काठमाडौं । आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका सन्दर्भमा मतदातालाई आन्तरिक प्रशिक्षण दिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले आन्तरिक रूपमा फरक ढंगले आवश्यक प्रशिक्षण दिने निर्णय गरेको हो । जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार गठबन्धनमा आबद्ध दलहरूले आ-आफ्ना पार्टीका मतदातालाई आन्तरिक प्रशिक्षित गर्ने निर्णय भएको हो । मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेको उहाँले बताउनुभयो । राष्ट्रपति चुनावका लागि मौन अवधि रहेकाले आन्तरिक रूपमा सांसदहरूलाई प्रशिक्षण दिन लागिएको उहाँको भनाइ छ । श्रेष्ठले मतदातालाई प्रशिक्षित गर्ने, मत बदर हुन नदिने र समयमै आएर मतदान गर्न समन्वय गर्ने हिसाबले गठबन्धनको कार्यदलमा छलफल भएको जानकारी दिनुभयो ।
‘निर्वाचनको सम्बन्धमा गर्नुपर्ने सबै कामलाई व्यवस्थित गर्ने विषयमा छलफल भयो, ‘बैठकपछि उहाँले भन्नुभयो, ‘आ-आफ्नो पार्टीबाट सुरक्षित रूपमा मतदातालाई प्रशिक्षित गर्ने भन्ने विषयमा छलफल भएको छ । आ-आफ्नो पार्टीका सबै मतदातालाई समन्वय गर्ने र सकेसम्म निर्वाचनमा मत बदर हुन नदिने भनेर छलफल भयो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार मौन अवधि सुरु भइसकेकाले प्रशिक्षण दिन नपाइने भएकोले मतदातालाई सचेत बनाउन लागिएको हो । गठबन्धनमा भोट क्रस हुनसक्ने डर छ । यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताउनुभयो । उहाँले प्रचारप्रसारको काम बन्द भएकाले व्यवस्थित बनाउने विषयमा छलफल भएको बताउनुभयो । आठ दलका सांसदहरूलाई संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम भने स्थगित गरिएको उहाँको भनाइ छ । आठ दलले फागुन २४ गते काठमाडौंमा सांसदहरूलाई प्रशिक्षण दिने निर्णय गरेका थिए ।
मौन अवधिका कारण आठ दलका सांसदहरूलाई संयुक्त रूपमा प्रशिक्षण दिने कार्यक्रम स्थगित गरिएको उहाँले बताउनुभयो । यसका लागि मतदानमा सहभागी हुने सदस्यहरूलाई बुधबार ११ बजेसम्म काठमाडौं आइपुग्न निर्दशन दिइएको छ । राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । राष्ट्रपति निर्वाचन फाल्गुन २५ गते बिहीबार काठमाडौंमा हुँदै छ । आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि काठमाडौं आउने प्रदेशसभा सदस्यहरूलाई खाने र बस्ने व्यवस्था गर्ने भएको छ ।
राष्ट्रपति निर्वाचनपछि अझ विस्तार हुन्छ : खड्का
राष्ट्रपति निर्वाचनपछि गठबन्धन थप विस्तार हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले भने गठबन्धनलाई थप विस्तार गर्ने सन्दर्भमा छलफल भएको बताउनुभयो । ‘गठबन्धनमा अन्य दलहरू पनि जोडिने भन्ने छ, सबै दलहरूलाई जोडेर बलियो गठबन्धन बनाएर अघि बढ्ने हो,’ उहाँले भन्नुभयो ।
त्यस्तै, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन अघि बढिसकेको बताउनुभयो । भागबण्डा लगायतका विषय राष्ट्रपति निर्वाचनपछि मात्रै छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रपति निर्वाचनपछि गठबन्धन अझै विस्तार हुने उहाँले बताउनुभयो । ‘गठबन्धन अघि बढिसक्यो । राष्ट्रपति निर्वाचनको जगमा यसलाई विस्तार गर्दै जान्छौँ,’ उहाँले भन्नुभयो, ‘शक्ति बाँडफाँटमा अहिलेसम्म प्रवेश गरिसकेका छैनौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच