नेपाल टी-२० लिग असोज ८ देखि हुँदै

Read Time = 4 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को ड्रिम प्रोजेक्टका रूपमा रहेको नेपाल टी-२० क्रिकेट लिग आगामी असोज ८ गतेदेखि हुने भएको छ । क्यानले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै लिगको घोषणा गरेको हो । लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ । भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँगको सहकार्यमा क्यानले लिग आयोजना गर्न लागेको हो । लिगको रणनीतिक र कमर्सियल साझेदारीका रूपमा सेभेन थ्रीस्टार रहनेछ । क्यानले यसअघि नै सेभेन थ्रीस्टारसँग आठ वर्षका लागि ३३ करोडमा लिगको अधिकार बेचिसकेको थियो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगको घोषणा गर्नुभएको हो । लिगको घोषणा गर्दै उहाँले यस प्रतियोगिताले नेपाली क्रिकेटलाई विश्व क्रिकेटको स्तरमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । ‘क्रिकेटलाई नेपालभरि युवाहरूमाझ लोकप्रिय गराउने उद्देश्यमा नेपाल टी-२० लिगको उच्च भूमिका हुने विश्वास गरेको छु,’ उहाँले भन्नुभयो, ‘क्यान, राष्ट्रिय खेलकुद परिषद् र सेभेन थ्री स्पोर्ट्सले एक भएर काम गर्दै यस लिगलाई भव्यताका साथ आयोजना गर्ने विश्वास मैले लिएको छु ।’

प्रतियोगिता टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउन्ड रोबिनका आधारमा हुनेछ । पहिलो वर्ष ६ टोलीमात्र हुनेछन् । प्रतियोगिता झण्डै एक महिनासम्म चल्नेछ । ६ शहरको नाममा फ्रेन्चाइज टोली रहने क्यानले जनाएको छ ।
‘दुई वर्षको प्रयासपछि हामीले आज घोषणा गरेका छौँ । यसले नेपालको क्रिकेट विकासमात्र होइन, आर्थिक विकास, पर्यटकीय र व्यावसायिक हिसाबले फड्को मार्ने विश्वास लिएका छौँ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो, ‘यसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने विश्वास छ । युवा खेलाडीले पनि व्यावसायिक खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।’

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यानले लिग घोषणा गरेकोमा खुसी व्यक्त गर्दै खेलाडीहरूले यसबाट धेरै फाइदा लिने बताउनुभयो । ‘हामी यस लिगको व्यग्र प्रतिक्षामा थियौँ । लिगले धेरैभन्दा धेरै खेलाडीहरूलाई अवसर दिँदै नयाँ-नयाँ खेलाडी खोज्न पनि सहयोग पुर्‍याउनेछ,’ उहाँले भन्नुभयो, ‘यो नेपाली क्रिकेटका लागि एकदमै ठूलो दिन पनि हो । प्रतियोगिताको सफलताको कामना समेत गर्छु ।’

क्यानका कोषाध्यक्ष रोशन सिंहले लिगबाट प्राप्त हुने आर्थिक सहयोग नेपाली क्रिकेटको विकासमा खर्च गरिने जानकारी दिनुभयो । उहाँले लिगबाट क्यानले ३३ करोड रुपैयाँ (आठ वर्षमा) कमाउन लागेको भन्दै क्यानले अहिलेसम्म आम्दानी गरेको यो ठूलो रकम भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?