ज्येष्ठ नागरिकको संख्या बढ्यो, सुविधा बढेन

रत्न प्रजापति
Read Time = 17 mins

विश्वमा ज्येष्ठ नागरिकको संख्या बढेसँगै उनीहरूप्रतिको दायित्व निर्वाहका लागि संयुक्त राष्ट्रसंघ प्रयत्नशील रहँदै आएको छ । ज्येष्ठ नागरिकको व्यवस्थापन, उनीहरूको पालनपोषण र उनीहरूको सुरक्षित र मर्यादित जीवयनयापनको विश्वव्यापी प्रयासमा सबै मुलुकलाई समेट्ने प्रयास पनि संघले गर्दै आएको छ । विशेषगरी विश्वभरिका ज्येष्ठ नागरिकको जीवनयापनलाई सुरक्षित र मर्यादित बनाउने र उनीहरूप्रति सम्मान जनाउने उद्देश्यले संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको घोषणा पनि गरेको छ । संयुक्त राष्ट्रसंघको सन् १९९० डिसेम्बर १४ मा बसेको महासभाले प्रस्ताव गरेअनुसार हरेक वर्ष अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने निर्णयानुसार सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो । नेपालले पनि विभिन्न औपचारिक कार्यक्रम गर्दे यो दिवस मनाउने गरेको छ ।

पछिल्लो समय नेपालमा पनि ज्येष्ठ नागरिकको संख्या बढिरहेको छ । स्वास्थ्यसेवामा भएको विकास र विस्तारले नेपालीहरूको औसत आयुमा पनि क्रमशः वृद्धि भइरहेको छ । यसैको फलस्वरूप ज्येष्ठ नागरिकको संख्या बढ्ने क्रम जारी छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या २१ लाख ५४ हजार थियो । यो कुल जनसंख्याको ८.१३ प्रतिशत हो । साथै ज्येष्ठ नागरिकहरूको जनसंख्या वृद्धिदर ३.०७ प्रतिशत रहेको थियो । पछिल्लो राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको संख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ, जुन कुल जनसंख्याको १०.२१ प्रतिशत हो ।

यसरी तुलनात्मकरूपमा हेर्दा दश वर्षको अवधिमा ज्येष्ठ नागरिकहरूको संख्या ८ लाखभन्दा धेरै बढेको देखिन्छ । साथै यो आँकडाबाट नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या क्रमशः बढिरहेको देखिन्छ । नेपालजस्तो सानो अर्थतन्त्र भएको गरिब मुलुकमा बढ्दो संख्यामा रहेका ज्येष्ठ नागरिकको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।

जीवनको ऊर्जाशील समयमा घरपरिवार, समाज र राज्यको उन्नति, प्रगति र समृद्धिका लागि यथेष्ट योगदान गरिसकेका ज्येष्ठ नागरिकहरूलाई यी सबै तह र तप्काले उचित कदर तथा सम्मान गर्नसक्नुपर्ने हो । तर, विडम्बना उनीहरूका लागि अपरिहार्य सेवा उपलब्ध गराउन कन्जुस्याइँ भएको छ ।

अहिलेको विश्वपरिप्रेक्ष्यलाई मध्यनजर गर्दा शिक्षा आर्जन, व्यक्तित्व विकास र आय आर्जनका लागि घरपरिवारका तन्नेरी पुस्ता अति व्यस्त हुने अथवा घरपरिवारबाट टाढा हुने प्रवृत्ति बढेको छ । यसले गर्दा पेशागत जीवनबाट निवृत्त भइसकेका अथवा अवकाशप्राप्त अथवा क्रियाशील जीवनबाट अलग भइसकेका ज्येष्ठ नागरिकहरूले एक्लोपनको सामना गर्नुपर्ने परिस्थिति दिन प्रतिदिन बढ्दै गइरहेको छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गइरहेको वर्तमान समयमा आफूलाई प्रतिस्पर्धी क्षमतायुक्त बनाउन नसक्दा अवसरहरूबाट वञ्चित हुनुपर्ने भयले हरेक नयाँ पुस्ता त्यो प्रतिस्पर्धी क्षमता हासिल गर्नका लागि आफूलाई शिक्षा आर्जन, व्यक्तित्व विकास र आयआर्जनमा पनि प्रतिस्पर्धी क्षमतायुक्त बनाउन लालायित देखिन्छन् । यसका लागि उनीहरू घरपरिवारका आफूभन्दा अघिल्लो पुस्ताप्रति आफूले निर्वाह गर्नुपर्ने दायित्वलाई दोस्रो प्राथमिकतामा राखेरै भए पनि पहिलो प्राथमिकता भने आफ्नो भविष्यको सुनिश्चिततालाई दिन बाध्य भएका छन् ।

