पर्यटन प्रवद्र्धन गर्न ‘ताप्लेजुङ-दार्चुला बाइक टुर’

Read Time = 5 mins

काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पाँचजनाको एक टोलीले पूर्वीनेपालको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म बाइक यात्रा गरेको छ । पर्यटन पत्रकार तथा कलाकारसहितको टोलीले ‘ताप्लेजुङ-दार्चुला बाइक टुर’ जेठ १० देखि जेठ २५ गतेसम्म गरेको हो । चारजना पत्रकार र एकजना कलाकार सम्मिलित टोलीले छ प्रदेशका करिब ४५ जिल्ला पार गर्दै चार हजार किलोमिटरभन्दा लामो दूरीको यात्रा गरेको छ । यात्राका क्रममा टोलीले स्थानीयवासी, संघसंस्था तथा पालिकासँग छलफलसमेत गरेको छ । यात्राका संयोजक विष्णु विवेक विश्वकर्माले नेपालमा पर्यटन प्रवद्र्धनका लागि नयाँ दृष्टिकोणबाट सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ यात्रा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन प्रवद्र्धन, जलवायु परिवर्तनको असर र दिगो पर्यटन विकासको मुद्दा बोकेर हिँडेका हौँ, ठाउँ-ठाउँमा उद्देश्यअनुरूप सरोकारवालासँग छलफल पनि गर्‍यौँ ।’ जेठ १४ गते सुदूरपूर्वी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङबाट औपचारिक यात्रा सुरु गरेको टोलीले १०औँ दिनमा सुदूरपश्चिमको दार्चुला पुगेर पत्रकार सम्मेलन गरेको थियो । दार्चुलाको सदरमुकाम खलंगा प्रवेश गरेको टोलीले दुहुँ गाउँपालिका २ स्थित हिकिला गाउँमा पुगेर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँग सो क्षेत्रमा पर्यटनको सम्भावना र चुनौती, पर्यटकीय आकर्षण, प्रवद्र्धन, जलवायु परिवर्तनलगायत विषयमा अन्तरक्रिया गरेको थियो ।

सो अवसरमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले पत्रकार र कलाकार सम्मिलित टोलीको यात्राले दार्चुलामात्रै नभएर समग्र देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभएको थियो । टोलीले यसरी नै पाँच प्रदेशका विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिलगायत सरोकारवालासँग पर्यटन प्रवद्र्धन, पर्यटनमा जलवायु परिवर्तनको असरलगायत विषयमा छलफल गरेको छ । कोशीको ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको लुम्बिनी, बर्दिया र सुदूरपश्चिम प्रदेशको दार्चुलामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक निकायका पदाधिकारी, उद्योग वाणिज्य संघ, हान, नाट्टा, टानलगायतका प्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गरेको हो ।

आयोजकले टोलीको यात्रा ऐतिहासिक भएको भन्दै नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने दाबी गरेको छ । मेची महाकाली यात्रा सबैले गर्ने भए पनि दार्चुला ताप्लेजुङको यात्रा गर्न मध्यपहाडी लोकमार्गको यात्रा सहज छैन । एनटिपी मल्टिमिडिया ग्रुपको संयोजन र नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, हान, नाट्टा, टानलगायतकोे सहकार्यमा टुरको आयोजना गरिएको थियो । टोलीको संयोजक विष्णु विवेक, चन्द्र तामाङ, राजाराम पौडेल, पवित्रा खड्का, चन्द्रकला कार्की दार्चुलादेखि ताप्लेजुङको पूर्ण यात्रामा सहभागी भएका थिए भने केही राइडर बीच-बीचमा सहभागी हुने र छुट्ने क्रम पनि चलेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?