म्याड्रिडमाथि बार्सिलोनाको जित

Read Time = 3 mins

बार्सिलोना । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडलाई २-१ ले पराजित गरेको छ । बार्सिलोनाको जितमा सजी रोबर्टाे र फ्रान्क केस्सीले १-१ गोल गर्नुभयो । खेलको नवौँ मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलबाट बार्सिलोना पछि परेको थियो । ४५औँ मिनेटमा सर्जी रोबर्टाेले बराबरी गोल फर्काउनुभयो । ८१औँ मिनेटमा मार्काे एसेन्सियोले गोल गर्नुभएपछि भिएआरबाट मान्यता पाएन । खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गर्दै बार्सिलोनालाई जित दिलाउनुभयो ।

यस जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई हराउन सफल भएको छ । १६ अक्टोबर २०२२ मा ३-१ को जित निकाले यता रियलले जित निकाल्न सकेको छैन । यस जितसँगै बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता लिँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । पराजित रियलको ५६ अंक छ ।

यता, प्रिमियर लिगमा फुलहममाथि ३-१ को पुनरागमन जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको अन्तिम चारमा प्रवेश गरेको छ । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा मार्सेल सवित्जरले एक-एक गोल गर्नुभयो । फुलहमका एलेक्सान्डर मित्रोभिचको गोल सान्त्वना बन्यो ।

खेलको ५०औँ मिनेटमा मित्रोभिचले गोल गर्दै फुलहमलाई १-० को अग्रता दिलाउनुभयो । ७२औँ मिनेटमा फुलहमका विलियम र मित्रोभिचले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपर्‍यो ।

त्यसपछि ७५औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसको दुई मिनेटपछि नै मार्सेल सवित्जरले युनाइटेडका लागि दोस्रो गोल गर्नुभयो । त्यसपछि इन्जुरी समयमा बु्रनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई ३-१ को जित दिलाउनुभयो ।

योसँगै एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि म्यानचेस्टर सिटी, ब्राइटन र सेफिल्ड युनाइटेड सेमिफाइनलमा पुगिसकेका छन् । अब सेमिफाइनलमा ब्राइटन र म्यानचेस्टर युनाइटेड तथा म्यानचेस्टर सिटी र सेफिल्डबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल २२ अप्रिलमा तथा फाइनल ३ जुनमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?