मालिक खुसी पार्न प्रधानमन्त्रीले विषादीको जाँचबुझ रोक्न आदेश दिए : केपी ओली

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाउनु भएको छ ।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको भनाई थियो ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताउनु भयो ।

उहाँले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाउनु भयो । नेपालीहरु मारेर भएपनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो । उहाँले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय राष्ट्रिय विषयहरु, त्यो राष्ट्रिय विषय मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्र राष्ट्र चीन विरुद्धको गद्दारी गर्न खोजेको हो । २०३१ साललाई ठूलो स्केलमा दोहो¥याउन खोजेको हो । आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्विकार गर्न खोजिएको हो । स्वाधिनतालाई अस्विकार गरेको हो । के हो त्यो ? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो । त्यहाँबाट पहिला २०३१ सालमा वाङदी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो । मार्फाबाट अव लिएर जाने लोमाङथाङका भन्दा माथि । जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन त्यहाँ । र, यो एउटा बुहतै खतरनाक कुरा हो । अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसराम छैन । हाम्रो भान्साभान्सामा विषायीयुक्त चिज आउन दिने, भान्साभान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन् कि हुँदैनन् । त्यति हो कुरा । मालिक खुसी हुन्छन् भने नेपाली मेरेर के भयो ? नेपालीका भान्सामा विषादी आएर के भयो ? भन्ने तर्कले अहिले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारी आदिइत्यादिको विषयमा विषाधिको कुनै जाचबुझ गर्न पाईने छैन भन्ने आयो । हामीसँग संयन्त्र नहुने बेग्लै कुरा हो । भएजति त जाँच्नु प-यो नि । तर जाँच्न नपाईने । किनभने छिमेकी खुशी पार्ने । अरु खुशी पार्ने । बाह्य शक्तिलाई खुसी पार्ने, आफ्ना जनतालाई विषाक्त चिजहरु खुवाएर मार्ने । त्यसखालको नीति लिएको छ सरकारले । त्यसको हामीले विरोध गर्नु परेन ? राष्ट्रिय हितको विषयमा हामीले लडनु पर्छ ।’

अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताउनु भयो । उहाँले स्ववियू निर्वाचनमा अनेरास्ववियूलाई विजयी गराउने काममा जुटन् पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । अनेरास्ववियूले मुलुकको राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेकाले स्ववियू निर्वाचनमा सोही संगठनलाई जिताउन लाग्नुपर्ने उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?