जर्मनीले दियो युक्रेनलाई लियोपार्ड-२ ट्यांक

Read Time = 2 mins

बर्लिन । जर्मनीले युक्रेनलाई लियोपार्ड-२ ट्यांक प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धता अनुसार लियोपार्ड-२ ट्यांकको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी टोलीलाई लियोपार्ड-२ ट्यांक प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ अत्याधुनिक युद्ध ट्यांक पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले जानकारी गराउनुभएको छ ।

गएको जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड-२ ट्यांक प्रदान गर्ने आश्वासन दिएको थियो । ‘हाम्रा युक्रेनी साथीहरूले ट्यांक प्राप्त गर्नुभएको छ । लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्यांक प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो’, रक्षामन्त्री पिस्टोयिसले भन्नुभएको छ ।

बेलायतले प्रदान गरेका च्यालेन्जर-२ ट्यांक पनि युक्रेन पुगेका छन् । गतवर्ष रुसले आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारीसाधन र हतियार मागेको थियो । लियोपार्ड-२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेन्जर-२ ट्यांक प्राप्त गरेको पुष्टि गरेको छ ।

बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेन्जर–२ ट्यांक युक्रेन पुगेको जानकारी दिनुभएको छ । उहाँले युक्रेनी सैन्य टोलीले बेलायतमा ट्यांक सञ्चालनको तालिम लिएको बताउनुभएको छ । यद्यपि, उहाँले लियोपार्ड–२ बारे कुनै जानकारी दिनुभएन । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?