जीवनको ऊर्जाशील समयमा घरपरिवार, समाज र राज्यको उन्नति, प्रगति र समृद्धिका लागि यथेष्ट योगदान गरिसकेका ज्येष्ठ नागरिकहरूलाई यी सबै तह र तप्काले उचित कदर र सम्मान गर्नसक्नुपर्ने हो । तर, विडम्बना नै भन्नुपर्छ, त्यस्ता ज्येष्ठ नागरिकलाई घरपरिवार, समाज र राज्यले पनि उनीहरूका लागि अपरिहार्य सेवा र सुविधा उपलब्ध गराउन कन्जुस्याईं गर्दै आएका छन् । घरपरिवार र समाजको संरचनाभित्र ज्येष्ठ नागरिकहरूले यथोचित योगदान गरिनै रहेका हुन्छन् । तर त्यो योगदानको उचित मूल्यांकन र कदर हुन सकेको छैन । घर कुर्ने वा बच्चाबच्ची हेरिदिएर कामकाजी छोराबुहारीलाई ढुक्कले काममा जाने अवसर जुटाइदिनु पनि कम मूल्यवान कार्य होइन । तर यस्तो कार्यको मूल्यांकन हुनै सकेको छैन । कसले गरिदिने यस्तो कामको मूल्यांकन ?

नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथासामाजिक सुरक्षाको हकप्रत्याभूत गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को प्रस्तावनामै ज्येष्ठ नागरिकको संरक्षण रसामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न वाञ्छनीय भएकाले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ जारी गरिएको उल्लेख गरिएको छ । साथै उक्त ऐनमा ज्येष्ठ नागरिकका लागि विभिन्न सेवा तथा सुविधाको व्यवस्था पनि गरिउको छ ।

पछिल्लो समय ज्येष्ठ नागरिकको जीवनयापनलाई सुरक्षित र मर्यादित बनाउन राज्यले कानुनी रूपमै बलियो व्यवस्था गरेको छ । यद्यपि यसको कार्यान्वयन पक्षमा भने चुनौती देखिन्छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गरेर ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ जारी गरेको छ । यो ऐनले साविकका व्यवस्थालाई संशोधन गरी ज्येष्ठ नागरिकप्रति सन्तानदेखि सरकारसम्मलाई थप जिम्मेवार बनाएको छ । ज्येष्ठ नागरिकप्रतिको कर्तव्य र जिम्मेवारी पूरा नगर्ने सन्तानप्रति उजुरीदेखि कडा कारवाहीसम्मको व्यवस्था ऐनमा गरिएको छ । यद्यपि आफूलाई जन्म दिने बाबुआमालाई हेरविचार गर्न पनि कानुन नै चाहिने परिस्थिति सिर्जना हुनु विडम्बना नै हो ।

ज्येष्ठ नागरिकको विषयलाई गम्भीरता पूर्वक लिँदै राज्यले ज्येष्ठ नागरिकलाई थप सम्मानित भएको महसुुस गराउन र उनीहरूप्रति राज्य गम्भीर छ भन्ने सन्देश दिनका लागि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय पनि गरेको छ । २०७७ पुस १० गते बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको थियो । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई एक सय रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको दिनलाई स्मरण गर्दै यही दिनमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरिएको हो । पहिलो पटक २०७८ पुस ११ गते ‘सभ्य नागरिकको पहिचान : ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नारासहित् यो दिवस मनाइएको थियो ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले यो वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ नारासहित पुस ८ देखि १४ गतेसम्म साताव्यापी रूपमा दोस्रो ज्येष्ठ नागरिक दिवस मनाउने सूचना सार्वजनिक गरेको थियो । तर सरकारी तवरमै कुनै औपचारिक कार्यक्रम गरी दिवस मनाउने र ज्येष्ठ नागरिकलाई सम्मानित गर्ने कार्य भएको देखिएन । कुनै राष्ट्रिय दैनिक पत्रपत्रिकाले पनि ज्येष्ठ नागरिकको सम्मानमा दुई शब्द सम्पादकीय लेख्ने धृष्टता पनि गरेनन् ।

ज्येष्ठ नागरिक दिवस आयो गयोमात्रै भयो । मुलुकका ज्येष्ठ नागरिकहरू उपेक्षित छन् भन्ने कुरा यसैबाट प्रस्ट हुन्छ । विगतमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १ तारिख) का दिन ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, सामुहिक भोजन गराउनेलगायतका कार्यक्रम गरिए पनि यो वर्ष भने राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकै दिनमा पनि यसरी कुनै औपचारिक कार्यक्रम नगरिनुले राज्य ज्येष्ठ नागरिकप्रति गम्भीर र जिम्मेवार नबनेको देखिन्छ ।

