सुटिङका लागि प्रशिक्षण, न पूर्वाधार

हिमालय टाइम्स
Read Time = 7 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट प्रतिस्पर्धा बिनै सुटिङ खेलाडी छानिएका छन् । प्रदेश खेलकुद परिषद्ले हचुवाको भरमा खेलाडी छनोट गर्नुपर्‍यो । ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती केसीले खेल नखेलाई खेलाडी छनोट हुँदा नराम्रो लागेको बताउनुभयो । ‘प्रयास नभएको होइन, तर एउटा गन पनि ल्याउन सकिएन,’ उहाँले भन्नुभयो, ‘पछि खेलबिनै खेलाडी छान्नुपर्ने स्थिति आयो, प्रदर्शन जाँच्न पाइएन ।’

उहाँका अनुसार गण्डकीमा एउटा सुटिङ रेन्जसम्म छैन । खेलाडीले प्रशिक्षण पाउनु त धेरै परको कुरा भयो । पोखरा रंगशालाभित्र सुटिङ रेन्ज बनाउने योजना पनि अलपत्र परेको केसीको गुनासो छ । ‘एसियनदेखि सागसम्म खेलेका खेलाडी हामीसँग छन्, सुटिङमा नयाँ खेलाडी उत्पादन हुने सम्भावना पनि उत्तिकै छ,’ प्रशिक्षक केसीले भन्नुभयो, ‘विडम्बना भन्नुपर्छ, राज्यबाट यो खेल उपेक्षामा परेको छ, लगानी, पूर्वाधार केही छैन ।’

सुटिङका लागि सरकारी संयन्त्रबाट गण्डकीमा अहिलेसम्म प्रशिक्षक नै नियुक्त नगरिएको उहाँको भनाइ छ । बागलुङ सुटिङ संघकी अध्यक्षसमेत रहनुभएकी केसीले स्वयंसेवी रूपमा अभ्यास गराउँदै आउनुभएको छ । त्यो पनि नपड्किने हतियारका भरमा । ‘मसँग पुरानो नपड्कने हतियार छ, त्यसले होल्डिङ गर्नसम्म खेलाडीलाई सिकाउँछु,’ उहाँले भन्नुभयो, ‘कहिले खुला चौरमा, कहिले हल भाडामा लिएर प्रशिक्षण दिने गरेकी छु ।’ आठौँ राष्ट्रिय खेलकुदमा राखेपबाट हतियार मगाएर छनोट खेल खेलाएको उहाँले स्मरण गर्नुभयो ।

अध्यक्ष केसीले बागलुङमा पनि सुटिङ रेन्ज निर्माणका लागि पहल अगाडि बढाइए पनि त्यसले साथर्कता पाउन नसकेको बताउनुभयो । ‘नवौं राष्ट्रिय खेलुकदअन्तर्गत सुटिङ प्रतियोगिता बागलुङमा ल्याउन पनि प्रयास गरिएको हो, तर अहिले सम्भव भएन,’ उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशमै प्रतियोगिता चलाउन पूर्वाधार नभएपछि काठमाडौँमै खेलाउने तयारी भइरहेको छ ।’

सुटिङ रेन्ज बनाउन २२ मिटर लम्बाइ र चौडाइ भएको जग्गा चाहिन्छ । सुटिङ खेलका लागि पेस्तोल, राइफल, गोली, टार्गेट, टार्गेट बक्स (पुल्ली), पञ्जालगायत सामग्री खाँचो पर्छ । राइफलका लागि छुट्टै जुत्ता, पाइन्ट, ज्याकेट र बेल्ट चाहिन्छ ।

इन्डोर खेलिने सुटिङमा सानो सिसाको गोली प्रयोग हुन्छ । गोली चीन र जर्मनबाट ल्याउने गरिएको छ । प्रदेश खेलकुद परिषद्का सदस्यसचिव राजेश गुरुङले सुटिङका लागि खेल पूर्वाधार र सामग्रीको अभाव रहेको स्वीकार्नुभयो । ‘इन्डोर खेल भएकाले सुटिङका लागि ठूलो हल चाहिन्छ, हतियार, गोलीदेखि अरू महँगा सामग्री यसमा प्रयोग हुन्छन,’ उहाँले भन्नुभयो, ‘यसमा प्रदेशको स्रोतसाधनले मात्र भ्याउँदैन, केन्द्रबाटै सम्बोधन हुनुपर्छ ।’

सदस्यसचिव गुरुङले प्रदेशबाट छानिएका सुटिङ खेलाडीलाई काठमाडौंमा लगेर बन्द प्रशिक्षणमा राख्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । ‘सुटिङमात्र होइन अरू थुप्रै खेलका प्रशिक्षक प्रदेश तहमा छैनन्, स्वयंसेवी प्रशिक्षकबाट काम चलाउनु परिरहेको छ,’ उहाँले भन्नुभयो, ‘गण्डकीमा पनि बागलुङमा मात्र सुटिङको केही अभ्यास भइरहेको छ, अन्यत्र जिल्लामा खासै छैन ।’

सुटिङको पूर्वाधार निर्माणमा विगतमा बजेट छुट्टिए पनि काम हुन नसकेको भन्दै अब स्रोतसाधन र सामग्री जुटाउन आफूहरू लागि पर्ने सदस्यसचिव गुरुङले बताउनुभयो । पूर्वाधार र खेल सामग्री नै नभएका कारण सुटिङको छनोट खेल राख्न नसकिएको उहाँको भनाइ छ ।
आउँदो शरद ऋतुमा पोखरामा हुने राष्ट्रिय खेलकुदका लागि बागलुङका नौ र कास्कीका तीन सुटिङ खेलाडी छानिएका छन् । दश मिटरको एयर पेस्तोलमा तीन महिला, तीन पुरुष र एयर राइफलमा पनि तीन पुरुष र तीन महिला छनोट गरिएको हो । जसमध्ये एयर राइफलमा पुरुषतर्फ बागलुङका सनम पुन, सन्दीप गाहा र कास्कीका ऋषिकेश शर्मा रहनुभएको छ । महिलामा बागलुङका करिष्मा बस्नेत, स्वस्तिमा शर्मा र नीतिका गिरी छनोट हुनुभएको हो ।

एयर पेस्तोलमा बागलङबाट केवी पुन, कास्कीका विजय कार्की र विनोद पुन रहनुभएको छ । यस्तै एयर पेस्तोलमा महिलातर्फ बागलुङका सिरिया केसी, रेनु रिजाल र निष्ठा पौडेल छनोटमा पर्नुभएको छ । केसी यसअघिको राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतासमेत हुनुहुन्छ ।
केसी र पौडेलले साग खेलकुदमा पनि भाग लिइसक्नुभएको छ । एयर पेस्तोलतर्फ छनोट हुनुभएका केवी पुनसँग पनि एसियन खेलकुदको अनुभव छ । ‘उचित प्रशिक्षण र वातावरण पाएमा हाम्रा खेलाडीले पनि सुटिङमा अन्तर्राष्ट्रिय पदक जित्न सक्छन्, खेल पूर्वाधार बनाउनेतिर सरकारले ध्यान देओस्,’ प्रशिक्षक केसीले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?