लागुऔषध दुर्व्यसन विरुद्ध कालीकोटमा प्रहरीको सचेतना कार्यक्रम

कालीकोटमा आयाेजित लागुऔषध विरुद्धको सचेतना कार्यक्रम । तस्बिरः मानबहादुर बिश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । लागुऔषध दुर्व्यसन र अवैध ओसारपसार विरुद्ध कालीकोटमा शुक्रबार एक भव्य कार्यक्रम गरिएको छ । “लागुऔषध विरुद्ध ऐक्यबद्धता, अपराध मुक्त समाजको प्रतिबद्धता” भन्ने मूल नाराका साथ जिल्लाको सदरमुकाम मान्ममा प्रहरीले सचेतनामूलक कार्यक्रम गरेकाे हाे ।

खाँडाचक्र नगरपालिका स्तरीय लालटिन समितिको आयोजना र जिल्ला प्रहरी कार्यालय कालीकोटको समन्वयमा जिल्ला समन्वय समिति कालीकोटको सभाहलमा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

सदरमुकाम मान्मको जिरोप्वाइन्टबाट विभिन्न जनचेतनामूलक नाराहरुसहितको प्लेकार्ड र जिङ्गल बजाएर लागुऔषध विरुद्ध र्‍याली निकाली प्रतिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीको अध्यक्षता, जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत (बिश्वकर्मा) को प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको विशेष आतिथ्यतामा स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामूल कार्यक्रममा बोल्दै नगर प्रमुख कमलबहादुर शाहीले विद्यालय स्तरबाट सचेतना जोगाउन सकेमा लागूऔषधको प्रयोगबाट युवाहरुलाई सचेत गराउन सकिने र त्यसका लागि अभिभावकहरुले आफ्ना छोराछोरी र उनीहरुप्रति निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

अहिलेका युवाहरुलाई लागूऔषधबाट जोगाउनका लागि चुनौती रहेको भन्दै यसका लागि समुदायसँग सहकार्य गरेर अगाडी बढ्नुर्ने बताउनुभएको छ । लागुऔषध विरुद्ध जनचेतना जगाउने उद्देश्यले रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकामा यो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पछिल्लो समय युवा तथा वयस्क उमेरका मानिसहरु अत्याधिक मात्रामा लागुऔषधको दुर्व्यसनीमा फसेको तथ्याङ्कमा देखिएको र आम नागरिकको गुनासो बढ्दै गएको बताउनुभयो ।

सोही गुनासोका आधारमा सम्बोधन गर्न प्रहरीले लागुऔषधको सेवन तथा कारोबार गर्ने माथि कानून बमोजिम दण्डित गर्न र युवाहरुलाई दुर्व्यसनीमा फस्नबाट रोक्न जनचेतनामूलक कार्यक्रमलाई बिशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरु नै समाज परिवर्तन गर्ने आधार भएकाले लागुपदार्थ देखी टाढै रहनुपर्ने बताउँदै लागुऔषध समाजको विकृतिका रुपमा रहेकाले यसको न्यूनीकरणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट लाग्नु पर्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो ।

लागूऔषधका कारण समाजमा विभिन्न खालका अपराधहरु हुने भएकाले लागूऔषध नियन्त्रणमा सबैले सहयोग गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवंम् प्रतिनिधि, राजनीतिक दलका प्रमुख प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थीलगायत जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो ।

लागूऔषध उत्पादन बिक्री वितरण र सेवन विरुद्ध प्रहरी परिचालन गरी कानुनी दायरामा ल्याउने र लागू औषधले प्रभाव पारेका क्षेत्र समुदाय वा बर्ग पहिचान गरि नियन्त्रणमा लिनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अभियानलाई स्थानीय तहको साझेदारीमा वडा तहसम्म बिस्तार गरिने प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?