सरकारद्वारा महिला पाइलटलाई स्वागत

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गर्नुभएको हाे ।

काठमाडौँ-दुबई-काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गर्नुभएको हो ।

महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताउनुभयो ।

महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । “पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल)लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो ।

यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो ।

निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौंदेखि दुबई भएर पुनः काठमाडौं) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को-पाइलट सृजना राउतको टोलीले काठमाडौ‌ं-दुबई-काठमाडाैं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौंको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’-३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौंबाट दुबईका लागि उडान भरेका थिए ।

निगमको आजको दुबई-काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले उडाउनुभएको थियो । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट हुनुहुन्छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?