साउदीमा रोनाल्डोको अर्को हृयाट्रिक

Read Time = 4 mins

रियाद । साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोले अर्को हृयाट्रिक पूरा गर्नुभएको छ । उहाँको टोली अल नासरले डेमाक एफसीलाई तीन-शून्य गोलअन्तरले पराजित गर्दा उहाँले तीनवटै गोल गर्नुभयो । रोनाल्डोले पहिलो हाफमै हृयाट्रिक पूरा गर्नुभएको थियो । खेलको १८औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । २३औँ मिनेटमा सुल्तान अल घनामको पासमा रोनाल्डोले दोस्रो गोल गर्नुभयो । यस्तै, ४४औँ मिनेटमा रोनाल्डोले एमनको पासमा हृयाट्रिक पूरा गर्नुभएको थियो ।

रोनाल्डोले यो करिअरको ६२औँ हृयाट्रिक पूरा गर्नुभएको हो । यसअघि रोनाल्डोले अल वेहदामाथि चार-शून्यको जितमा हृयाट्रिकसहित सबै चार गोल गर्नुभएको थियो । रोनाल्डोले अल नासरबाट ६ खेल खेल्दा आठ गोल र दुई असिस्ट प्रदान गरिसक्नुभएको छ ।

यस जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । अल नासरले दोस्रो स्थानको अल इतिहादलाई दुई अंकले पछि पारेको छ । पराजित डेमाक २२ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।
यता, जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखलाई पछि पार्दै बोरुसिया डर्टमुण्ड शीर्षस्थानमा उक्लिएको छ । डर्टमुण्ड घरेलु टोली होफेनहाइनलाई एक–शून्यले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । डर्टमुण्डको जितमा खेलको ४३औँ मिनेटमा जुलियन ब्रान्ड्टले निर्णायक गोल गर्नुभएको थियो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको डर्टमुण्डको २२ खेलबाट ४६ अंक पुगेको छ । एक खेल कम खेलेको बायर्न र युनियन बर्लिनको समान ४३ अंक छ । पराजित होफेनहाइन १९ अंक जोडेर १६औँ स्थानमा छ ।
स्पेनिस ला लिगाको ‘म्याड्रिड डर्वी’ बराबरीमा टुंगिएको छ । रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले एक–एक गोलको बराबरी खेलेका हुन् । ७८औँ मिनेटमा जोश जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाउनुभएको थियो । त्यसको पाँच मिनेटमा नै अल्भारो रोड्रिग्वेजले बराबरी गोल फर्काउनुभयो ।

यस बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलले २३ खेलबाट ५२ अंक जोड्दा शीर्षस्थानको बार्सिलोनासँग सात अंकले पछि परेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५९ अंक छ । एट्लेटिको ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?