प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने काँग्रेस संसदीय दलको निर्णय

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आईतवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रश्तुत गर्नुहुने विश्वासको मतको प्रश्तावको पक्षमा रहने स्पष्ट पार्नुभयो ।

उहाँले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताउनु भयो । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै काँग्रेस सरकारमा सहभागी हुने बताउनु भयो । बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई ज्ञापनका साथै सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले राष्ट्रपतिमा निर्वाचित सम्माननीय रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित सम्माननीय रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । उहाँहरुको कार्यकालको सफल शुभकामना दिने निर्णय गरेको छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय र सञ्चारमाध्यमहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । कार्य सम्पादन समितिको निर्णयलाई मध्यनजर गरी नेपालको संविधानको धारा १०० को (२) बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले भोलि विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रश्ताव प्रश्तुत गर्ने कार्यक्रम छ । नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रश्तुत गर्नुहुने विश्वासको मतको प्रश्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप काँग्रेस संसदीय दलका सांसदहरुलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।’

काँग्रेस संसदीय दलको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलतालाई मध्यनजर गरी धन्यवाद ज्ञापन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?