मासिँदै सिमल, लोप हुँदै गिद्ध

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । २०६४ सालमा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरू बताउँछन् ।

‘वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एक दशक बित्न नपाउँदै सिमल सखाप भए,’ डिभिजन वन कार्यालय म्याग्दीका नि. अधिकृत चन्द्रमणि सापकोटाले भन्नुभयो, ‘अहिले सिमल कमैमात्र देख्न पाइन्छ ।’ सिमल बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा पाइने सिमललाई अंग्रेजीमा सिल्क-कटन ट्री, रेड-कटन ट्री, कटन ट्री भनिन्छ ।

औषधीय गुण भएको यो वनस्पति मासिनेक्रम तीव्र छ । त्यसमाथि म्याग्दीमा सिमल लोपोन्मुख वनस्पतिका रूपमा रहेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । पछिल्लो समय देशभर नै सिमल मासिँदै छ । सिमल मासिएसँगै गिद्ध, अन्य ठूला चराहरू पनि विस्तारै लोपोन्मुख भएका छन् । सिमलको बोक्राले हात, खुट्टा मर्केको स्थानमा लगाए ठीक हुन्छ, चोट लागेर रगत बगेमा यसको रसले रोक्छ । यसको दानाबाट गम र साबुन बनाइन्छ भने यसको भुवा रगत सफा गर्न समेत प्रयोग गरिन्छ ।

२०४९ सालमा सिमल कटानमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको थियो । तर, सरकारले नै २०६४ मा सिमल कटानमा फुकुवा गरेपछि धमाधम सिमलका रुख काटिँदा सिमल मासिँदै गएको सापकोटाले बताउनुभयो । सिमल संरक्षण गर्नुपर्ने वनस्पति हो । वन तथा वातावरण क्षेत्रका अगुवा चन्द्रबहादुर कार्कीका अनुसार २०७१ को दफा ११ को उपदफा ७ मा ‘व्यावसायीकरण हुन सक्ने जडीबुटी एवं गैरकाष्ठ वन पैदावार खेतीको प्रविधि विकास गरी वन क्षेत्र र बाहिर विस्तार गरिने’ उल्लेख छ । त्यहीभित्र सिमल पनि पर्छ । तसर्थ सिमलको सरक्षण गर्न जरुरी छ ।

सिमललाई ‘बम्बाक्स सेइबा’ पनि भनिन्छ । यो वैज्ञानिक नाम हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तकका अनुसार स्विडेनका वनस्पतिविद् एवं जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराउनुभएको थियो । औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखहरूका अनुसार सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै, टाउको दुख्दा पातको रस एक/दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशित ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने लेख्नुभएको छ ।

सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेखअनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गरिएको छ । आयुर्वेदिक चिकित्सक डा. जीवन शर्मा आचार्यका अनुसार महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखहरूमा सिमललाई यौन सम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनिबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ ।

वन तथा वनस्पतिविज्ञ नरहरि आचार्य र राजेश तामाङ लिखित इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल (सन् २०१७) शीर्षकको पुस्तकका अनुसार चेपाङ समुदायले पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् । सिमलका विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ । उल्लेखित अध्ययन र उदाहरणहरूले सिमल औषधिजन्य जडीबुटी रहेको देखाउँछन् । तर, वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् । स्वदेशी तथा विदेशी व्यापारीले कम राजस्व तिरेर हाम्रा वनस्पति विदेश निर्यात गर्छन् र तिनै जडीबुटीबाट बनाइएका औषधि हामी महँगो दाममा खरिद गरिरहेका छौँ । कतिसम्म भने, निकासी हुने हाम्रा केही वनस्पति कुन प्रजातिका हुन् भन्ने राम्ररी यकिनसमेत नगरी व्यापारीलाई छोडपुर्जी दिने गरिएको छ ।

हाम्रा जडीबुटी आफैंले खपत गरी पर्याप्त औषधि उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । सिमल नासिएसँगै वातावरणमा समेत असर परेको बताइन्छ । वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रूपमा यसलाई लिने गरिन्छ । ‘डाइक्लोफेनिक’ औषधि खुवाइएका पशु मरेपछि गिद्धले खाँदा गिद्ध मर्ने भएकाले राज्यले गिद्धको संरक्षणका लागि उक्त औषधि बिक्रीवितरणमा २०६३ साल जेठबाट प्रतिबन्ध लगाएको थियो । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एसियामा नौ र नेपालमा मात्रै आठ प्रजातिका पाइन्छन् । पछिल्लो समय गिद्ध पनि लोपोन्मुख भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?