शपथसँगै उपराष्ट्रपति यादवद्वारा पदबहाली

Read Time = 6 mins

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गर्नुभएको हो । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रवीण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयको तर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गर्नुभएको थियो । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गर्नुभएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराउनुभएको थियो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रथम राष्ट्रपति डा. रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो । यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

चैत ३ गते भएको निर्वाचनमा यादवले एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराउनुभएको थियो । जसपाबाट उम्मेदवार बन्नुभएका यादवलाई कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको साथ थियो । तर, उहाँले उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै जसपा पार्टी र सांसद पदबाट राजीनामा दिइसक्नु भएको छ ।

उपराष्ट्रपति यादव यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्रीसमेत हुनुहुन्थ्यो । यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व. प्रसादराय यादव र आमा स्व. सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा-८ बसवरियामा भएको हो । उहाँका दुई दाजुभाइ तथा तीन दिदीबहिनी हुनुहुन्छ । साथै श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँ विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको महासचिव हुनुभएको थियो । यादव गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालमा पनि बारा-२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा संकायमा स्नातक अध्ययन गर्नुभएका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो । नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका उहाँ उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उहाँ २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो ।

यादव २०५९ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध हुनुभएको हो । त्यसपछि उहाँ २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य हुनुभएको थियो भने विसं २०६५ मा उहाँ पार्टी महासचिव हुनुभयो । उहाँ विसं २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य हुनुभएको थियो । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?