राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायत लेबर पार्टीका सांसद बीरेन्द्र शर्माले भेट गर्नु भएको छ ।

सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो । जनस्तरको सम्बन्धलाई अझ बढि सुमधुर बनाउने सक्ने भएकाले कार्यक्रममार्फत् दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरुबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनु भयो ।

भेटपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले द्धिपक्षीय सम्बन्धमा विविध विषयमा पनि उहाँसँग कुरा भएको बताउनु भयो । त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गर्नु भएको थियो । त्यसैगरी बेलायतसँग नेपालको सिँधै हवाई हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरुको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्नेलगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘खास गरेर द्धिपक्षीय सम्बन्धका बारेमा नै हामीले कुराकानी गर्‍यौं । दुई देशको संसदहरुको सम्बन्धलाई अगाडि बढाउने, नेपाल र बेलायतको बीचको सम्बन्ध स्थापना भएको सय वर्षको चल्दैछ । यस अवसरमा सरकारहरुले पनि कार्यक्रमहरु संचालन गर्लान । तर अव पार्लियामेन्टबाट पनि जनस्तरको सम्बन्धमा पार्लियामेन्टबाट अझ बढि हुन्छ । यसकारण त्यस्तो कार्यक्रम राखौं भनेर मैले बेलायत भ्रमणको बेलामा पनि बेलायतको स्पिकरसँग कुरा गरेको थिए । त्यही कुरालाई अव व्यवस्थित गरौं । नेपालका एउटा कार्यक्रम आयोजना गराैं । र, उहाँ चाँही नेपालको भ्रमण गरेर त्यसको चिफ गेष्ट भईदिनुस भनेर मैले आग्रह गरेँ । दुई पक्षीय हितको बारेमा नेपाल एयरलाईन्स युरोपियन आकाशमा बन्द छ । त्यसकारण त्यसलाई ओपन गराउनका लागि सहयोग गरिदिनुस भनेर भन्ने कुराहरु पनि हामीले राख्यौं । र, नेपालमा अव राजनीतिक हिसावले पनि स्थायित्व हुँदै गएकाले नेपालमा लगानीको वातावरण बनेको छ । खासगरी ऊर्जा, जलस्रोत क्षेत्रमा पर्यटनको क्षेत्रमा लगानी प्रवर्द्धन गर्न सकिन्छ । बेलायती उद्यमीहरुलाई लगानीका लागि वातावरण बनाउने, पर्यटन पर्यटनको क्षेत्रमा विकास गराउने, सिधैं एयरलाईन्सहरुको उडान गर्नुका साथै नेपालमा पर्यटकहरु आउने कुराहरु हुन्छ । र, नेपाली विद्यार्थीहरुलाई बेलायतमा अध्ययन गर्नका लागि पनि वातावरण अरु सहज बनाउने कुराहरुमा कुराकानी भयो । छलफल भयो ।’

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरुमा नेपालको हवाई सेवा संचालनका लागि पहल गरिदिन पनि सांसद शर्माको ध्यानाकर्षण गराउनु भएको थियो । सांसद शर्मा नेतृत्वको टोलीले यस अघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?