साहित्य नै लेख्नुस् डाक्टर साब !

डा. नारायण चालिसे
Read Time = 15 mins

मैले प्रायः साहित्यकै विषयमा लेखिरहेको हुन्छु । यदाकदा देशको नागरिक भएको हैसियतले देशको राजनीतिक गतिविधिमा पनि चासो राख्न मन हुन्छ र कहिलेकाहीँ लेख केही राजनीतिक विषयवस्तु जस्तो भएर आउँछ । यस्तैमा अस्तिको लेखमा नागरिक सचेतताका कुरा गर्दा कुरा नेपाली नागरिकता र रवि लामिछानेसँग जोडिन आइपुग्यो र कुरा केही राजनीतिकजस्तो पनि बन्यो । खासमा मैले साहित्य नै लेखेको थिएँ कताबाट लेखमा राजनीति घुसेछ । सायद मानिस राजनीतिक प्राणी पनि भएर होला । कलम चिप्लिएर अलिअलि राजनीतिक गन्ध आएछ । तर, कुरा राजनीतिका भन्दा पनि नागरिक सचेतताका थिए ।

साहित्यकार मित्र श्रीबाबु कार्कीले मेरो म्यासेन्जरमै कमेन्ट गर्नुभयो-‘आज नो कमेन्ट । राजनीतिक गन्ध आयो । डाक्टरसाबले साहित्य नै लेख्नुहोस् राजनीति लेख्ने धेरै छन् ।’ उहाँको यो भनाइको मैले दुईवटा अर्थ लगाएँ । पहिलो त साहित्यप्रति अभिरुचि भएको साहित्यिक पाठकले साहित्य नै लेखोस् भनेर चाहनु स्वाभाविक प्रतिक्रिया भयो । दोस्रो यो देशका सचेत नागरिक देशको वर्तमान राजनीति र यसका गतिविधिदेखि यति धेरै दिक्क भएका छन् कि राजनीतिका कुरा सुन्न वा पढ्न पनि चाहँदैनन् ।

मैले उहाँलाई केही मनोविनोदको शैलीमा उत्तर फर्काएँ ‘किन हजुरलाई पनि कतैको आश्वासन मिलेको छ र ? तर, एकेडेमीहरू त सकिए ।’ उहाँले प्रत्युत्तर गर्नुभयो ‘मलाई कतै आश्वासन छैन सर । खासमा आजसम्म कतै गएको पनि छैन त्यसरी भीख मागेर जान नपरोस् पनि ।’ त्यसपछि हामी एकछिन गफियौँ अनि कुरा टुङ्ग्यायौँ तर त्यसपछिमात्र मेरा मनमा कुरा खेल्न थाले साहित्यकै कुरा गर्दा साहित्यसँग जोडिएका कुराहरू पनि गर्न मिल्छ कि मिल्दैन ? ती कुरा लेख्न हुने हो कि नहुने हो मैले मित्रसँग सोध्न बिर्सिएँछु ।

हामी प्रज्ञा-प्रतिष्ठानहरूको कुरा गर्दा आफूलाई अनुकूल तर्कहरू मात्र गरेर पुग्दैन । प्रज्ञा-प्रतिष्ठानको गठन कसरी र किन भयो भनेर यसको इतिहास हेर्ने हो भने आफ्नो अनुकूलका तर्कहरूको उत्तर पनि आउनेछ ।

भर्खरै नेपाल प्रज्ञा-प्रतिष्ठानलगायत तीनवटा प्रतिष्ठानहरूमा प्राज्ञहरूको नियुक्ति भएको छ । मैले केही समय पहिलेको हिमालय टाइम्समा एकेडेमीहरूको रिक्त अवस्था, विगतका नियुक्तिका केही कुरा, नियुक्तिको दौडधुप र तिनमा जान इच्छुक पात्रहरूको तह, अवस्था र राज्यको दायित्वका विषयमा नै लेख लेखेको थिएँ । त्यस क्रममा आकाङ्क्षीहरूको वर्गीकरण गर्ने क्रममा राम्राभन्दा पनि हाम्राको छनौट, पार्टीका कार्यकर्ताहरूको प्राथमिकता, बेरोजगार स्रष्टाहरूलाई रोजगारी आदिको कुरा गरेको थिएँ । अहिले आएर परिणाम पनि त्यही प्रकृतिको भयो भनी प्रतिक्रियाहरू आएका छन् । एकथरि रोइलो सकिएको छ त्यहीँबाट अर्कोथरि रोइलोको थालनी भएको छ । यो विषय साहित्य त होइन तर प्रिय मित्र श्रीबाबु साहित्यसँग जोडिएको विषय भनेँ अवश्य हो ।

