वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकको सम्मान

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवका अवसरमा पूर्वगभर्नरलगायत विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिएको छ । बिहीबार आयोजित कार्यक्रममा पूर्वगभर्नर विजयनाथ भट्टराईलाई सम्मान गरिएको हो । पूर्वगभर्नर भट्टराईले २०६१ माघ १८ देखि २०६६ माघ १७ गतेसम्म बैंकको गभर्नरको जिम्मेवारी सम्हाल्नुभएको थियो । नेपालको आर्थिक, मौद्रिक एवं वित्तीय क्षेत्रको व्यवस्थापनमा पुर्‍याएको योगदानको कदरस्वरूप पूर्वगभर्नरलाई सम्मान गर्ने परम्परा रहँदै आएको छ ।

त्यस्तै, यसै वर्षदेखि कुशल कार्यसम्पादनका साथै बैंकको मर्यादा र प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने पाँचजना कर्मचारीलाई ‘नेपाल राष्ट्र बैंक सेवा पुरस्कार’ प्रदान गर्न सुरु गरिएको छ । जसअनुसार नेपाल राष्ट्र बैंक सर्वोत्कृष्ट सेवा पुरस्कार राष्ट्र बैंकअन्तर्गतको सूचना प्रविधि विभागका उपनिर्देशक रामनाथ पण्डितलाई प्रदान गरिएको छ । उहाँलाई प्रमाणपत्रसहित नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । विदेशी विनियम व्यवस्थापन विभागका उपनिर्देशक मणिराज श्रेष्ठ, पोखरा कार्यालयका सहायक निर्देशक यशोधा पोखरेल, गभर्नर कार्यालयका प्रधान-सहायक लालकुमार सुवेदी, जनशक्ति, व्यवस्थापन विभागका कार्यालय सहयोगी झनप्रसाद कोइरालालाई पनि प्रमाणपत्रका साथै जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी उत्कृष्ट विप्रेषण सेवा प्रदायकतर्फ सर्वाधिक रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको छ । बैंकतर्फ हिमालयन बैंक, नेपाल एसबिआई बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् भने रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेड, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र प्रभु मनी टान्सफर प्रालि रहेका छन् । त्यस्तै, उत्कृष्ट भुक्तानी सेवा प्रदायकतर्फ नेपाल क्लियरिङ हाउस र फोन पे पेमेन्ट सर्भिसलाई प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?