आज राष्ट्रपति निर्वाचनका लागि मनोनय दर्ता हुँदै

प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यहरूले मतदान गर्ने

यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं । मुलुकको राष्ट्राध्यक्षको रूपमा रहेको राष्ट्रपति पदको निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत कार्यालय खोलिसकेको छ भने आयोगले आज अपराह्न ३ बजेदेखि ४ बजे भित्रमा मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे फागुन १६ गते लिन पाउनेछन् । उम्मेदवारको अन्तिम नामावली पनि फागुन १६ गते नै प्रकाशित गर्ने तयारी छ ।

त्यस्तै, फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने तथा साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालय परिसरमा रहेको दुईटा मतदान केन्द्रमा हुनेछ ।

यसरी हुँदै छ राष्ट्रपतिको निर्वाचन
राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को ३३१ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५५० गरी कुल ८८१ कायम छ ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । संघीय संसद् र प्रदेशसभा सदस्यको मतभार पनि फरक-फरक हुनेछ ।

संविधानको धारा ६२ (१) मा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार संघीय कानुनबमोजिम फरक–फरक हुने उल्लेख छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । कुल जनसंख्यालाई संघीय संसद्का सदस्यको कुल संख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर संघीय संसद्का सदस्यको मतभार निकालिन्छ । कुल जनसंख्या (पछिल्लो राष्ट्रिय जनगणनाअनुसार) लाई प्रदेशसभा सदस्यको कुल संख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर प्रदेशसभाका सदस्यको मतभार निकालिन्छ ।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच-पाँचजना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ ।
बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।

कस्तो व्यक्ति बन्न पाउँछ राष्ट्रपति ?
राष्ट्रपतिको योग्यताबारे नेपालको संविधानको धारा ६४ मा उल्लेख गरिएको छ । संघीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ । त्यसको अर्थ महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति वा पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ । संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ ।

राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ । राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने संवैधानिक व्यवस्था छ ।

नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन २०६५ साउन ४ गते भएको थियो । उक्त निर्वाचनमा तत्काल कायम संविधानसभाका ५९४ सदस्य मतदाता भए पनि केही राजनीतिक दलले निर्वाचनमा भाग नलिएका कारण ५७८ सदस्यले मात्र मतदान गरेका थिए । उक्त निर्वाचनमा डा. रामवरण यादवले २८३ र रामराजाप्रसाद सिंहले २७० मत मत प्राप्त गर्नुभएको थियो ।

प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा डा. यादवले ३०८ मत र सिंहले २८२ मत प्राप्त गर्नुभएको थियो । डा. यादव बहुमत प्राप्त गरी नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपतिको २०७४ सालमा भएको निर्वाचनमा संघीय संसद्का ३२६ र प्रदेशसभा सदस्य ५३६ जनाले मतदान गरेका थिए । निर्वाचनमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ र कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गर्नुभएको थियो । पहिलो चरणमा नै बहुमत प्राप्त गरी भण्डारी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?