हामी प्रज्ञा–प्रतिष्ठानहरूको कुरा गर्दा आफूलाई अनुकूल तर्कहरूमात्र गरेर पुग्दैन । प्रज्ञा-प्रतिष्ठानको गठन कसरी र किन भयो भनेर यसको इतिहास हेर्ने हो भने आफ्नो अनुकूलका तर्कहरूको उत्तर पनि आउनेछ । तत्कालीन राजा महेन्द्रले आफ्ना अनुकूलका मानिसहरूलाई नियुक्त गरेर आफ्नै विचार र सिद्धान्तको प्रवद्र्धन गर्ने उद्देश्यले यो संस्था गठन गरेका थिए । त्यतिखेर अहिले जस्तो त्यति धेरै पार्टीहरूको खुला अस्तित्व थिएन । त्यसकारण तत्कालीन सत्ताभन्दा बाहिरका व्यक्तिहरू पनि छिटफुट रूपमा त्यही सत्तामा समाहित भएर एकेडेमी छिरेका थिए र सोही सत्ताअनुकूल नै काम गरेका थिए ।

यसरी स्थापित भएको एकेडेमीमा बेलाबेलाका सत्ता र शासकहरूले पनि एक प्रकारले आफ्नो अनुकूलकै व्यक्तिलाई नियुक्त गरेर एकेडेमी चलाउँदै आएको परिप्रेक्ष्यमा आज आएर त्यसभन्दा फरक अपेक्षा गर्नु आफैँमा अनधिकार चेष्टा नै हो । लोकतन्त्र वा गणतन्त्रपछिको प्रज्ञा-प्रतिष्ठान पनि हामीले हेर्दै, व्यहोर्दै र भोग्दै आएका छौँ । आज हामीलाई आफू वा आफ्ना मानिस नपर्दा असजिलो लागेझैँ हिजो केही व्यक्तिलाई असजिलो लागेको थियो । विगतमा हामीले के गर्‍यौं भन्ने कुरा जति महत्त्वपूर्ण थियो त्यत्तिकै महत्त्वपूर्ण हामीले हिजो के गरेनौं ? भन्ने कुरा पनि थियो । आफ्नो छायाले जहाँ गए पनि आफूलाई पछ्याउन छोड्दैन ।

आज त्यही भएको छ । आफ्नै छायाले हामीलाई लखेटिरहेको छ । अब रहृयो को मानिस आयो, को मानिस आएन वा अमुक व्यक्ति किन आएन ? निश्चय पनि एक थरि मानिस आउँदा अर्कोथरि मानिस आउन सक्दैन यो पनि सिद्ध तथ्य नै हो । तापनि मुलुका यति धेरै चर्चित, स्थापित र प्राज्ञिक दृष्टिले विशिष्ट गरिमायुक्त संस्थाहरूमा ल्याइने व्यक्तिहरूको प्राज्ञिक एवं बौद्धिक उचाइ पनि त्यस्तै प्रकारको हुनुपथ्र्यो । यद्यपि कसैको योग्यता र क्षमतामाथिको यो प्रश्न होइन । उमेरले कोही मानिस विशिष्ट बन्ने पनि होइन तर अमुक पार्टीभित्रै पनि ख्याति प्राप्त व्यक्तिहरू थिएनन् होला र यसो गरियो ?

मुलुकका प्राज्ञहरू भनेका पार्टीका जोशिला क्याडरमात्रै होइनन् सुझबुझ भएका व्यक्ति पनि हुन् भन्नेहरूका निम्ति दिइने जवाफ पनि उहाँहरूसँग होला नै । भाषा, मातृभाषा, साहित्य, लोकसाहित्य, संस्कृति, दर्शन, समाजशास्त्रलगायत समस्त वाङ्मयकै संरक्षण र प्रवद्र्धनको आधिकारिक संस्था मानिएको नेपाल प्रज्ञा-प्रतिष्ठान, सबै प्रकारका वाङ्मयिक कला र विशेषगरी ललित कलाको जिम्मेवारी लिएको ललित कला अनि सङ्गीत र नाट्य क्षेत्रको समग्र उत्थान र प्रवद्र्धनको जिम्मा पाएको सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानहरू भनेका राष्ट्रका प्राज्ञिक अनुहारहरू हुन् । यहाँ प्रकट हुने प्रतिबिम्बले राष्ट्रकै वाङ्मयलाई देखाउने हुँदा नियुक्ति जति सजिलो गरी लिनुभएको छ प्रिय प्राज्ञ महोदयहरू त्यसको गरिमा पनि त्यसरी नै सम्मानित राखेर उज्यालो अनुहार लिएर बाहिरनु होला ।

यो एकेडेमी गठन भएपछि सामाजिक सञ्जालमा व्यक्त भएका केही प्रतिक्रिया रोचक छन् । तीप्रतिक्रियाहरू सैद्धान्तिक मात्रै छैनन् । एकातिर हिजो जुनजुन सत्ता र शासनका प्रतिनिधिहरू प्रज्ञामा आएका थिए तिनै सत्ता र सिद्धान्तका व्यक्तिहरूले पनि यो नियुक्तिको प्रशंसा गरेका छन् भने अहिलेकै सत्ताका समर्थकहरूले पनि भिन्न मत राखेका छन् । यसबाट के बुझिन्छ भने न विरोध सैद्धान्तिक मात्रै छ न समर्थन सैद्धान्तिक मात्रै छ । अर्थात् विरोध र समर्थनहरू व्यक्तिगत छन् । अघिल्लो सत्ताबाट प्रशस्त लाभ लिएकाहरूले पनि यो नियुक्तिको समर्थन गरेका छन् ।

