भुटानसँगको हारबाट जोगियो नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ । खेलको अन्तिम समयमा दिपक राज सिंह ठकुरीले बराबरी गोल गरेपछि नेपालले फाइनलमा लाओससँगको भेट पक्का गरेको हो ।

पहिलो हाफमा भुटानले नेपालविरुद्ध अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडरमार्फत गोल गर्नुभएको थियो । त्यसपछिका पटकपटकका प्रयास सफल हुन सकेनन् । २९ औं मिनेटमा पुजन उपरकोटीले गरेको प्रहार बाहिरिएको थियो ।

दोस्रो हाफमा अघिल्लो खेलका गोलकर्ता स्ट्राइकर नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगी मैदान प्रवेश गर्नुभएको थियो । तर, उहाँको पनि खासै प्रभाव देखिएन । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै अर्का स्ट्राइकर अन्जन विष्टले गोलरक्षकसँग जुध्दैै घाइते भएर मैदान छोड्नु परेको थियो । उहाँको स्थानमा मैदान प्रवेश गर्नुभएका दिपक राज सिंह ठकुरीले नेपाललाई पराजित हुनबाट जोगाउनुभएको हो ।

९० औं मिनेटमा दिपकले नेपालका लागि बराबरी गोल गर्नुभएको थियो । निशान खड्काको कर्नरमा अनन्त तामाङले दिएको हेडर पासलाई दिपकले पनि हेडरमार्फत नै खाली पोस्टमा गोल गर्नुभएको थियो ।

यससँगै नेपाल र लाओस फाइनल खेल्ने भएका छन् । नेपाल चार अंकसहित शीर्षस्थानमा रहँदा लाओस तीन अंकले दोस्रो भयो । भुटान एक अंक जोड्दै समूह चरणबाट बाहिरियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?