समाजवादी मोर्चा घोषणा, पार्टी एकतासम्मको उद्देश्य

पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिने लक्ष्य

डिबी शर्मा
Read Time = 15 mins

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)सहितका चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा उनीहरूले समाजवादी मोर्चा घोषणा गरेका हुन् । चार पार्टीले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । मोर्चामा माओवादीसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी सामेल भएका छन् । घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गर्नुभयो ।

मोर्चाले मुलुकमा देखिएको पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिने लक्ष्य राखेको छ । मोर्चाले यसको प्रस्तावना, मोर्चा बनाउनुको उद्देश्य, प्रतिबद्धता र मोर्चाको संगठन संरचनासमेत तय गरेको छ । मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठन गर्ने मोर्चाको तयारी छ । तीन संसदीय र एक संसद् बाहिरका गरी चार दलीय मोर्चा बनेसँगै प्रतिनिधिसभामा मोर्चाका ५४ सांसद हुने भएका छन् । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । यसअघि मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि सामेल हुने भनिएकोमा अन्तिममा आएर पछि हटेको छ ।

नेतृत्व आलोपालो, निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप
चारदलीय समाजवादी मोर्चाको नेतृत्व शीर्ष नेताले आलोपालो गर्ने भएका छन् । मोर्चाले सार्वजनिक गरेको सहमतिपत्रमा नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने निर्णयप्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने उल्लेख छ । ‘मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्नेछन्,’ सहमतिपत्रमा भनिएको छ, ‘मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुनेछ । यस मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्नेछन् ।’

मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एउटा सचिवालय बनाइने पनि सहमति पत्रमा उल्लेख छ । सचिवालयमा प्रत्येक दलहरूका प्रतिनिधि रहनेछन् । त्यस्तै, यस मोर्चामा अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समावेश गरिँदै लैजाने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा देशमा व्याप्त भ्रष्टाचार रोकेर सुशासन ल्याउने दाबी गरिएको छ । ‘गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्यांकनका परिपार्टी स्थापित गर्ने, समग्रिक योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखा परेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिशनतन्त्र जस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने, मोर्चाको सहमतिपत्रमा भनिएको छ ।

प्रतिगामी र पश्चगामीहरूलाई रोक्न मोर्चा : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रतिगामी र पश्चगामीहरूलाई रोक्न समाजवादी मोर्चाको घोषणा गरेको बताउनुभएको छ । उहाँले नेपालको राजनीतिक इतिहासमा नयाँ मोड र नयाँ राजनीतिक सुरुवात भएको दाबी गर्नुभयो । मुलुकलाई संकटबाट मुक्त गर्नुपर्छ भन्ने मोर्चाको उद्देश्य रहेको उहाँको भनाइ छ । ‘हामी चार राजनीतिक दलमा लामो छलफलपछि सबैको शुभेच्छा र चाहनाअनुरूपको समाजवादी मोर्चा घोषणाको मोडमा आइपुगेका छौँ । मुलुकलाई यो परिस्थिति र संकटबाट मुक्त गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ,’ उहाँले भन्नुभयो, ‘कुनै पनि मूल्यमा प्रतिगामी र पश्चगामीहरूलाई फाइदा उठाउन दिनुहुँदैन । यो संकटबाट मुलुकलाई मुक्त गर्नुपर्छ भनेर हामीले इतिहासमा एउटा नयाँ प्रयोग गरेका छौँ ।’

नेपालमा विभिन्न चरणमा भएका आन्दोलन र क्रान्तिका बाँकी सपना पूरा गर्न मोर्चा बनेको उहाँले बताउनुभयो । ‘यो देशमा पश्चगामी र प्रतिगामीहरूको नेतृत्व अब स्वीकार्य छैन । देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । स्वाभिमानीहरूले गर्ने हो,’ उहाँले भन्नुभयो, ‘अग्रगमन र पश्चगमनको लडाइँमा नेपाल उभिरहेको छ । यो परिस्थिति सामान्य छैन । यो परिस्थितिमा चार राजनीतिक दलको छलफलपछि सबैको सुझाव र चाहनाअनुरूप आजको संकटबाट देशलाई अन्त्य गर्नुपछ । प्रतिगामीलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन ।’ विप्लवले मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताउनुभयो ।

कोही पनि नतर्सिए हुन्छ : यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी नभएको बताउनुभएको छ । मोर्चा कसैको विरुद्धमा लक्षित नभएको उहाँले बताउनुभयो । जनताको हित र अग्रगामी परिवर्तनका लागि मोर्चा बनेको उहाँको भनाइ छ । विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरू भने मोर्चासँग डराउनुपर्ने यादवले बताउनुभयो । ‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरू घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो,’ यादवले भन्नुभयो, ‘त्यसरी हडबडाउनु पर्दैन, हामी देशको, जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्छौँ ।’ विगतमा धेरै मोर्चा बन्ने र भत्किने गरेको भन्दै यादवले यो मोर्चाप्रति पनि नागरिकमा आशंका रहेको बताउनुभयो ।

विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त परिणामको रक्षा गर्न परिवर्तनकारी राजनीतिक दलहरू एक ठाउँमा आएर समाजवादी मोर्चा गठन गरिएको उहाँको भनाइ छ । शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको अध्यक्ष यादवले गुनासो गर्नुभयो ।

वामपन्थीहरू एकताबद्ध नभएसम्म सही विकल्प बन्दैन : खनाल
नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर वैकल्पिक शक्ति बनाउनुपर्ने बताउनुभएको छ । चार दलले समाजवादी मोर्चा घोषणा गरेको भन्दै अब देशमा रहेका सबै क्रान्तिकारी शक्तिहरूलाई एकठाउँमा ल्याउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो । विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिष्ट पार्टीहरू छताछुल्ल बनेको उहाँको भनाइ छ । ‘हामीले समाजवाद ल्याउने उद्देश्यसहित मोर्चा बनाएका छौँ । मोर्चा सत्तालाई टिकाउने मात्रै नबनोस्,’ उहाँले भन्नुभयो, ‘साँचो अर्थमा सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बन्न सकोस् । यो त्यसैका लागि चालिएको पहिलो पाइला हो । समस्त वामपन्थीहरूलाई एकताबद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन सक्दैन ।’

तर्साउन र घुक्र्याउन मोर्चा बनाएका होइनौँ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चाबाट नआत्तिन आग्रह गर्नुभएको छ । मोर्चा बनाएर कसैलाई तर्साउन नचाहेको उहाँले बताउनुभयो । सम्पूर्ण वामपन्थी शक्तिलाई मोर्चामा आउन उहाँले आग्रह पनि गर्नुभयो । ‘अरू पार्टीलाई पनि स्वागत छ । आउनुस् हातेमालो गरौँ । नआत्तिनुस्, नतर्सिनुस्,’ उहाँले भन्नुभयो, ‘हामी तर्साउन चाहँदैनौँ । घुक्र्याउन पनि चाहँदैनौँ । हामीलाई कसैले निल्नेवाला छैन । निलिनेवाला पनि छैनौँ ।’ नेकपा जोगाउन नसकेको भन्दै उहाँले त्यसले राजनीतिलाई फरक बाटोमा पु¥याएको बताउनुभयो । समाजवादी मोर्चा तत्कालीन नेकपाको विकल्प बन्न सक्ने संकेत गर्नुभयो । ‘हिजो वाम शक्तिहरूको एकताबाट नेकपा हुँदा झण्डै दुईतिहाइ जनमत प्राप्त भएको थियो । व्यक्तिगत स्वार्थ र अहंले त्यो एकता जोगाउन आवश्यक पहल भएन,’ उहाँले भन्नुभयो, ‘भीरमा जाने गोरुलाई राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।’

मोर्चा प्रतिगामी प्रवृत्तिका विरुद्ध युद्धको घोषणा हो : प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताउनुभएको छ । नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरूले हतारो गरेको उहाँले बताउनुभयो । नेकपा बचाउन नसकेकोप्रति आत्मसमीक्षा गर्न आवश्यक रहेको उहाँको भनाइ छ । अहिले क्षणिक आवेगमा मोर्चा गठन नगरिएको उहाँले बताउनुभयो । मोर्चा कसैको विपक्षमा नरहेको उहाँको भनाइ छ । ‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, गणतन्त्रका पक्षधर, उत्पीडित जाति समुदायविरुद्ध परिलक्षित छैन,’ उहाँले भन्नुभयो, ‘विगतमा कहाँ त्रुटि गर्‍यौँ ? समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ-पार्टी एकता गर्न पो हतार गरेछौँ कि ? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि ?’

मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने उहाँले बताउनुभयो । प्रचण्डले अब समाजवादी मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । देशलाई फेरि निरंकुशतातिर फर्काउन चाहनेविरुद्ध मोर्चाले नयाँ ढंगबाट क्रान्ति गर्ने बताउनुभयो । ‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग समुदायको अधिकारका पक्षधरहरूविरुद्ध परिलक्षित छैन,’ उहाँले भन्नुभयो, ‘परिवर्तन हजारौँ बेपत्ता र सहिदको त्याग तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमान गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरूले टाउको उठाउन खोजेका छन् । के कुरा साँचो हो भने यो मोर्चा तीनको विरुद्ध युद्धको घोषणा भने पक्कै हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?