ए डिभिजन लिग : जावलाखेल र एपीएफले अंक बाँडे

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो हार भोग्दा जावलाखेल युथ क्लव र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लवसँग ३–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेलले अर्को विभागीय टोली एपिएफ क्लवसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

संकटाले पुलिसमाथि सहज जित निकाल्ने क्रममा शुरुवातबाट नै दबाब दिएर खेलेको थियो । अघिल्ला दुई खेलमा पनि नतिजा सुम्पिएको पुलिसले अंक लिनका लागि खेल्ने रणनीति बनाए पनि असफल भएको हो । पुलिसबिरुद्ध जित निकाल्ने क्रममा संकटाका लागि १२ औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । काउन्टर गर्ने क्रममा दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले बक्स भित्रबाट चिप गोल गरेका हुन् । संकटाले पहिलो प्रयासमै गोल गर्न सफल भएको थियो । त्यसपछि खेल दोस्रो हाफतिर पुगेको थियो । खेलको ८० औं मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए । मनिष डांगीको प्रहार पुलिस रक्षक अञ्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट गोलमा परिणत गर्न सफल भएका थिए । त्यसको ६ मिनेट पछि संकटाले तेस्रो गोल थप्यो । सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए । मनिष डांगीले मिलाएको पासलाई सुरजले बक्सबाहिरबाट पहिलो प्रयासमा नै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय व्यहोरको पुलिस अंक बिहीन छ । यसअघि संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग गोलरहित बराबरी खेल्दा मनाङ मस्र्याङ्दी क्लवसँग १–० को पराजय व्यहोरेका थियो । उता पुलिस चर्च ब्वाइज युनाइटेसँग पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लवसँग १–० ले पराजित भएको थियो ।

लिग अन्तर्गत शनिवारै सम्पन्न अर्को खेलमा अर्को विभागीय टोली एपिएफ जावलाखेल युथ क्लवसँग गोल रहित बराबरीमा रोकियो । दुबै टोलीले खेल अवधि भर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपिएफबिरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जावलाखेल युथ क्लवले एक अंकमा चित्त बुझाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको ६९ औं मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान पठाएका थिए । तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाएका हुन् । यसअघि दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग चुेकेका थिए । २४ औं मिनेटमा जावलाखेलका फोडे फोफानाको प्रहार एपिएफका गोकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । त्यसको पाँच मिनेटपछि एन्जलले नै एनकोटो मेसोबीको प्रहार बचाउँदा जावलाखेलले अग्रता लिन असफल भएको थियो । ३२ औं मिनेटमा एपिएफका हरि कार्कीले गोलको सुनौलोको अवसर गुमाए । ३९ औं मिनेटमा प्रदीप लामाको प्रभावशाली प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाएका थिए । ४७ औं मिनेटमा एपिएफका सनिश श्रेष्ठको प्रहार अनिशले बँचाए । त्यस्तै ६८ औं मिनेटमा जावलाखेलका अब्दुलाजिज निशेनबेइभको प्रहार बाहिरिएको थियो ।
यस बराबरीपछि जावलाखेलको तीन खेलमा सात अंक भएको छ । एपिएफको समान खेलबाट चार अंक भएको छ । जावालखेलले यसअघि साविक विजेता मछिन्द्र फुटबल क्लवलाई ३–१ तथा न्युरोड टिम (एनआरटी) लाई २–१ पराजित गरेको थियो । यसैगरी थ्री स्टार क्लवलाई २–० ले पराजित गरेको एपिएफले सातदोबाटो युथ क्लवसँग १–० को हार व्यहोरेको थियो ।

लिगमा आईतवार दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङ्दी फुटबल क्लव र मच्छिन्द्र फुटबल क्लब तथा च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?