आप्रवासी कानुन कडा बनाउँदै बेलायत

Read Time = 2 mins

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीलाई चेतावनी दिँदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताउनुभएको छ । बेलाइतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गर्नु भएको हो ।

सुनकको सरकारले यस हप्ताको अन्त्यमा अवैध अध्यागमनलाई कडाइ गर्ने कानुनलाई अगाडि बढाउने अपेक्षा गरिएको फक्स न्यूजले उल्लेख गरेको छ । ‘अवैध आप्रवासन बेलायती करदाताहरूका लागि उचित छैन, कानुनी रूपमा यहाँ आउनेहरूका लागि यो उचित छैन र अपराधी गिरोहहरूलाई उनीहरूको अनैतिक गतिविधि जारी राख्न दिनु उचित होइन । म अवैध आप्रवासीका डुंगाहरू रोक्ने मेरो वाचा पूरा गर्न कटिबद्ध छु,’ उहाँले भन्नुभयो ।

बेलाइतमा गैरकानुनी आप्रवासीलाई सीमा पार गरेपछि त्यहाँ शरण लिनका लागि दाबी गर्न अनुमति दिने कानुन छ । सामान्यतया, आप्रवासीलाई उनीहरूको मुद्दा चलिरहेका बेलामा बस्न अनुमति दिइन्छ तर नयाँ कानुनले त्यस्ता आप्रवासीलाई शरण दाबी गर्नबाट रोक्ने बताइएको छ । लामो समयदेखि फ्रान्सबाट जोखिमपूर्ण बाटो भएर बेलाइत पुग्ने शरणार्थीहरूको संख्या बढ्दै गएको पाइएको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?