२५ गतेपछि पनि प्रधानमन्त्रीमा प्रचण्ड नै रहिरहनु हुन्छ : धनराज गुरुङ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहालको निरन्तरता हुने बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रपतिको निर्वाचन पछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नै रहनुहुने बताउनुभएको हो । प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘२५ गते पछिपनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ । त्यसो भएपति अस्थिर कसले भन्ने ? प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो । धेरै पहिलादेखि भनेको थिँए, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो ।’

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताउनु भयो । उहाँले एमालेले सरकार नछाडेको अवस्थामा आफूहरुले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘उम्मेदवारको रुपमा रामचन्द्रजी जत्तिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भुमिका अत्यन्त महत्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ, त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रको रुपमा हामीहरुले लिएका छौँ । र मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ भनेपनि हुन्छ । सरकारमा एमालेले के गर्छ ? अहिले त छोडेको छैन एमालेले । एमाले सरकारमा हुँदाहुँदै हामी कसरी सरकारमा जाने ? सरकार त पुरै छ नि त । त्यसै जाने भनेर त जाने होइन नि सरकारमा ।’

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जाने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अधिकतम दलको सहमति भएको । त्यसकारण सहामति नै हो यो । उपराष्ट्रपति बारेमा निर्णय हुन सकेको छैन । राष्ट्रपतिको निर्वाचन के– के छ सबै भएपछि स्वभाविक हो पार्टी त सरकारमा जान्छ नै ।’

जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ रहनुभएको बताउनु भयो । उहाँले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताउनु भयो । पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाई छ ।

उहाँले भन्नुभयो – ‘उहाँ चर्चा भइरहेका उम्मेदवारहरुमा राम्रा उम्मेदवार, उत्तम उम्मेदवार हो । हाम्रो प्रयास थियो यसमा राष्ट्रिय सहमती होस् । अहिले अधिकतम सहमतिको उम्मेदवार उहाँ हुनुहुन्छ । त्यसैले यो व्यवस्था र संविधानको रक्षकको रुपमा उहाँको भुमिका सफल हुन्छ भन्ने सोँचका साथ उम्मेदवार बनाएका हौँ । उहाँ सर्वश्रेष्ठ उम्मेदवार हुनुहुन्छ । अब यो संविधान राष्ट्रपतिबाट पदीय दुरुपयोग हुँदैन । तलमाथि हुँदैन । व्यवस्थाको रुपमा पनि अगाडी जान्छ र उहाँले संविधानको रक्षा गरेर यसलाई समृद्ध बनाएर अगाडी बढ्नुहुन्छ । र पदीय मर्यादा र गरिमालाई उहाँले बढाउनुहुन्छ ।’

उहाँले आफूहरुले उपराष्ट्रपतिको उम्मेदवार निश्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?