुने भन्नेबारे केही खुलाउनुभएको छैन । एमालेले राष्ट्रपति पाउने सम्भावना क्षीण बन्दै गएपछि पुरानो गठबन्धनमा दरार उत्पन्न गराउन एमाले अध्यक्ष ओलीलाई राष्ट्रपतिमा माधव नेपालको समेत प्रस्ताव गर्नुभएको छ तर यो विकल्पमा प्रधानमन्त्री प्रचण्ड सहमत हुनुभएको छैन । जसले गर्दा राष्ट्रपतिको निर्वाचन पेचिलो बन्दै गएको छ । यता, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो दलका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लबिइङ गरिरहेको छ । राष्ट्रपतिको उम्मेदवार चयनको बेला शक्ति राष्ट्रको चलखेल पनि बढ्दो छ । यही बेला शीर्ष दलका नेताहरू अन्तिम निर्णय लिन आन्तरिक कसरतमा जुटिरहेका छन् ।

माधव नेपाललाई प्रचण्डको प्रस्ताव- नेकपा ब्युँताऔँ, तपाईँ राष्ट्रपति बन्नुहोस्
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग नेकपा ब्युँत्याएर जान सकिने बताउनुभएको छ । सिंहदरबारमा दुई नेताहरूबीच भएको छलफलमा प्रचण्डले उक्त प्रस्ताव गर्नुभएको हो । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले ‘नेकपा ब्युँत्याएर जाऔँ, तपाईं राष्ट्रपति हुनुहोस्, म प्रधानमन्त्री छँदै छु, पछि केपीजी प्रधानमन्त्री हुनुहुन्छ,’ भन्नुभएको थियो । प्रचण्डको उक्त प्रस्तावको विषयमा माधव नेपाल पनि सकारात्मक रहेको बताउनुभएको थियो । उक्त सन्देश नेपालले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पु¥याइसक्नु भएको छ ।

बिहीबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको थियो । भेटमा नेपालले नेकपा ब्युँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताएको स्रोतले जनाएको छ । ‘भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भयो’ माधवनिकट स्रोतले भन्यो, ‘अध्यक्षज्यूले नेकपा ब्युँताउने भए राष्ट्रपति बन्न तयार रहेको बताउनुभयो ।’ सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राख्नुभएको छ । पुरानो चुनावी पाँच दलीय गठबन्धन ब्युँत्याउने कुरा कांग्रेसको चाहना रहेको नेताहरूको भनाइ छ । त्यसबारे औपचारिक सहमतिमा भने उनीहरू पुगेका छैनन् । त्यहीबीचमा नेकपा ब्युँत्याउने कुरा छलफलमा आएको हो । सिंहदरबारमा भएको छलफलमा प्रचण्डले ओलीको विषयमा नकारात्मक कुरा नगरेको पनि स्रोतको भनाइ छ

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको आदेशअनुसार नेकपा विघटन भएर दुई पार्टी पहिल्यैकै रूपमा फर्केका थिए । त्यसपछि नेकपा एमालेबाट अलग भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । राष्ट्रपतिको विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्दै छ ।

कांग्रेससहितको चार दलको बैठक आज बस्दै
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले नेपाली कांग्रेससँग शुक्रबार छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा अन्तिम निर्णय गर्ने भएका छन् । बिहीबार साँझ बैठकपछि सञ्चारकर्मीहरूसँग जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने विषयमा निर्धारण हुने बताउनुभएको हो । ‘शुक्रबार हामी ३ दल र नेपाली कांग्रेसबीच छलफल गर्ने सहमति भएको छ,’ श्रेष्ठले भन्नुभयोे, ‘भोलिकै बैठकबाट नयाँ गठबन्धन बन्छ कि बन्दैन भन्ने विषयको निर्धारण हुन्छ ।’ बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले दलहरूबीच छलफल भए पनि ठोस सहमति भइनसकेको बताउनुभयो ।

‘माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मोर्चा बनाउने विषयमा छलफल भयो,’ ज्वालाले भन्नुभयो, ‘हाम्रो पार्टीको सचिवालयले कांग्रेस वा अन्य दलहरू सबै राजनीतिक सन्दर्भमा कुराकानी गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार छलफल गरिरहेका छौँ ।’ उहाँले राष्ट्रिय सहमतिको रूपमा अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए त्यसलाई अस्वीकार नगरिने बताउनुभयो । उहाँले पुरानो गठबन्धनमा ब्युँत्याउने विषयमा ठोस छलफल नभएको धारणा राख्नुभयो । यसैबीच शुक्रबार तीन दलहरूसँग छलफल गर्नुअघि नेपाली कांग्रेसले पनि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार शुक्रबार बिहान ८ बजेपछि सानेपास्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक राष्ट्रपति उम्मेदवार चयनमाथि नै केन्द्रित हुने बताइएको छ ।

राष्ट्रपतिमा प्रचण्डजीले कांग्रेसलाई समर्थन गर्न मिल्दैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताउनुभएको छ । सोमबार बालकोटमा पत्रकारसँग कुराकानी गर्दै ओलीले पूर्व–सहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड अघि बढ्ने बताउनुभयो । पुस १० गते नै नेकपा एमालेसँग राष्ट्रपतिका लागि सम्झौता भइसकेको हुँदा प्रधानमन्त्री प्रचण्डले अरू कसैलाई समर्थन नगर्ने ओलीको भनाइ छ । ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड)ले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन । किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नु भयो,’ अध्यक्ष ओलीले भन्नुभयो । गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रपति र सभामुख एमालेले लिने विषयमा कुराकानी भएकोले त्यो सहमतिबाट माओवादी पछि हट्न नमिल्ने एमालेको भनाइ छ ।
उपराष्ट्रपति नपाए गठबन्धनलाई सहयोग गर्न सकिन्न : यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरूलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताउनुभएको छ । बिहीबार माओवादी केन्द्रका नेताहरूसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयोे, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरू सकारात्मक हुुनुहुन्छ ।’ छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताउनुभयो ।

यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्धविच्छेद भइनसकेकाले राजनीति अझै तरल रहेको बताउनुभयो । यादवले आफूले एमाले अध्यक्ष ओलीसँग पनि कुरा गरिरहेको बताउनुभयो । ‘अहिले प्रचण्ड र ओलीबीच सम्बन्धविच्छेद भइसकेको छैन, झगडा मात्र परेको हो,’ यादवले भन्नुभयो, ‘अन्तिमसम्म मिल्न पनि सक्छन् ।’ चुनाव हुनुभन्दा केही दिन अघिसम्म आफ्नो दल पनि सहभागी रहेको पुरानो गठबन्धन ब्युँताउने हो भने आफूहरूको बटमलाइन उपराष्ट्रपति भएको यादवले बताउनुभयो । ‘हामीलाई उपराष्ट्रपति चाहिन्छ । उपराष्ट्रपति नदिने हो भने हामी गठबन्धनलाई सहयोग गर्न सक्दैनौँ,’ यादवले भन्नुभयो ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउनुभएको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । शुक्रबार मध्यान्ह १२ः३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने उहाँले बताउनुभयो । यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?