माथिल्लो माछाखोलाबाट विद्युत् उत्पादन सुरु

Read Time = 6 mins

काठमाडौं । गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजना प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहबीच विद्युत् आयोजनाको भर्चुअलरूपमा टर्वाइन सञ्चालन गरी उद्घाटन गरिएको हो ।

सो अवसरमा उहाँले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा अवस्थित विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको दाबी गर्दै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको बताउनुभयो । साथै उहाँले आयोजनाले स्थानीयलाई रोजगारको प्रत्याभूत गराएकोमा लगानीकर्तालाई धन्यवादसमेत दिनुभयो । प्रधानमन्त्रीले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भन्दै अब भने स्थायित्व हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको दाबी गर्दै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको बताउनुभएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिने र त्यसपछि विकास निर्माणको काममा लाग्ने उहाँको भनाइ थियो । संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका एउटा नयाँ आधार तयार भएको भन्दै उहाँले गोरखाका जनप्रतिनिधिको हैसियतले लगानीकर्ताहरूलाई विशेष धन्यवाद दिनुभयो । आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अघि बढाउने विश्वास लिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले जलविद्युत् क्षेत्रमा संलग्न गैरआवासीय नेपाली र स्थानीय लगानीकर्ताको योगदानको प्रशंसा गर्दै एनआरएनएलाई थप लगानी गर्न आग्रहसमेत गर्नुभयो । उहाँले १३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माणका लागि सरकारले तत्काल काम सुरु गर्ने आश्वासन दिनुभयो । सो अवसरमा गोर्खा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगार्इंले गोरखाका विविध समस्याबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै १३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माण तत्कालै गर्नुपर्ने बताउनुभयो । ट्रान्समिसन लाइन नबन्दा धेरै आयोजना प्रभावित भएको उहाँको भनाइ थियो ।

गोरखा जिल्लाको दुर्गम गाउँमा निर्माण भएको हाइड्रोमा गैरआवासीय नेपालीको लगानी रहेको एनआरएनएका सचिव एवं हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले बताउनुभयो । कार्यक्रममा विकास हाइड्रोका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, एनआरएनएका कोषाध्यक्ष लोकप्रसाद दाहाल, सुनिल शर्मा, रामजी बगाले, सन्तोष कोइराला, मणि गुरुङ, बालकृष्ण खड्का, ईश्वर सापकोटालगायतको उपस्थिति थियो ।

धार्चे गाउँपालिकामा रहेको बुढीगण्डकी नदीको सहायक नदी माछाखोलामा करिब एक अर्ब लगानीमा निर्माण सम्पन्न भएको आयोजनामा प्रवद्र्धकको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौताअनुुसार २०८० असार ३० गते विद्युत् उत्पादन सम्पन्न गर्ने लक्ष्य रहे पनि सोभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो । आयोजनाले निर्माण अवधिमा सो क्षेत्रका एक सय ५० भन्दा बढी स्थानीयलाई रोजगारी प्रदान गरेको थियो भने निर्माणपछि २०० भन्दा बढीले रोजगारी पाएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?