हिजोको नियुक्तिबाट केही लाभ नलिएकाले पनि यो नियुक्तिको विरोध गरेका छन् । समर्थन गर्नेहरू पनि यसै प्रकृतिका छन् । अर्थात् मानिस सर्वप्रथम व्यक्तिगत छ त्यसपछि मात्र संस्थागत वा सैद्धान्तिक छ । केही व्यक्तिहरू छन् जसले हिजो पनि केही प्राप्त गरेनन् र अब पनि केही पाउने अपेक्षा गरेका छैनन् । ती या त निश्पृह छन् या निश्पक्ष छन् । यस्ता नियुक्तिका केही आधार, केही तर्क र केही तथ्यहरू पनि होलान् र हुनुपर्दछ । यो नियुक्तिका कुरा गर्दा पनि ती तर्क र तथ्यहरूको उपयोग गरिए होला । लिङ्ग, वर्ण, वर्ग, जात, सिद्धान्त, भूगोल, क्षेत्र, विषय, योग्यता, विज्ञता, क्षमता, सत्ता, व्यक्ति, प्रवृत्ति आदि यावत् पक्ष छन् जसले यस्ता नियुक्तिलाई प्रभाव पार्दछ ।

अरू धेरैतिर सुहाए पनि देशको प्राज्ञिक पहिचानको प्रतिनिधित्व गर्ने संस्थामा केही गम्भीरता अपनाएकै भए राम्रो हुन्थ्यो । हामीले हिजो जे गर्‍यौं आज त्यसैको प्रतिफल पायौं भनियो भने जस्तालाई त्यस्तै भन्ने ओठे जवाफ आउला ।

समावेशी सत्तामा समावेसी वाङ्मय र समावेशी वाङ्मयसेवी प्रतिनिधित्व हुनु स्वागतयोग्य कुरा हो । नियुक्तिको बेला तर्कहरूको प्रयोग गरिए होला तर त्यहीँ पनि समावेशी प्रकट हुन सकेन भन्ने पनि चर्चा छ । मुलुकको विद्यमान अवस्था र यथार्थका बीचमा प्रज्ञा-प्रतिष्ठान जस्ता संस्थाहरू अलि सम्मानित पनि रहनुपर्छ भन्ने तथ्यलाई भने त्यति महत्वले हेरेको पाइएन भन्ने गुनासोको सम्बोधन कहिले होला ? यद्यपि हिजैदेखि प्रभाव पार्दै आएका यी विषयमा हिजोको सत्ताको सिको अहिलेको सत्ताले पनि ग¥यो होला । जसले हान्यो उसले जान्यो भने जस्तै हो त प्राज्ञिक सत्ता पनि ?

अरू धेरैतिर सुहाए पनि देशको प्राज्ञिक पहिचानको प्रतिनिधित्व गर्ने संस्थामा केही गम्भीरता अपनाएकै भए राम्रो हुन्थ्यो । हामीले हिजो जे गर्‍यौँ आज त्यसैको प्रतिफल पायौँ भनियो भने जस्तालाई त्यस्तै भन्ने ओठे जवाफ आउला । मूल कुरा व्यक्तिले के पायो वा के पाएनभन्दा पनि राष्ट्रले के पाउने के गुमाउने ? भन्ने हो । त्यसतर्फ जुनकुनै सत्ताले पनि सोच्नुपर्ने हो जुन कुरा हिजैदेखि हामीले गर्न सकेनौं । त्यसैको प्रतिफल आज हामीले भोग्दै छौं । जे भयो ठीक भयो भन्ने र जे भयो ठीक भएन भन्ने दुई थरि विचारका बीचमा अहिले गठित प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीहरू परेका छन् ।

अब उनीहरूले हिजोको प्रतिशोध साध्ने कि यी आग्रह पूर्वाग्रहहरूलाई पर सारेर देश अनुकूल आफ्नो कर्तव्य र इमानदरी प्रयोग गरेर अघि बढ्ने भन्ने चुनौतीको सामना गर्नुपर्ने छ । अवश्य पनि फराकिलो छाती पारेर हिँड्न, मन माझेर व्यवहार गर्न, विचारको सङ्कीर्णताबाट माथि उठ्न, उदार दृष्टि राखेर अघि बढ्न त्यति सजिलो नहोला तर अविश्वासको मझेरीमा उभिएर विश्वासिलो इतिहास रच्न केही त्याग गर्नैपर्छ । त्यसैले प्रिय स्रष्टाहरू जसरी आउनु भएको छ त्यसरी नै जान त्यति केही गर्नुपर्ने छैन तर आफैँ हिँडेको बाटोमा पनि सन्देह गर्न वा प्रश्न गर्न सक्नुभयो भने इतिहासले सम्मान गर्नेछ । आगे तपाईंहरू जान्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?