यसो त ज्येष्ठ नागरिकको सम्मानका लागि मनाउन थालिएको राष्ट्रिय ज्येष्ठ नागरिक दिवस सरकारी क्यालेन्डरमा पनि अटाउन सकेको छैन । अरू धेरैवटा दिवस सरकारी क्यालेन्डरमा अटाएका छन्, तर सरकारी तवरमै मनाउन थालिएको राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नै सरकारी क्यालेन्डरमा नअटाउनु दुःखद् हो । यो दिवस सरकारी क्यालेन्डरमा अटाएको भए हरेक ज्येष्ठ नागरिकले क्यालेन्डर हेर्नासाथ आफूलाई सम्मानित र गौरवान्वित महसुस गर्थे । यो काममा पनि राज्य चुकेको छ ।

विभिन्न तह र तप्काबाट राज्यको स्रोतको दोहन र दुरुपयोग भइरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने संयन्त्रको विकासमा केही नसोची ज्येष्ठ नागरिकले पाउँदै आएको थोरै सुविधामा मात्रै आँखा लगाउनु कसैका लागि पनि शोभनीय हुन सक्दैन ।

यद्यपि राज्यले प्रदान गर्ने सम्मान मात्रैले ज्येष्ठ नागरिकलाई सम्मानित महसुस त गराउला, तर सुखी, खुशी र सुरक्षित महसुस गराउन सक्दैन । त्यसैले भावनात्मक सम्मानसँगै भौतिक सुविधा वृद्धिमा राज्यले ध्यान दिनुपर्छ । सम्मानसँगसँगै पर्याप्त सेवा र सुविधा दिएर ज्येष्ठ नागरिकको जीवनयापनलाई सुरक्षित र मर्यादित बनाउन सकियो भनेमात्रै ज्येष्ठ नागरिक दिवससार्थक बन्छ । औपचारिकता निर्वाहलाई मात्रै निरन्तरता दिइयो भने ज्येष्ठ नागरिकका समस्या ज्यूँकात्यूँ रहनेछन् ।

घर, परिवार, समाज र राज्य सबैले आ–आफ्नो ठाउँबाट आ–आफ्नो जिम्मेवारी निर्वाहमा गम्भीर बन्ने प्रयास भएमात्रै ज्येष्ठ नागरिकको जीवनयापन सहज, सुरक्षित र मर्यादित हुनसक्छ । आफ्नो जीवनको ऊर्जाशील समय घर, परिवार, समाज र राज्यकै लागि खर्चेका ज्येष्ठ नागरिकप्रतिको दायित्व निर्वाह गर्ने क्रममा घरपरिवारका सदस्यले घरका ज्येष्ठ नागरिकसँग अलिकति समय खर्चिदिने र प्रेम बाँडिदिने, अनि राज्यले पनि तिनै ज्येष्ठ नागरिकका लागि अलिकति लगानी वृद्धि गरिदिने हो भने आमज्येष्ठ नागरिकको जीवनयापन सहज, सुरक्षित र मर्यादित हुनसक्छ ।

यसो त देशका अर्थविद्हरूले ज्येष्ठ नागरिकका लागि गरिएको लगानीलाई अनुत्पादक भन्दै त्यस्तो लगानी वृद्धि नगर्न सल्लाह दिंदै आएका छन् । ज्येष्ठ नागरिकका लागि गरिएको लगानीलाई राज्यको स्रोतले धान्न नसक्ने र सरकारको लोकप्रियका लागि त्यस्तो लगानी गरिएको भन्दै त्यसको आलोचना पनि गर्ने गरिएको छ । तर जसले जतिसुकै आलोचना वा विरोध गरे पनि राज्यले अन्य नागरिकसरह ज्येष्ठ नागरिकप्रतिको सामाजिक दायित्वलाई बिर्सनु हुँदैन ।

विभिन्न तह र तप्काबाट राज्यको स्रोतको दोहन र दुरुपयोग भइरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने संयन्त्रको विकासमा केही नसोची ज्येष्ठ नागरिकले पाउँदै आएको थोरै सुविधामा मात्रै आँखा लगाउनु कसैका लागि पनि शोभनीय हुन सक्दैन । मुलुकमा व्याप्त भ्रष्टाचार र राजस्व चुहावटलाई मात्रै नियन्त्रण गर्नसके अथवा पहुँचवाला व्यक्तिहरूको स्वास्थ्योपचारलगायत अन्य शीर्षकमा बाँडिने फजुल खर्च रोक्न सके पनि राज्यको आर्थिक स्रोत स्वतः सुदृढ हुने कुरामा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।

थोरै सुविधा पाउँदा पनि धेरै खुशी हुन्छन् ज्येष्ठ नागरिकहरू । घर, परिवार, समाज, राज्यले थोरैमात्र सम्मान र आवश्यक सेवासुविधा, सहुलियत दिए पनि मुलुकका ज्येष्ठ नागरिकहरूको जीवनयापन सहज, सुरक्षित र मर्यादित हुनेछ । उनीहरूको मुहार उज्यालो हुनेछ । त्यो उज्यालो मुहार देखेर प्राप्त हुने आनन्द अरू कुनै चीजबाट प्राप्त हुने आनन्दसँग तुलना हुन सक्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?