सात महिनामा बजेट खर्च ३५ प्रतिशतमात्रै

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 11 mins

पाल्पा । मुलुक संघीय संरचनामा गएर स्थापना भएको स्थानीय तहमा दोस्रोपटक निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेका छन् । नवनिर्वाचित जनप्रतिनिधिले नयाँ बजेट ल्याई काम गर्न थालेको पनि सात महिना बितिसक्यो । तर, अधिकांश स्थानीय तहको बजेट खर्चको अवस्था सन्तोषजनक देखिँदैन । संघीय सरकार र प्रदेश सरकारको जस्तै ठूलो बजेट ल्याउने तर खर्च नगर्ने प्रवृत्ति स्थानीय तहमा पनि देखिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँ सरकारले सात महिनामा ३५ प्रतिशत बजेटमात्र खर्च गरेको छ । माघ मसान्तसम्ममा उसले कुल विनियोजित बजेटको ३५.६३ प्रतिशतमात्रै बजेट खर्च गर्न सफल भएको हो ।

चालु आर्थिक वर्षमा ६८ करोड नौ लाख २५ हजार बराबरको बजेट ल्याएको पालिकाले बितेको सात महिनासम्म मुस्किलले कुल बजेटको ३५.६३ प्रतिशत अर्थात् २४ करोड २६ लाख ५२ हजार बजेटमात्रै खर्च गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको पालिकाले चालुतर्फ ४२.४५ प्रतिशत बजेट खर्च गरेको छ । ४५ करोड ३४ लाख ५२ हजार विनियोजन गरेकोमा १९ करोड २५ लाख २९ हजार अर्थात् ४२.४५ प्रतिशत खर्च भएको हो । यस्तै, पुँजीगततर्फ २२ करोड ७४ लाख ५२ हजार विनियोजन गरेकोमा ५ करोड २३ हजार अर्थात् २२.०३ प्रतिशत खर्च भएको पालिकाले जनाएको छ । यस्तै, चालु आर्थिक वर्षमा ३९१ वटा योजना रहेकोमा ३३० वटा सम्झौता गरिएको र १३५ वटा फस्र्योट भएका छन् । पालिकाले राजस्वतर्फ एक करोड २५ लाख संकलन गर्ने लक्ष्य राखेकोमा उक्त अवधिमा ४३ लाख रकम संकलन भएको छ ।

पालिकाले बितेको सात महिनाको अवधिमा (घ) वर्गका अपांगता भएकाहरूलाई मासिक २५० का दरले सामाजिक सुरक्षा भत्ता सहयोग प्रदान सुरु गरेको छ । उसले वडागतरूपमा निःशुल्क घुम्ती शिविर सञ्चालन गरी एक हजार ३६५ जनालाई सेवा प्रदान गरिसकेको जनाएको छ । भैरव नवदिप माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेको, मासिकरूपमा सबै स्वास्थ्यचौकीहरूमा ग्रामीण अल्ट्रा साउण्ड सेवा सञ्चालन गरेको, सत्यवतीमा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरेको, भुवनपोखरीमा निःशुल्क क्षयरोग शिविर सञ्चालन गरेको, निःशुल्क आँखा शिविर सञ्चालन गरी २० जनाको शल्यक्रिया गरी आखाँको दृष्टि फर्काएको, ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगी स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधि उपचार गरेको पालिका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुुभयो ।
यस्तै, पालिकाले विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजामा नेपाल सरकारले दिएको रकम अपुग भएपछि पाँच थप गरी २० रुपैयाँ बनाएको छ । उसले इसिडी सहजकर्ताहरूलाई पाँच हजार थप गरी मासिक १५ हजार र लेखाका कर्मचारीहरूलाई तीन हजार पाँच सय थप गरी १७ हजार, कार्यालय सहयोगीलाई सात हजार थप गरी मासिकरूपमा १५ हजार र सामुदायिक सिकाइ केन्द्रका कर्मचारीहरूको मासिक १५ हजार सुविधा कार्यान्वयनमा ल्याएको छ । प्रत्येक वडाबाट दुईजनाका दरले गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम, कक्षा एकदेखि तीनसम्म स्थानीय पाठ्यक्रम लागू गरेको र हाल कक्षा चार र पाँचको पाठ्यक्रम निर्माणको चरणमा रहेको पालिका उपाध्यक्ष युवराज थापाले बताउनुुभयो ।

