राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्दै गएका एमाले नेतालाई राप्रपा अध्यक्ष लिङ्देनले के भने ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहनुभएका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीवार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गर्नुभएको हो ।

नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित त्यहाँ पुग्नुभएको थियो । भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङदेनसहित नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो ।

भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताउनु भयो । उहाँले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँहरुसँग सौहार्दपूर्ण तरिकाले कुराकानी भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले के गर्ने भन्ने कुरा चाहीँ २४ गते केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्छ । त्यसले गरेको निर्णय अन्तिम हुन्छ ।’

भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गर्नुभयो । उहाँले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी हाम्रो आग्रह लिएर आयौँ । उहाँहरुले चाहीँ उहाँहरुको बैठक २४ गते बस्छ । त्यो बैठकले निर्णय गर्छ । तर एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार जो हुनुहुन्छ, उहाँ असाध्यै योग्य व्यक्ति हो । उहाँप्रति हाम्रो सकारात्मक, सद्भावपूर्ण धारणा रहेको छ भनेर व्यक्त गर्नुभएको छ । हाम्रो कार्यालयसम्म आएर एउटा राजनीतिक संस्कृति प्रदर्शन गर्नुभयो । त्यसमा हामी अत्यन्त खुशी छौँ भन्नुभएको छ । हिजोदेखिको जुन सहकार्य हो राप्रपासँगको हाम्रो पटक–पटकको त्यो सहकार्यको निरन्तरता हुने विश्वाससहित हामीलाई उहाँहरुले आज स्वागत पनि गर्नुभयो र त्यो अनुसार बिदाई पनि गर्नुभयो ।’

राप्रपा नेताहरुले उम्मेदवार स्वयं आफूहरुको कार्यालयसम्म आएर मत मागेको प्रति खुशी व्यक्त गरेका सांसद भट्टराईले उल्लेख गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?