सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अलपत्र

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । निर्मांण सुरु गरेको सात वर्ष वितिसक्दा पनि अलपत्र अवस्थामा छोडिएको म्याग्दीको बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन पछिल्लो समय हेर्दै डरलाग्दो देखिन थालेको छ ।

निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र वाहिरको भागमा झार र बुट्याएन पलाएको छ । भवनमा कालो लेउ लागेको छ भने निर्माण सामाग्री यत्रतत्र छरिएको छ । झट्ट हेर्दा डरलाग्दो देखिने यो निर्माणाधिन भवनलाई स्थानीयले भूत बंगला भन्न थालेका छन् ।

२०७३ साल पुसमा तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको उक्त भवन सात वर्ष वितिसक्दा पनि निर्माण पुरा नहुँदा अलपत्र अवस्थामा रहेको हो ।

२० मंसिर २०७६ भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको तीन वर्ष बितिसक्दा समेत अस्पतालको भवन निर्माण योजनाका काम करिब करिब ६५ देखि ७० प्रतिशत मात्रै सकिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले बताउनुभयो ।

शक्तिशाली ठेकेदारले अटेर गर्दा ५० शैयाको निर्माणाधीन बेनी अस्पतालको भवन अलपत्र परेको उहाँको भनाइ छ ।

निर्माण व्यवसायी हराएको सूचनासहितको तस्बिर सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्रीसहित विभागीय मन्त्रीलाई ध्यानाकर्षण, ठेकेदारलाई पटक पटक लिखित ताकेतालाई समेत नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष एवम् ठेकेदार रवीसिंहल श्रेष्ठले अटेर गरेपछि भवनले गति लिन नसकेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

“ठेकेदारले विभागीय निर्देशनलाई समेत अटेर गरेको देखिन्छ” अध्यक्ष सुबेदीले भन्नुभयो ।

केहीदिन अघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका सांसद हरि भण्डारीसहितको टोलीले अलपत्र भवनको अनुगमन गरी सम्बन्धित निकायलाई चालु आवभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ ।

केही दिन अगाडी प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत भेटेर अलपत्र भवनका बारेमा जानकारी समेत गराइएको प्रदेश सांसद हरि भण्डारीले बताउनुभयो ।

“प्रधानमन्त्रीको सचिवालयबाटै दवाव दिइरहेका छौ, अब काममा फर्किने संकेत देखिएको छ” सांसद भण्डारीले भन्नुभयो ।
अस्पतालले भवन समयमै नसकिँदा अस्थायी संरचनाबाटै स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । अस्पतालको निर्माणाधीन भवन भूत बंगला जस्तै देखिन्छ ।

बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्रलगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने गरेका अस्पतालले जनाएको छ । भवन निर्माण आयोजना कार्यालय बागलुङले भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई काम गरे भन्दा ७१ लाख बढी भुक्तानी दिएको महालेखाको ५९ र्औ प्रतिवेदनमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?