बालविवाह रोकथामका लागि प्रदेश स्तरीय रणनीतिक योजना बनाइँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीका दशवटै जिल्लामा बालविवाह रोकथाम गर्नका लागि प्रदेश स्तरीय रणनीति बनाउने भएको छ ।

वालविवाह बिषयमा रणनीतिक योजना बारे जुम्लाका आठवटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत र महिला शाखाका प्रमुख र जिल्लाका सरोकारपालासंग छलफल गरेको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले बताउनुभयो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालय जुम्लाका आयोजनामा जिल्लामा रणनीतिक योजनाको मस्यौदामा छलफल गरिएको छ ।
कार्यालय प्रमुख चौलागाईले भन्नुभयो, “मन्त्रालयले बालविवाह अन्त्यको लागि प्रादेशिक रणनीतिक योजनाको मस्यौदा बनाइएको छ । त्यसका लागी मन्त्रालयले अहिले सुझाव संकलन गरिरहेको छ । मन्त्रालयको टोली अहिले जुम्ला पुगेको छ ।'' सोही अवसरमा सदरमुकाम खलंगामा विभिन्न विषयगत समुह मार्फत सुझाव संकलन गरेको कार्यालय प्रमुख चौलागाईको भनाइ छ ।  दिगो विकास लक्ष्य अनुसार २०३० सम्म बालविवाह मुक्त मुलुक घोषणा गर्ने सरकारको लक्ष्य अनुसार कर्णाली प्रदेशलाई केही वर्षमै बालविवाहमुक्त बनाउने अभियान अन्तर्गत आठवर्षे प्रादेशिक रणनीति योजनाको मस्यौदा तयार गरिएको छ ।

रणनीतिमा बालविवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय नीति र प्रतिबद्धता, कर्णाली प्रदेशमा बालविवाहको अवस्था, बालबालिकाको सहभागिता,कानुनको प्रावधान, असल अभ्यासको सबलीकरण, स्थानीय तहमा कार्यान्वयन लगायतका विषय प्रादेशिक रणनीतिक योजनामा समेटिएको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख अनीता ज्ञवालीले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा बालविवाह अन्त्य गर्ने लक्ष्य अनुसार प्रदेश नीति र बजेटमा सहयोग गर्ने र कर्णालीका ७९ वटै स्थानीय तहले कार्यान्वयन गर्ने गरी बालविवाह अन्त्यको प्रादेशिक रणनीतिक योजनाको मस्यौदा तयार भएको छ ।

जिल्लागत रुपमा जुम्लाबाट शुरु भएको सुझाव संकलन सवै जिल्लामा लिने र आएका सुझाव सल्लाहलाई समेटिने मन्त्रालयका महाशाखा प्रमुख ज्ञवालीको भनाइ छ । गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार अहिले कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह हुने गरेको जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?