सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को आज कार्यालय निरीक्षण तथा भेटका क्रममा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताउनुभयो ।

उहाँले नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले त्यसको परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले नेपालको परिवर्तन र जागरणमा रेडियोको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै अब सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराध भइरहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले कानुन साक्षरतामा सहयोग पुग्ने सामग्री निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले सङ्घीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । सो क्रममा मन्त्री शर्माले सामुदायिक सूचना नेटवर्क (सिआइएन)को पनि निरीक्षण गर्नुभएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?