कोशी प्रदेश नामाङ्कनको विरोधमा खोटाङमा चक्काजाम

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । कोशी प्रदेश नामाङ्कनको विरोधमा खोटाङमा दुई घण्टा चक्काजाम गरिएको छ । किरात राई यायोक्खा खोटाङले बिहीबार दिक्तेलको रत्नपार्क जिरो प्वइन्ट सडकमा शान्तिपूर्ण चक्काजाम गरेको हो ।

चक्काजाम कार्यक्रमलाई आदीवासी जनजाती महासंघलगायत पहिचान पक्षधरहरूले साथ दिएका थिए । चक्काजामपछि किरात प्रदेश प्राप्तीको संयुक्त संघर्ष समिति गठन गरिएको छ ।

रबिन खम्बुको नेतृत्वमा गठन गरिएको संघर्ष समितिले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई जिल्ला प्रवेशमा निषेध, सार्वजनिक कार्यक्रममा प्रवेश निषेध र कोशी प्रदेश नाममा मतदान गर्ने राजनीतिक पार्टीको कार्यालयमा कालो झण्डा गाड्ने कार्यक्रम तय गरेको छ ।

बुधबार प्रदेश १ को नाम ‘कोशी प्रदेश’ प्रदेशसभाबाट पारित भएको थियो । प्रदेशको नामाकरण भए लगत्तै जिल्ला समन्वय समितिको गेट नजिक पहिचान पक्षधरहरूले प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कांग्रेस संसदीय दलका नेता उद्धब थापा र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङबोको पुत्ला दहन गरेका थिए ।

सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको थियो ।

सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनुपर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत परेको र विपक्षमा चार जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?