गाउँ केन्द्रित स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाकाे गाउँ केन्द्रित स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित भएका छन् । पालिकाको तीन वटा स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ जना महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासंग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

पालिका भित्रका स्वास्थ्य संस्थाबाट शिविर संचालन गरिएको अध्यक्ष धितालले बताउनुभयाे । उहाँकाअनुसार नराकोट स्वास्थ्य चौकीमा १ सय १ जना, धाँपा स्वास्थ्य चौकीमा ७६ र सनिगाउँ स्वास्थ्य चौकीमा १ सय ५० जना गरी जम्मा ३ सय २७ जना एकै दिन शिविरबाट लाभान्वित भएकाछन् । सो स्वास्थ्य शिविरबाट ४ जना महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । साथै ५७ जना महिलालाई पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ । महिलालाई पाठेघर खस्ने,सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्नेलगायतका समस्याको स्वास्थ्य शिविरमा जाँच गरिएको सिंजा गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताउनुभयो ।

चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयम महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त हुने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. सुबि बस्नेतले जानकारी दिनुभयो । स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण भेगका महिलाहरुले गाउँमै पाठेघरको जाँच साथै उपचार गराउन पाउँदा निकै खुसी लागेकाे बताउँछन् ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्नुपर्ने सिंजाका स्थानीयवासिहरुको माग रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।अधिकांश ३० वर्ष माथिका ग्रामीण महिला पाठेघर खस्ने,सेतो पानी बग्ने, ढाड दुख्ने समस्याबाट पीडित छन् । गाउँमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले त्यस्ता पीडित महिलालाई राहत पुग्ने गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सिंजा गाउँपालिका-४ की पदमकली बुढा लामो समयदेखि तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्याबाट ग्रसित हुनुहुन्थ्याे । चेतनाको अभाव, घरको आर्थिक अवस्था कमजोर र परिवारसँग खुलेर भन्न नसकेरै उहाँ आफ्ना समस्या लुकाउन बाध्य हुनुहुन्थ्याे । आफ्नो स्वास्थ्य भन्दा घरको काममा बढी केन्द्रित हुँदा पछि पदमकलीको पाठेघर खस्ने समस्या हुन थाल्यो । उपचारको प्रतीक्षामा भए पनि उहाँले आफ्नो समस्या कसैसँग सुनाउनुभएकाे थिएन । साथै उपचार गर्ने र जँचाउने मेसो पनि पाउनुभएकाे थिएन । सिंजाको नराकोट स्वास्थ्य चौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बुढाले पहिलो पटक आफ्नो पाठेघर जँचाउनुभयाे र पाठेघर नखस्ने रिङ राख्नुभयाे । स्वास्थ्य चौकीमा पाठेघर खस्न नदिन रिङ लगाउने र अन्य जाँच हुने थाहा पाएपछि गाउँमै सबै समस्या जँचाउन पाउँदा राहत महसुस भएको बुढाले बताउनुभयो । गाउँ केन्द्रीकृत स्वास्थ्यकर्मी लिएर स्वास्थ्य सेवादेखि अन्य सेवा प्रवाह दिन थालेको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?