पालिकाले हालसम्म सहकारीमा कोपिमिस प्रणाली लागू गर्ने विषयमा छलफल, अन्तरक्रिया र तालिमको कार्यक्रम सकी लागू गरेको छ । उसले कृषि तथा पशु उत्पादन बढाउन भकारो सुधार, बाख्रा खोर सुधार, मौरीघार वितरण, मिनी टिलर वितरण, टोल-टोलमा कुटानी-पिसानी मिल वितरण, सिँचाइका लागि प्लाष्टिक तथा सिमेन्ट पोखरी निर्माणको योजना सम्झौता गरी काम सुरु गरेको छ । मागमा आधारित कृषि सामग्री वितरण कार्यक्रम सुुरु गरेको पालिकाले रासायनिक मलको कारोबार गर्ने सहकारीहरूलाई व्यवस्थित बनाएको, कागती, सुन्तला र तरकारी पकेट क्षेत्रका कार्यक्रमहरू सञ्चालन गरेको, लोकल कुखुरा, बंगुर र माछापालक कृषकहरूलाई उत्पादन बढाउन प्रोत्साहनस्वरूप अनुदान कार्यक्रम सञ्चालन गरेको, पशुमा नश्ल सुधार, पशुपक्षी डिस्पेन्सरी सेवा सञ्चालन गरेको, कृषकहरूलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ, तरकारीमा प्रतिकेजी दुई रुपैयाँ, मासुमा प्रतिकेजी २० रुपैयाँ अनुदानको व्यवस्था गरेकोसमेत जनाएको छ ।

गाउँपालिकाको तीनवटा जिल्लासँग सिमाना जोडिएकाले तीन जिल्लाबाट आवतजावत गर्नका लागि सुविधासम्पन्न सडक निर्माणमा क्रियाशील रहेको पालिकाका प्रवक्ता देवेन्द्र पुनले बताउनुुभयो । रूपन्देहीसँग सिमाना जोडिएको सुन्दरढुंगा जुठापौवा, सालझण्डी सडक निर्माण निरन्तर अगााडि बढेको, गुल्मीसँग सिमाना जोडिएको धजाबान्ने, ताङ्सिगल सातमुरे सडक निर्माण सुरु भएको, पेलावास बल्घा अर्घाखाँची, पेलावास, वडा कार्यालय, तालपोखरा हुँदै अर्घाखाँची जोड्ने मोटरबाटो निर्माण कार्य अगाडि बढाएको, मैदिगा छहरा सडकमा ग्राबेल सुरु गरिएको प्रवक्ता पुनले जानकारी दिनुुभयो । सिस्नेखोला र मधुवाघाटमा झोलुंगे पुल निर्माण अगाडि बढाएको, पालिकाको नामाकरण भएको रैनादेवी मन्दिर निर्माणको कार्य सुरु भएको, कटौजेपानीमा पालिकास्तरीय खेलमैदानको स्तरीकरणको काम भइरहेको, वडा नं. ४ तिलकस्थानमा हेलिप्याड निर्माण गरेको, नेपाने र भट्टेमा लिफ्ट खानेपानी योजना ठेक्का प्रक्रिया अगााडि बढेको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुुभयो । यस्तै, उपभोक्ता समितिका पदाधिकारीहरूलाई वडामै तालिम तथा योजना सम्झौता गरिएको, सम्पन्न भएका योजनाहरूको गुणस्तरीयताका लागि नियमित अनुगमन बढाएको, स्थानीय तह क्षमता मूल्यांकन सम्पन्न गरी ६६.२५ अंक प्राप्त गरेको, गाउँपालिकाभित्र सबै शाखा तथा कर्मचारी कक्षमा सिसिटिभी जडान गरिएको लेखा अधिकृत लिलामणि बस्यालले बताउनुुभयो । विभिन्न प्रकृतिका विपद्मा परेका पालिकावासीहरूलाई आर्थिक सहायता तथा राहत वितरण गरिएको, वर्षाबाट क्षति भएका मोटरबाटो तथा कुलोहरू मर्मत भएको, स्थानीय वन ऐन र खानेपानी सरसफाइ ऐन गाउँसभाबाट पारित भएको, पालिकावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँसभाबाट संकल्प प्रस्ताव पारित गरिएको पनि पालिकाले जनाएको छ । वन व्यवस्थापन, रेखदेख संरक्षणका लागि सामुदायिक वनका उपभोक्तासँग अन्तरक्रिया गरिएको, फोहोरमैला व्यवस्थापनको विषयमा सर्वपक्षीय छलफल गरी कार्यदल गठन भएको पालिकाले जनाएको छ । पालिकाभरि सबैभन्दा समस्या रहेका दलित बस्ती गोखुंगा, भुलुवा पोखरा, भिरवास, लेखटोलसम्म धारा विस्तार गरी खानेपानी वितरण भएको, चिसापानी, असारे, साउने, सिद्धेश्वरमा खानेपानी धारा वितरण गरेको, भुवनपोखरी अरधाईमा खानेपानी सञ्चालनमा आएको, तिलकस्थान अमलावासमा खानेपानी सञ्चालनमा आएको, मुझुङ लिफ्ट खानेपानी योजना अगाडि बढेको, मेहलढाप खानेपानी योजना सुचारु भएको पालिका अध्यक्ष भट्टराईले बताउनुुभयो । ग्वारठाना खानेपानी योजना, नेपाने खानेपानी योजना, लौधा खानेपानी योजना, बल्ढेङगढी खानेपानी योजना, सत्यवती खानेपानी योजना र जुठाम खानेपानी योजना अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?